काठमाण्डौ । बजारको आमूल परिवर्तन गर्ने उद्देश्यले क्रियाशील नियामक धितोपत्र बोर्डले धितोपत्र व्यवसायी(धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता)लाई समेत कसेको छ । 

धितोपत्र व्यवसायी नियमावली २०६४ संसोधन गर्दै बोर्डले चुक्तापूँजी लगायत पूर्वाधार समेत तोकेरै ती पूरा नभए व्यवसाय तथा शाखा संचालन गर्न नपाइने व्यवस्था गरेको हो । 

बोर्डले यसअघि नै धितोपत्र दलाल कम्पनीको चुक्तापूँजी २०७४ पुस मसान्तभित्र २ करोड हुनुपर्ने व्यवस्था गरिसकेको छ । त्यसबाहेक मुख्य तथा शाखा कार्यालयको क्षेत्रफलदेखि त्यहाँ हुनुपर्ने फर्निचरका सामान, दक्ष जनशक्तिको संख्या तथा उनीहरुको योग्यता लगायतको बिषय पनि बोर्डले तोकिदिएको हो । 

बोर्डले यस्ता कम्पनीको मुख्य वा शाखा कार्यालयको क्षेत्रफल कम्तीमा एकहजार वर्गफिटको हुनुपर्ने व्यवस्था गरेको छ । 

यस्तै, मुख्य कार्यालय तथा शाखा कार्यालयमा कम्तीमा बाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानून विषयमा स्नातक वा चार्र्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख र परिपालन (कम्प्लायन्स) अधिकृत तथा सूचना प्रविधि सहित कम्तीमा पाँच जना कर्मचारी हुनुपर्ने, शाखा कार्यालयबाट हुने कारोबार यथासम्भव चाँडो मुख्य कार्यालय मार्फत हुने व्यवस्था गर्नुपर्ने व्यवस्थामा समेत कडाई गरेको छ । 

खुलिसकेका ब्रोकरका मुख्य कार्यालय तथा शाखा कार्यालयहरुले नियमावलीले तोकेको व्यवस्थापन आगामी भदौ मसान्तसम्म गरिसक्नुुपर्ने म्याद समेत दिइएको छ । 

बोर्डले धितोपत्र दलाल कम्पनीको शाखा कार्यालयमा देहायको व्यवस्था हुनुपर्ने स्पष्ट तोकिदिएको छ :

  • कम्तीमा तीन थान कम्प्यूटर र त्यसका लागि पावर ब्याकअप भएको हुनुपर्ने, 
  • कारोबार कक्ष तथा डिस्प्ले कक्ष छुट्टाछुट्टै हुनुपर्ने,
  • टेलिफोन, फ्याक्स, इमेल, इन्टरनेट, इन्ट्र«ानेट तथा सिसीटिभि जस्ता पूर्वाधाहरुको व्यवस्था भएको हुनुपर्ने,
  • कार्यालयको लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा कार्यालय सामग्रीहरुको यथोचित व्यवस्था भएको हुनुपर्ने, 
  • कारोबार गर्ने कम्प्यूटरमा कम्तीमा पाँच मेगा बाइट्सको द्रूत गति इन्टरनेटको नेटवर्क प्रयोग भएको र अपरेटिंग सिस्टम विण्डोज सेभेन वा त्यसभन्दा आधुनिक हुनुपर्ने । नेटवर्कका लागि मेनेजिएबल नेटवर्क स्वीच प्रयोग गर्नुपर्ने र HUB प्रयोग गर्न नपाउने, 
  • प्रत्येक शाखा कार्यालयले काठमाडौंमा उपलब्ध मुख्य कार्यालयले व्यवस्था गरेको डिपोजिटका आधारमा कारोबारको लिमिट प्राप्त गर्नुपर्ने, 
  • धितोपत्र दलाल व्यवसायीको कारोबारका लागि व्यवस्था भएका सबै नीति नियम शाखा कार्यालयमा समेत लागू हुने,
  • मुख्य कार्यालयले शाखा कार्यालय संचालन र व्यवस्थापन सम्बन्धमा एक कार्यविधि बनाई लागू गर्नुपर्ने र सो कार्यविधि अनिवार्य रुपमा बोर्ड र नेप्सेलाई उपलब्ध गराउनुपर्ने, ।
  • आफ्नो वेभसाइट मार्फत संस्थाको जानकारी गराउने व्यवस्था गर्नुपर्ने।