काठमाण्डौ । दशैं विदामा गएका लगानीकर्ताहरुको सक्रियता बढेसँगै बजारमा खरीद चाप देखिएको छ । ब्रोकरहरुबाट मार्जिन कारोबार सुविधा सहजै उपलब्ध हुन थालेपछि र पूँजीगत लाभकरको विवाद हलसँगै सेयर बजारको ल्याप्चे युगको औपचारिक अन्त भएसँगै लगानीकर्तामा थोरै भए पनि मनोबल बढ्न थालेको मंगलबारको बजारले देखाएको छ । यो दिन नेप्से परिसूचक ५.०८ अंकले बढेर ११४२.०४ को विन्दूमा फर्किएको छ भने कारोबार रकम २२ माथि रहेको छ । 

यो दिन बजार हराभरा देखिएको छ । 

राम्रा र बलिया कम्पनीको सेयरमा खरीद चाप देखिँदा सेन्सेटिभ इण्डेक्स १.०५ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३८ अंकको बढोत्तरी भएको छ । 

यो दिन बैंकिङ समूह ४.५२ अंकले बढेको छ भने विकास बैंक समूह ८.२ अंक, होटल समूह १७.३३ अंक, जलविद्युत समूह २.५५ अंक, बित्त समूह १.२७ अंक, निर्जीवन बिमा समूह ३.४५ अंक, जीवन बिमा समूह ३१.१५ अंक, माइक्रोफाइनान्स समूह ५.३३ अंक र अन्य समूह ५.६४ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १५१ कम्पनीका ७ लाख ६५ हजार ८९७ कित्ता सेयर २२ करोड २४ लाख ५२ हजार ७८ रुपैयाँमा किनबेच भएको छ । 

सिद्धार्थ बैंकले सबैभन्दा बढी ४ करोड ७ लाख बढीको सेयर कारोबार गरेको छ । 

एशियन लाइफ इन्स्योरेन्सको ३ करोड ६९ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा प्रभू बैंकले १ करोड ६६ लाख, कृषि विकास बैंकले १ करोड ४० लाख, शिवम सिमेन्टले ७२ लाख, चिलिमे हाइड्रोले ६३ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ५५ लाख, एभरेष्ट बैंकले ४३ लाख, एनआइसी एशियाले ४२ लाख र हिमालयन बैंकले ४० लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा आरएमडिसी लघुवित्तका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो । ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ५ प्रतिशतको हाराहारीले बढोत्तरी भयो ।

सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५.८८ प्रतिशतले घटेर ११२ रुपैयाँ प्रतिकित्तामा सीमित हुन पुग्यो ।