काठमाण्डौ । नियमन शुल्क बुुझाएसँगै धितोपत्र बोर्डको निर्देशनमा ब्रोकर कम्पनीको कारोबार खुलेसँगै मंगलबार बजार पुरानै लयमा फर्किएको छ । 

सोमबार धितोपत्र बोर्डको निर्देशनमा समयमै नियमन शुल्क नबुुझाउने ब्रोकर नं ६ अग्रवाल सेक्युरिटिज, ब्रोकर नं ८ आशुतोष ब्रोकेज्र एण्ड सेक्युरिटिज, बोक्र नं ५५ भृकुटि स्टक ब्रोकिगं , ब्रोकर नं ४० क्रेटिभ सेक्युरिटिज, ब्रोकर नं ४४ डायनामिक मनि म्यानेजर्ज सेक्युरिटिज, ब्रोकर नं २८  श्री कृष्ण सेक्युरिटिज र ब्रोकर नं ४३ साउथ एशियन बुल्सको कारोबार निलम्बन हुँदा बजारमा त्यसको प्रभाव देखिएको थियो । तर, मंगलबार भने बोर्डले ती ब्रोकर कम्पनीहरुले शुल्क बुुझाएको उल्लेख गर्दै कारोबारमा भएको निलम्बन फुुकुुवाका लागि नेप्सेलाई निर्देशन दिएलगत्तै ती सबैको कारोबार खुलेको थियो । ७ ब्रोकर कम्पनीको कारोबार खुलेसँगै बजार फेरि पुरानै लयमा फर्किएको छ । 

यो दिन नेप्से परिसूचक २.४८ अंकले बढेको छ भने कारोबार रकममा पनि मंगलबारको तुलनामा व्यापक सुधार भई ७२ करोड ३१ लाखको उचाईमा पुुगेको छ । 

सामान्य बढोत्तरीसँगै १६१४.०५ विन्दूमा नेप्से पुुगेको छ भने अधिकांश समूहको सूचक हराभरा भएका छन् । बित्त कम्पनी ०.९६ र उत्पादनमूलक ११.६४ अंकले घटे पनि बाँकी सबै समूह बढे । बैकिंग समूह १.०२, बिमा समूह ८.१५, विकास बैंक, जलविद्युत, होटल र अन्य समूह क्रमशः २.८, ११.३६, २.८२ र ७.५२ अंकले बढे । 

'क' वर्गका कम्पनीको कारोबारमा सुधार आउँदा सेन्सेटिभ इण्डेक्स ०.५२ अंक तथा समग्र कारोबारमा समेत सुधार आउँदा फ्लोट इण्डेक्समा ०.१८ अंकको बढोत्तरी देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन १ सय ६१ कम्पनीका १७ लाख ८९ हजार १ सय ४ कित्ता सेयर ७२ करोड ३१ लख ६६ हजार ६ सय ५१ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी हिमालयन पावर पार्टनर लिमीटेडले ४ करोड ७९ लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल बैंकले ४ करोड ३५ लाख, प्राइम लाइफ इन्स्योरेन्सले ३ करोड ९१ लाख, नेपाल लाइफले ३ करोड ८१ लाख, स्ट्याण्डर्ड चार्टर्डले २ करोड १६ लाख बढीको कारोबार गरे । गुराँस लाइफ इन्स्योरेन्सको १ करोड ९९ लाख बढीको संस्थापक सेयर कारोबार भएको बजारमा एभरेष्ट बैंकले १ करोड ५८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ५७ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंक, ४ स्थान बिमा कम्पनी र एक स्थान जलविद्युत कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुुमाउने कम्पनी
मंगलबार अधिक कारोबारसँगै हिमालयन पावर पार्टनर लिमीटेडले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ७.४४ प्रतिशतले वृद्धि भयो । यस्तै, मिसन डेभलपमेन्ट बैंकको मूल्यमा समेत ७.२२ अंकको बढोत्तरी भयो । 

हिमालयन डिस्टीलरी लिमीटेड र सांग्रिला डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै गुमाए । यी दुवै कम्पनीको मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।