काठमाण्डौ । ब्रेक्जिट र अमेरिका चीनको व्यापार युद्धका कारण विश्वका धेरै देशको सेयरबजार हल्लियो, परिणामस्वरुप धेरै अर्बपति तथा लगानीकर्ताहरुको आर्थिक अवस्थामा सोच्दै नसोेचेको उतारचढावको अवस्था सिर्जना भयो । 

यस्तै, अनिश्चितताका बीच धेरै अर्बपतिहरुको सम्पत्तिमा संकुचन देखियो । सन् २०१८ मा धेरै सम्पत्ति गुमाउने अर्बपतिहरुको सूचिमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग पहिलो नम्बरमा देखिएका छन् । उनको सम्पत्तिमा क्षयीकरण हुनुको प्रमुख कारण आन्तरिक स्क्याण्डल र पब्लिसिटी ड्यामेज नै रहे । यो वर्ष धेरै सम्पत्ति गुमाउने लुजर्स अर्बपतिहरुको टप टेन सूचिमा अमेरिकाबाट जुकरबर्ग मात्र परेका छन् । धेरै सम्पत्ति गुमाउने विश्वका चिनिएका अर्बपतिहरुको टप टेन सूचिमा ६ जना त एशियाका छन् । 

तर, विश्व अर्थतन्त्रमा समस्या काला बादल मडारिँदा समेत कतिपय अर्बपतिहरुले भने सम्पत्ति अझै बढाएका छन्, झनै कमाएका छन् । यस्तो सूचिमा बिल गेट्स र स्टीभ बलमेर पनि परेका छन् । जेफ बेजोसले यो अवधिमा सबैभन्दा बढी कमाएका छन् । तेल र ग्यास फर्मका कारण केही रुसीहरु अर्बपतिहरु रातारात अझै धनी भएका छन् । 

सन् २०१८ मा देखिएको आर्थिक अनिश्चितताका बीच समेत सबैभन्दा बढी नाफा कमाउने र सम्पत्ति बढाउनेको सूचि यस्तो छः

१.जेफ बेजोस
अमेजनले २०१८ मा आफ्नो बजार टर्की र भारतमा आक्रामक ढंगले बिस्तार गर्यो । यति मात्र होइन, यो अवधिमा यो कम्पनीले नाफा आर्जनमा रेकर्ड नै बनायो । २७.९ अर्ब डलर सम्पत्ति थपिएर अमेजनका मालिक जेफ बेजोसको कुल सम्पत्ति अहिले १२६.२ बिलियन डलर पुगेको छ । यो कम्पनीले टर्की र भारतमा आफ्नो नेटवर्क बिस्तारमा सफलता पाएसँगै चमात्कारिक ढंगले नाफा बढाएको हो । कम्पनीको नाफामा उछाल आएकै कारण उसले आफ्नो दोश्रो हेडक्वार्टर अमेरिकाको न्यूयोर्क र  भर्जिनियामा समेत स्थापना गरेको छ । 

२.तदासी यनाई
बेजोसपछि सन् २०१८ मा आफ्नो सम्पत्ति बढाउने सूचिको दोश्रो नम्बरमा जापानका तदासी यनाई छन् । उनले यो अवधिमा ७ बिलियन डलरले सम्पत्ति बढाएका छन् । हाल उनको नेटवर्थ २७.१ बिलियन डलर रहेको छ । उनी फेसनचेक यूनिक्लोका मालिक हुन् । यूनिक्लोको अन्तराष्टिय बजारमा भएको आक्रामक बिस्तार तथा आन्तरिक बजारमा समेत बढेको व्यापारले यनाईको व्यापारमा उछाल आएको हो । 

३.भजित अलेकपेरभ
लुक आयलको सीइओ अलेकपेरभ धेरै सम्पत्ति बढाउने अर्बपतिको सूचिमा तेश्रो नम्बरमा छन् । तेल र ग्यासको मूल्यमा निकै राम्रो बढोत्तरी भएका कारण उनले सन् २०१८ मा  ४.६ बिलियन डलरले नाफा बढाए । हाल उनको नेटवर्थ  १९.५ बिलियन डलर रहेको छ । 

४.रुपर्ट मूर्डक
मूडर्कको न्यूजकर्प द वाल स्टीट जर्नल र द न्यूयोर्क पोस्टको सेयरमूल्यमा  २६ प्रतिशतले गिरावट आए पनि  उनको निकै ठूलो होल्डिंग रहेको ट्वान्टी फ्रस्ट सेञ्चुरी फक्सको सेयर मूल्यमा भने ४२ प्रतिशतको उछाल देखियो । डिज्नीसँगको मेगा मर्जरपछि मूर्डकको सम्पत्तिमा वृद्धि भएको फोब्र्सको रिपोर्टमा उल्लेख छ । डिज्नीसँगको उनको कम्पनीको मर्जर प्रक्रिया सन् २०१९ को पहिलो ६ महिनाभित्र सकिने बताइएको छ । 

५.लियोनिड मिखेल्सन
रसियाको सबैभन्दा ठूलो स्वतन्त्र प्राकृतिक ग्यास तथा कच्चा तेलको उत्पादक नोभाटेकको सेयर मूल्यमा चमात्कारिक ढंगको वृद्धि भयो । कम्पनीको सेयरमूल्य ६५ प्रतिशतसम्म बढ्दा मिखेल्सनको सम्पत्ति ४ बिलियन डलरले बढ्यो । हाल उनको कुल नेटवर्थ  २१.४ बिलियन डलर रहेको छ । मिखेल्सनको नोभोटकमा २५ प्रतिशत लगानी छ र उनी सो कम्पनीका अध्यक्ष पनि हुन् । 

६.जिनाडे टिमचेन्को
टिमचेन्को समेत रसियन कम्पनी नोभाटेककै लगानीकर्ता हुन् । कम्पनीको सेयर मूल्यमा उछाल आएका कारण उनको सम्पत्ति बढ्यो । उनको अन्य थुप्रै रसियन विजिनेशमा समेत लगानी रहेको छ । उनको नोभाटेकमा २३ प्रतिशत लगानी छ । उनी रसियन राष्टपति पुटिनसँग समेत निकट छन् । निजी पेटोकेमिकल्स कम्पनी सिवुरमा समेत उनको लगानी छ । उनले आफ्नो गुनभोर ट्रेडिङ कम्पनीमा रहेको शेयर हिस्सा अमेरिकाले सन् २०१४ मा लगाएको नाकाबन्दीको ठिक एक दिन अघि बेच्न सफल भएका थिए। उनको सम्पत्ति यो वर्ष ३.८ बिलियन डलरले बढेर १८.९ बिलियन डलरको उचाईमा पुग्यो । 

७.स्टीभ बलमेर
स्टीभ बलमेर माइक्रोसफ्ट कम्पनीमा सन् २००० देखि २०१४ सम्म सीइओ रहेका थिए । माइक्रोसफ्ट कम्पनीको सेयरमा २० प्रतिशतले वृद्धि भएपछि यसले उनलाई समेत फाइदामा राख्यो । यो वर्ष मात्रै उनको सम्पत्ति ३.४ बिलियन डलर बढ्यो । हाल उनको कुल सम्पत्ति ४०.७ बिलियन डलर रहेको छ । 

८.मूकेश अम्बानी
भारतकै धनी मूकेश अम्बानीका लागि समेत सन् २०१८ फलिफाप सिद्ध भयो । उनको रिलायन्स इन्डस्ट्रिजको ३३ अर्ब डलरको मेगा प्रोजेक्ट जियोले लञ्च भएदेखि नै २५ करोड ग्राहक बनाउने सफलता पायो ।सन् २०१८ मा रिलायन्सको शेयर २३ प्रतिशतले माथि उक्लियो, जसले मूकेश अम्बानी यो सूचिमा पर्न सफल भए । सन् २०१८ मा उनको सम्पत्ति ३ अर्ब डलरले बढेर ४४.४ अर्ब डलरको उचाईमा पुथ्यो । 

९.बिल गेट्स
विगत २४ वर्षदेखि अमेरिकाकै धनीको रुपमा चिनिए पनि पछिल्लो समय जेफ बेजोसले पछाडि पारेका बिल गेट्सको सम्पत्ति समेत यो वर्ष निकै बढ्यो । यो वर्ष उनको सम्पत्ति २.९ अर्ब डलरले बढ्यो । गेट्सले आफ्नो सेयरको ठूलो हिस्सा बेचे पनि माइक्रोसफ्टको सेयरमा आएको उछालबाट उनले फाइदा लिए । 

१०. इलोन मस्क
इलोन मस्क टेस्लाका मालिक हुन् । यो वर्ष आफ्नै ट्वीटहरुका कारण उनी समस्यामा परे पनि यस वर्ष उनको सम्पत्तिमा भने २.८ अर्ब डलरले बृद्धि भयो । टेस्लाको मोडल थ्रि बिद्युतीय कारको लोकप्रियताले उनको सम्पत्ति बढाउन सहयोग पुगेको हो । यस्तै उनको कुल सम्पत्तिको आधाभन्दा बढी बृद्धि प्राइभेट एरोस्पेस कम्पनी स्पेस एक्सबाट संभव भयो । यो कम्पनीका उनी मेजर शेयर होल्डर हुन्।

सन् २०१८ मा धेरै गुमाउनेहरु पनि कम छैनन् । फोब्र्सका अनुसार धेरै गुमाउने विश्वका १० अर्बपतिको सूचि यस्तो छ:

१. मार्क जुकरबर्ग
सन् २०१८ वर्ष फेसबुकका लागि दुर्भाग्य साबित भयो । यो वर्ष सबैभन्दा धेरै घाटा खाने डलर अर्बपति फेसबुकका संस्थापक मार्क जुकरबर्ग हुन् । यो वर्षको दोस्रो त्रैमासमा फेसबुकको शेयरमूल्य १९ प्रतिशतले ओरालो लगोपछि जुकरबर्गको १८.७ अर्ब डलर सम्पत्ति गुम्न पुग्यो । 

अमेरिकी कंग्रेसमा जुकरबर्गले फेसबुकले गरेको डाटा दुरुपयोगको बिषयमा स्पष्टीकरण दिनुपर्यो भने न्यूयोर्क टाइम्समा फेसबुकले गलत सूचना प्रवाहका लागि रकम दिएकोबारे लेख्यो, यसले समेत उसको पब्लिसिटी ड्यामेज भयो ।

२.अमान्सियो ओर्टेगा

इन्डिटेक्स क्लोथिङ रिटेलरका सहसंस्थापक अमान्सियो ओर्टेगाको सम्पत्तिमा यो वर्ष १६.२ अर्ब डलरको पहिरो गयो । फेसन चेन जाराको उत्पादक कम्पनीको मार्जिन प्रेसर तथा अन्य बिजनेस रिभ्यू रिपोर्टहरुका कारण शेयर मूल्यमा गिरावट आएपछि कम्पनीको नाफामा पहिरो गएको फोब्र्सले उल्लेख गरेको छ ।

३.जर्ज स्काफलर

जर्मनीको टायर तथा अटो पार्ट्स कम्पनी कन्टिनेन्टल ए जिको शेयरमा लगातार गिरावट आयो र यो वर्ष यसको यूरोप तथा चीनमा कम्पनीको कारहरुको बिक्रीमा आएको कमीले स्काफलरको सम्पत्तिमा १४ अर्ब डलरको गिरावट आयो । नोभेम्बरमा कन्टिनेन्टलले १ प्रतिशत शेयर बृद्धि भएको जानकरी दियो, जुन अघिल्लो वर्ष ८.५ प्रतिशतको बृद्धिको तुलनामा निकै कम हो। यो वर्ष यो कम्पनीको सेयरमा ४६ प्रतिशतको पहिरो गइसकेको छ । 

४.मा हुवाटेङ

इन्टरनेट जायन्ट टेन्सेन्टका मालिक माका लागि यो वर्ष राम्रो रहेन । चीनकै धनीको सूचीमा रहिसकेका माको कम्पनी टेन्सेन्टको शेयरमा २५ प्रतिशतले गिरावट आयो, फलस्वरुप यो वर्ष उनको सम्पत्ति १०.१ अर्बले संकुचनमा प्यो । 

५.कर्लोस स्लिम हेलु
ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो टेलिकम कम्पनी अमेरिका मोभिलको नाफामा आएको गिरावटले यसका मालिक कार्लोस स्लिम हेलुको सम्पत्ति घटाइदियो । कम्पनीको सेयर मूल्यमा १९ प्रतिशतले गिरावट आएपछि कार्लोसको कुल सम्पत्तिमा ९.३ अर्ब डलरले संकुचन देखियो ।

६.जर्ज पाउलो लेम्यान

मदिरा उत्पादक कम्पनी अनह्युसेर बुस्च इनबेभको प्रस्तावित लाभांशमा ५० प्रतिशतको कटौती भएपछि यसको मेजर शेयरहोल्डर लिम्यानलाई ९.२ अर्ब डलरको नोक्सानी भयो। बियरको बिक्रीमा गिरावट आएको भन्दै कम्पनीले सन् २०१८ को लागि प्रस्तावित लाभांश कटौती गर्नु परेको थियो । उनी क्राफ्ट हाइन्ज कम्पनीका पनि शेयर होल्डर हुन् । यो वर्षको तेश्रो त्रैमाससम्म हाइन्जको कुल आम्दानीमा पनि ३३ प्रतिशतको पहिरो गइसकेको छ ।

७.करोइन सिरिभदानाभक्दी

थाइ अल्कोहलिक ड्रिंक उत्पादक कम्पनी थाइ वेभरेजको शेयर मूल्यमा ३९ प्रतिशतले पहिरो गएपछि कम्पनीमा ठूलो मात्रामा शेयर रहेको करोइनको सम्पत्ति ७.२४ अर्ब डलरले घट्यो । आन्तरिक मदिरा बजारमा यसको बिक्री खुम्चियो। यसका मुख्य उपभोक्ता मानिएका निम्न आय बर्ग लक्षित पेयहरुप्रति ग्राहकहरु बढी सचेत हुन थालेसँगै यसको बिक्री घटेको रिपोर्टमा उल्लेख छ ।

८.पोलियाना सु

हङकङकी उद्यमी सुको सम्पत्ति यस वर्ष ७.२ अर्ब डलरले घट्यो । उनको किङ्सटन फाइनान्सियल ग्रुपको तीनवटा त्रैमासमा यसको शेयर मूल्यमा लगातार गिरावट आएको देखिएको छ । छमहिनामै यसको कुल नाफामा ३५ प्रतिशतले गिरावट आयो । फलस्वरुप उनको कुल सम्पत्ति २ अर्ब डलरमा सीमित भयो ।

९.वाङ वेइ

चीनको ‘फेडेक्स’ भनिने डेलिभरी सर्भिस फर्म एस एफ होल्डिङको शेयरमा एक वर्षमा ३० प्रतिशतले गिरावट आएपछि कम्पनीका अध्यक्ष वाङ वेइको सम्पत्ति ६.७ अर्ब डलरले घट्यो। चीनका सबैभन्दा ठूलो इकमर्स फर्महरुमा आएको गिरावटले यसलाई पनि छोएको हो । वेइसँग यो कम्पनीको ६० प्रतिशत बढी सेयर छ ।

१०.झोउ कुन्फेइ

विश्वकै सबैभन्दा धनी सेल्फ मेड उमन बनिसकेकी झोउले पनि सन् २०१८ मा राम्रै क्षति व्यहोर्नुपर्यो । चीनको अमेरिकासँगको व्यापार युद्धको असर उनको स्मार्टफोन स्क्रिन ग्लास उत्पादक लेन्स टेक्नोलोजी कम्पनी कोलोसालमा पर्नगयो । यसबाट उनको कम्पनीको सेयर मूल्यमा ६४ प्रतिशतको भीषण पहिरो गयो । रिपोर्ट अनुसार चीनको उच्च अदालतले यहि डिसेम्बरमा पुराना आइफोनहरुको मोडलमा बिक्रीमा लगाएको प्रतिबन्धले यस कम्पनीको समस्या अझै बढाइदिएको छ। कम्पनीको नाफा घटेपछि झोउको सम्पतिमा ६.३ अर्ब डलरको गिरावट आयो। यसबाट उनको कुल सम्पति ३.५ अर्ब डलरमा सीमित हुन पुगेको फोब्र्सले उल्लेख गरेको छ ।