-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट ब्रोकर नम्बर १६ को अनुमति पाएको प्राइमो सेक्युरिटीज प्रा.लि.मा सीइओको रुपमा मेघनाथ उपाध्यायले कमान सम्हालिरहेका छन् । 

बाग्लुङ पुख्र्यौली घर भएका उनी हाल लाजिम्पाटमा बसोबास गर्छन् । २ वर्षकै उमेरमा भारतमा बुवाको जागिर भएकाले भारतमै स्नातक(वित्तशास्त्र) सकेर नेपालमै जागिर खाने सिलसिलामा ब्रोकर नम्बर ७ मा मासिक १५ सय जागिरबाट सुरु गरेका उपाध्यायका दाजु देवीदत्त उपाध्यायकै साथीको ब्रोकरेज हाउस भएकाले समेत फ्लोर प्रतिनिधिका रुपमा उनको सेयर बजार प्रवेश भयो । भारतमै जन्मेहुर्के पनि वर्षेनि नेपाल आउँदा र पहाडघर जाँदा १५ घण्टासम्मको पैदल हिँड्नुपर्ने बाध्यता थियो । उपाध्याय परिवारले २०५० सालमा राजधानी काठमाण्डौ बस्ने निर्णय गरेको थियो ।

वि.सं.२०५० सालमा व्यक्तिगत लाइसेन्सका रुपमा रहेको कम्पनी २०५३ साल जेठ २२ गते कम्पनी ऐन अन्तर्गत दर्ता भएको हो । 

२०६० सालदेखि ब्रोकर नम्बर १६ को कमान सम्हालेका उपाध्याय प्रबन्ध निर्देशक र सीइओसमेत हुन् । 

कम्पनीका अध्यक्षमा सहयोगमान रञ्जित रहेका छन । २ जना प्रमोटर रहेको कम्पनीको २ करोड चुक्तापुँजी रहेकोमा नेटवर्थ ३ करोड ४५ लाख छ । कम्पनीमा १५ जना कर्मचारीहरु कार्यरत छन् । 

कम्पनीले उपत्यका बाहिर वीरगञ्ज आदर्शनगरमा शाखा सञ्चालन गर्दै आएकामा चितवनमा थप शाखा विस्तारका लागि आवेदन दिएको जनाएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १सय ७६ कम्पनीका कुल ८९ करोड २० लाख कारोबार गरेको जानकारी दिएको छ ।

विगत ३ वर्षदेखि प्राइमोले डीपी सेवा समेत ग्राहकहरुलाई दिइरहेको छ । डीपीसेवा अन्तर्गत १३ हजार जना व्यक्तिगततर्फ र संस्थागततर्फ २ सय ५ डिम्याट सेवा लिइरहेका छन् । कम्पनीमा ४ हजार केवाइसी अपडेट रहेकोमा ब्रोकरेज हाउसमा दैनिक कारोबारी औसतमा १ सय २५ छन् । 

सर्वोत्कृष्ट दशभित्र पर्ने दाबी गरेका सीइओ उपाध्यायले मध्यम खालको ब्रोकर भएको भन्न रुचाए ।

विगत २५ वर्षदेखि ग्राहकहरुकै विश्वासका कारण प्राइमोलाई यो स्थानमा ल्याउन सहयोग भएको उल्लेख गर्दै राम्रो सेवा र वातावरण भएको तर्क अघि सारे ।

पिता काशीराम उपाध्यायकै प्रेरणाले नेपालमा नै बसेर केही गर्नुपर्छ भन्ने हौसलाले नेपालमा जागिर खाँदै ब्रोकरेज पेशा अपनाएको उनले बताए ।

‘सपना हैसियतले देखिने रहेछ।’उनले भने–‘जागिर गरौंला बाँचौला तर मेरै लागि प्रोफेसन बनेको रहेछ र जागिर पनि ब्रोकर हाउसमै भयो । गरीब र धनीले देख्ने सपना फरक हुने रहेछ।’। 

सानो कामबाट प्रवेश भई क्रमशः माथि उक्लनुपर्ने उनको धारणा छ ।

राजधानी आएपछि पहिलो जागिर नै अन्तिम प्रोफेसन नबन्ने तर्क राख्दै कतिपय बैंकहरुमा आवेदन दिँदा समेत कहिल्यै नबोलाएको दुखेसो पोख्दै उनले भने–‘मैले ब्रोकर हाउसमै जागिर गरेर बलियोसँग हलचल नहुने गरी टेकेका कारणले आज यो स्थानमा आइपुगेँ । समयले नै मलाई बलवान बनायो।’ उनी भन्छन् ।

सबै ब्रोकर हाउसमा समान सेवा भएको बताउँदै उनले ग्राहककै कारण टप टेनभित्र परेकाले ग्राहकहरु नै निर्णायक भएको सुनाए ।

ब्रोकर पेशामा परामर्शदाता, डिलरसीप लगायतका थप कार्यक्षेत्र तोकिनुपर्ने उनको माग छ ।

उनको कम्पनीले हाल डीपी र धितोपत्र कारोबारको सेवा दिदै आएकोमा मुस्कानसहितको सेवा दिइरहेको दाबी छ । कार्यालय समय भने बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म रहेको छ ।

सेवाग्राहीहरु किन ब्रोकर नम्बर १६ नै आउनुपर्ने भन्ने जिज्ञासामा उनले मुस्कुराउँदै भने–‘मुस्कानसहितको सेवामा पर्याप्त परिवेश र माहौल भएकाले एकपटक सेवा लिएर हेर्नुहोस् ।’

आवश्यक सेवासुविधाका लागि भने ग्राहकस्वयम्ले समेत तदारुकता देखाउनुपर्ने उनको भनाइ छ ।

नेपालको पूँजीबजार समयक्रमसँगै परिवर्तन भइरहेको बताउँदै उनले दोस्रो बजारमा सेयर पर्ने लगभग सुनिश्चित हँुदाहुँदै पनि उधारो (पोष्टपेड)लाई प्रिपेड बनाइनुपर्ने उनले विचार व्यक्त गरे । आइपीओ, एफपीओ, अक्सनमा सेयर पर्ने सम्भावना अति न्यून भएता पनि प्रिपेड भुक्तानी व्यवस्था रहेको र त्यसैले दोस्रो बजारमा पनि प्रिपेड व्यवस्था हुनुपर्ने उनको तर्क छ ।

अहिलेसम्म नियामक सेबोन र नेप्सेको कुनै पनि कारबाहीमा नपरेको उनले दाबी गरे । 

राजनीतिक नेतृत्वको समेत कम आँखा परेको क्षेत्र भएकाले पूँजीबजार विकास र विस्तारमा सबैको हातेमालो र जागरुकता आवश्यक रहेको उनको भनाई छ । तत्कालका लागि एनआरएनलाई सेयर बजारमा लगानीका लागि भित्र्याउन सकेको खण्डमा बजारले फड्को मार्ने उनको ठम्याइ छ ।

नियामकहरुले मेन स्ट्रीममा रहेका मिडियाहरुमा उत्प्र्रेरणात्मक र सन्देशमुलक विज्ञापन प्रसारण गर्नुपर्ने उनको सुझाव छ । 

नेप्सेमा सूचिकृत कम्पनीहरुमध्ये तत्काललाई हाइड्रो र रियल सेक्टरमा नियामकीय व्यवस्था  भए पैसाको सुरक्षित हुने वातावरण सिर्जना हुने उनको धारणा छ ।

पहिले र अहिलेमा प्रविधिकै कारणले सहज भइरहेको उल्लेख गर्र्दै २५वर्षे सेयर बजारको अनुभवमा २ वा ३ जनाले ब्रोकर अफिस सञ्चालन गरेको उनले सम्झे । उहिले नेप्सेमा वार्षिक ७५ लाख कारोबार हुने विगत सुनाउँदै उनले अहिले दैनिक १ अर्बको कारोबार भइरहेको र अझै केही अधुरा पाटाहरुलाई चिर्दै रफ्तार अगाडि बढाउनुपर्ने उनको धारणा छ । 

पुराना ब्रोकरहरुको आवाज चर्को हुनमा ओपन क्राइ सिस्टमकै योगदान भएको  र नेप्सेका कर्मचारीहरुले स्वरले नै ब्रोकरहरु चिन्ने गरेका रमाइलो प्रसंग पनि उनले सुनाए ।

लगानीकर्ताका आँखामा ब्रोकर नम्बर १६ 
साधुराम गौतम(सेयर लगानीकर्ता)-स्यूचाटार,४८ वर्ष
विगत ११ वर्षदेखि म सेयर बजार प्रवेश गरेकोमा यहीँबाट सेवा लिइरहेको ११ वर्ष नै भयो । समग्रमा सेवाहरु राम्रा छन् । मार्जिन कारोबारको सुविधा यहीँबाट पाउन पाए हुन्थ्यो । म १० नम्बरमा ९ नम्बर दिन्छु ।

बैकुण्ठ पौडेल(व्यवसायी)-गोठाटार,३४ वर्ष
सेयर बजार प्रवेश र प्राइमोमा प्रवेश भएको ४ वर्ष भयो । समग्रमा सबै  सेवासुविधाबाट सन्तुष्ट छु । मार्जिन कारोबार सुविधाको माग छ । मैले १० नम्बरमा ८ नम्बर दिन चाहेँ ।

डोलनाथ आचार्य(व्यवसायी)-नेपालटार,३५ वर्ष
३ वर्षदेखि सेयरबजार र १६ नम्बरमा जोडिन पुगेको मलाई सबै ठीक लाग्छ । सेवासुविधा राम्रो छ । म १० नम्बरमध्ये ८ नम्बर दिन्छु ।