काठमाण्डौ । आफ्नो केवाइसी अपडेट नगर्ने लगानीकर्ताले आजदेखि सेयर कारोबार गर्न पाउने छैनन् । धितोपत्र बोर्डले आफ्नो केवाइसी अपडेट नगर्ने लगानीकर्ताहरुलाई सेयर कारोबारमा प्रतिबन्ध लगाउन भन्दै धितोपत्रका दलाल व्यवसायीहरुलाई बैशाखमै कडा परिपत्र गरेको थियो ।

बोर्डले केवाइसी अपडेटका लागि बैशाख मसान्तसम्मको समय सीमा तोक्दै त्यसपछि भने सेयर कारोबार गर्न नपाउने कडा निर्देशन जारी गरेको थियो । 

बोर्डले सेयर कारोबारमा संलग्न सबै लगानीकर्तालाई बैशाख मसान्तभित्र आफ्ना सेयर ब्रोकरको अफिसमा गएर केवाइसी अपडेट गराउन समेत आग्रह गरेको थियो । 

बोर्डले केवाइसीको नयाँ मापदण्ड बनाएको थियो र सोहीअनुसार अपडेट गरेर मात्र कारोबार गराउन धितोपत्र दलाल व्यवसायीलाई निर्देशन दिएको थियो । 

धितोपत्र बोर्डले सेयर बजारमा कालोधन तथा अन्य गैरकानूनी सम्पत्ति नभित्रियोस् भन्ने उद्देश्यले केवाइसीमा कडाई गरिएको प्रष्ट्याएको छ । 

बोर्डका प्रवक्ता निरज गिरीले नयाँ मापदण्डअनुसारको केवाइसी अपडेटका लागि आफूहरुले २ महिनाको समय दिएको र आजदेखि केवाइसी अपडेट नगराउनेहरुले कारोबार गर्न नसक्ने प्रष्ट पारे । केवाइसी अपडेट नगर्ने लगानीकर्तालाई समेत कारोबारमा संलग्न गराएको पाइए त्यस्ता ब्रोकरहरुलाई कडा कारबाही हुने उनले प्रष्ट्याए। 

हालसम्म केवाइसी अपडेट नगराएका वा छुटेकाहरुको हकमा चाहि के हुन्छ त ? त्यस्ता लगानीकर्ताको हकमा ब्रोकरमा गएर पहिला आफ्नो केवाइसी अपडेट गराउनुपर्ने र त्यसपछि मात्र कारोबारमा सहभागी हुन सकिने गिरीले प्रष्ट पारे । नयाँ लगानीकर्ताले समेत अब नयाँ मापदण्डको अधिनमा रही केवाइसी अपडेट गराएपछि मात्र बजारमा कारोबार गर्न सक्नेछन् ।

बोर्डले सेयर कारोबारमा संलग्न सबै लगानीकर्तालाई आफ्ना सेयर ब्रोकरको अफिसमा गएर केवाइसी अपडेट गराउन समेत आग्रह गरेको छ । बोर्डले लगानीकर्ताहरुलाई नागरिकताको सक्कल, त्यसको फोटोकपी, एकप्रति फोटो, आफ्नो नाम, बैंकको अकाउण्ट नम्बर, पान कार्डको कपी, यदि कुनै कम्पनीमा कार्यरत भए कर्मचारी परिचयपत्रको फोटोकपी लगायतका कागजात लिएर ब्रोकर अफिस भई केवाइसी अपडेट गराउन आग्रह गरेको छ ।