काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) समक्ष कारोबारका लागि राखेको २५ प्रतिशत धरौटी (मार्जिन) रकममा प्रतिफल पाउने स्पष्ट पारेको छ।

धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीलाई बुझाउनुपर्ने २५ प्रतिशत धरौटी रकममा प्रनिफल नपाएको गुनासो आउन थालेपछि बोर्डले यस्तो स्पष्टोक्ति दिएको हो। बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को संशोधन गर्दै लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीलाई बुझाउने धरौटी रकममा सिर्जना हुने दायित्व तथा प्रतिफलका सम्बन्धमा लगानीकर्ता तथा धितोपत्र दलाल व्यवसायीबीच हुने सम्झौतामा उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ। 

बोर्डले यही व्यवस्थाका कारण धितोपत्र कारोबारका लागि लगानीकर्ताले राखेको धरौटी रकममा प्रतिफल प्राप्त हुने/नहुने सन्दर्भमा कायम रहेको अन्यौलता अन्त्य विश्वास लिइएको जनाएको छ।