-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले ब्रोकरलाई आइटी रिसोर्स बढाउन एक हप्ताको अल्टिमेटम दिएको छ ।

अब ब्रोकरहरुले एकहप्ताभित्रै आफ्नै डेटा सेन्टर राख्नुपर्नेछ । यस्तै, टीएमएस बनाउन  ब्रोकरहरुलाई निर्देशन दिइएको नेप्सेका एक अधिकारीले जानकारी दिएका हुन् ।

गत शुक्रबार नेप्सेस्थित कार्यालयमा नेप्सेका पदाधिकारी र ब्रोकर एसोसिएसनको टिमबीच करिब २ घण्टा लामो छलफलमा ब्रोकरहरुले यही साताभित्र आफ्नै डेटा सेन्टर बनाउनुपर्ने र ब्रोकरको आफ्नै टीएमएस बनाउनुपर्ने सहमति भएको ती अधिकारीको दाबी छ ।

हाल ब्रोकरहरुले भाडामा चलाउँदै आइरहेको डेटा हबको अर्को विकल्प पनि तयार गर्नुपर्ने र आफ्नै टीएमएस बनाउनुपर्ने नेप्सेले जनाएको छ । 

स्रोतकाअनुसार अब सबै ब्रोकरको रिसोर्स स्थलगत परीक्षण हुने र रिसोर्स थप्न इन्कार गरे ब्रोकर निलम्बन गरी नेप्से कडा रुपमा प्रस्तुत हुन लागेको छ ।

नेप्सेले प्रत्येक ब्रोकर कम्पनीमा अनिवार्य एक आइटी अफिसर राख्नैपर्ने निर्देशनलाई समेत नजरअन्दाज गरिरहेका ब्रोकरहरु आइटीमा लगानी गर्न कन्जुस्याईँ गर्दा ब्रोकरको टीएमएस नचल्ने र सेयर कारोबार नै प्रभावित भएपछि सामाजिक सञ्जालहरुमा लगानीकर्ताहरुले समेत तीव्र असन्तुष्टि जनाइरहेका छन् ।

आइटीको रिसोर्स बढाउन नेप्सेले ब्रोकर एसोसिएसनमार्फत् पुनः निर्देशन दिए पनि अनामनगरस्थित एक ब्रोकरले भने यस विषयमा जानकारी नभएको दाबी गरे ।

ब्रोकरहरुले करोडौं कमिसन असूल गरे पनि एकाध ब्रोकर बाहेक अरु ब्रोकरले आफ्नै डेटा सेन्टर टीएमएस बनाउन अटेर गरिरहेको स्रोतको भनाइ छ । 

न्यूनतम २५ लाख रुपैयाँ टीएमएसमा लगानी गर्नुपर्ने र वार्षिक मर्मतसम्भार शुल्क (एएमसी) २०० देखि ३०० अमेरिकी डलर टीएमएसमा मात्रै खर्चिनु परेपछि ब्रोकरहरु आइटीको रिसोर्समा लगानी बढाउन अहिले पनि आनाकानी गरिरहेका छन् । नेप्सेले बनाइदिएको टीएमएस नै चलाउने र केही दोष आए नेप्सेकै टाउकोमा थोपर्ने उनीहरुको प्रवृति देखिन्छ ।

कोभिड–१९ को प्रभावले अन्य सेक्टर सुषुप्त हुँदा पछिल्लो समय दोस्रो बजारमा लगानीकर्ताको बढ्दो उपस्थिति र अनलाइन कारोबार प्रणालीको क्रेजका कारण बजारमा सहभागिता बढे पनि ब्रोकरको टीएमएसमा समस्या आउन थालेपछि लगानीकर्ताहरुले सहजरुपमा सेयर किनबेच पाइरहेका छैनन् । तत्पश्चात् नेप्सेले स्थलगत निरीक्षण र अनुगमन गर्दा ब्रोकर कम्पनीहरुले आइटीमा लगानी नै नगरेका पाइएको थियो । त्यसपछि नेप्सेले रिसोर्स बढाउन निर्देशन दिएको थियो । त्यसमा समेत अटेर गरेपछि नेप्से कडा रुपमा प्रस्तुत भएको हो। 

हाल वाइको प्रालिले नै अस्थायी रुपमा टीएमएसको भार क्षमता बढाइरहेको छ भने सबै ब्रोकरहरुको एउटै डेटासेन्टर डेटाहब मात्र रहेकाले निकट समयमा दुर्घटना सामना गर्नुपर्ने जोखिम रहेको जानकारहरु बताउँछन् ।