काठमाण्डौ । धितोपत्र बोर्डले आफ्ना अध्यक्षले बोलेको विषयलाई तोडमोड गरिएको भन्दै ब्रोकरहरुलाई संयमित भएर अगाडि बढ्न निर्देशन दिएको छ । 

पूँजीबजारको नियामक बोर्डले बजारका सरोकारवाला निकायबीच भ्रम सिर्जना गर्न खोजिएको भन्दै आगामी दिनमा समन्वय गरी अगाडि बढ्दै जानुपर्नेमा जोड दिंदै ब्रोकरहरुलाई संयमित भई बजार विकासमा अगाडि बढ्न निर्देशन दिएको हो । 

बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले सबै धितोपत्र दलाल व्यवसायीहरुलाई सम्बोधन गर्दै लेखेको पत्रमा फागुन ७ गते अर्थसमितिले आयोजना गरेको छलफल कार्यक्रममा बोर्डका अध्यक्षले धितोपत्र दलाल प्रतिस्पर्धी हुनुपर्ने, व्यवसायको पहुँच बिस्तार गर्नुपर्ने भनी दिएको अभिव्यक्तिलाई अन्यथा रुपमा बुझी ज्ञापनपत्र बुझाउने काम भएको समेत दाबी गरिएको छ । 

नेपाल सरकारबाट गठित मुद्रा तथा पूँजीबजार सम्बन्धी सुझाव समितिको प्रतिवेदनअनुसार पूँजीबजार सम्बन्धी सुझावहरु कार्यान्वयन गरी पूँजीबजारको विकासमा बोर्ड अगाडि बढिरहेको जिकिर समेत पत्रमा गरिएको छ ।

धितोपत्र दलाल व्यवसायीलाई गुणात्मक र प्रतिस्पर्धी बनाई बजार बिस्तार गर्ने सन्दर्भमा विद्यमान कानूनी व्यवस्था तथा नेपाल सरकारको निर्देशन बमोजिम धितोपत्र व्यवसायीको कार्यक्षेत्र बिस्तार गर्ने र बैंकको सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायको लाइसेन्स दिने सहितका सुधारका कार्यहरु सम्बन्धित निकायहरुबाट अगाडि बढिरहेको समेत उल्लेख गरिएको छ । 

ज्ञापनपत्रको बिषयलाई लिखित रुपमा रेसपोन्स गर्नुअघि बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीले ब्रोकरहरुलाई बोलाएर छलफल गरेका थिए । सो क्रममा उनले आफूले भनेको राम्रो कुरालाई तोडमोड गरिएको र ब्रोकरहरुले भनेजस्तो आरोप आफूले नलगाएको प्रष्ट पारेका थिए । ‘देशव्यापी सेवा प्रवाहका लागि ब्रोकरहरुको क्षमता वृद्धि हुनुपर्छ भन्ने मेरो कुरालाई तोडमोड गरिएको हो ।’ ब्रोकरसँगको छलफलमा डा. कार्कीले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो–‘ यसलाई तपाईहरुले अन्यथा ढंगले बुझिदिनुभयो ।’