काठमाण्डौ । आन्दोलनमा रहेको सेयर लगानीकर्ताहरुको दवाब समूहका सदस्यहरुले आफ्ना सदस्यहरुको कार्यालयमा आएर हुलहुज्जत गर्दै कर्मचारीमाथि हातपात गरेका र तोडफोड समेत भएको भन्दै स्टक ब्रोकर एशोसिएसनले सरकारसँग सुरक्षा मागेको छ । 

एशोसिएसनका अध्यक्ष भरत रानाभाटले सोमबार राति एक विज्ञप्ति प्रकाशित गर्दै लगानीकर्ताहरुले कारोबार गरिरहेको अवस्थामा केही व्यक्तिको समूहले धितोपत्र व्यवसायीको कार्यालयमा आएर हुलहुज्जत गरेको, भोलिदेखि कारोबार नगर्न र गरेमा भौतिक कारबाही हुने भन्दै धम्क्याएको, आफ्ना कर्मचारी र कार्यालयको भौतिक सम्पत्तिमाथि क्षति गरिएको र हातपात समेत गरिएको भन्दै सरकारसँग सुरक्षा मागेका हुन् । 

लगानीकर्ताको यस्तो कार्यलाई निन्दनीय भन्दै एशोसिएसनले सेयर कारोबार नरोक्ने समेत प्रष्ट अडान लिएको छ । नियमानुसार सेयरको कारोबार भइरहेको र आगामी दिनमा समेत कारोबार गराउन आफूहरु तयार रहेको भन्दै तर, त्यसका लागि ब्रोकर अफिसमा सरकारले सुरक्षाको प्रबन्ध गरिदिनुपर्ने माग गरिएको छ । 

स्टक ब्रोकर एशोसिएसनले लगानीकर्ताको नामबाट परिचालित समूहबाट भौतिक र मानवीय क्षति हुनसक्ने भन्दै ब्रोकरका मुख्य र शाखा कार्यालयमा सुरक्षा प्रबन्ध मिलाउनुपर्ने माग गरेको हो । 

एशोसिएसनले नियमनकारी निकायले तोकेको विद्यमान पूर्वाधारको सीमा अत्यन्त अव्यवहारिक भई शाखा संचालनमा ल्याइराख्दा व्यवसायीहरुलाई आर्थिक रुपमा नोक्सानी भएता पनि देशका विभिन्न १७ शहरमा ४१ स्थानबाट दोश्रो बजारको सेवा प्रवाह गरिरहेको उल्लेख छ । अनलाइन प्रणालीमार्फत अन्य शहरमा समेत शाखा बिस्तार गरी ब्रोकरेज सेवा दिन तयार रहेको उल्लेख गर्दै विज्ञप्तिमा शाखाका लागि तोकिएको भौतिक पूर्वाधार र जनशक्तिको व्यवहारिक परिमार्जनको माग समेत गरेको छ । 

ब्रोकरहरुले अन्तराष्ट्रिय प्रचलनअनुसार आवश्यक मापदण्ड तोकी नियमनकारी निकायहरुबाट ब्रोकरमार्फत मार्जिन ट्रेडिङ, ब्रोकर डिलर र लगानी व्यवस्थापन जस्ता कार्य खुल्ला गरिएमा धितोपत्र दलाल व्यवसायीले त्यसको कुशल कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।