भक्तराज रसाइली
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज १० वाणिज्य बैंकहरुलाई  ब्रोकर लाइसेन्स लिनका लागि अगाडि बढ्ने स्वीकृति प्रदान गरेको छ । यस्तै, अझै ९ वटा वाणिज्य बैंकहरु ब्रोकरेज सेवा संचालनको स्वीकृतिको प्रतिक्षा सूचिमा छन् ।

यो खबर बाहिरिएसँगै अब के तत्कालै बैंकहरुका सहायक कम्पनीहरुमार्फत् ब्रोकरेज सेवा प्रारम्भ हुन्छ त ? भन्ने जिज्ञासा देखिएको छ । केन्द्रीय बैंकले सेयर ब्रोकरेज सेवा संचालन गर्न चाहने बैंकहरुलाई लाइसेन्स लिन आवश्यक प्रक्रिया सुरु गर्नका लागि स्वीकृति दिएको हो । यो स्वीकृतिपछि नै उनीहरुले ब्रोकरेज सेवा सुरु गर्ने भने होइन । यसका लागि अझै केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । 

ब्रोकरेज सेवा लिन चाहने वाणिज्य बैंकहरुलाई अगाडि बढ्न स्वीकृति दिने पहिलो जिम्मेवारी नियामक भएको नाताले नेपाल राष्ट्रबैंकको हो । उसले आफ्नो जिम्मेवारीलाई पूरा गर्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याउने स्पष्ट बाटो खोली अन्य नियामकलाई समेत यो प्रक्रियालाई अगाडि बढाउन बाध्य बनाउने कदम चालेको छ । यो कदमले बैंकहरुले समेत ब्रोकर लाइसेन्स पाउने विषयमा लामो समयदेखि परेको गाँठो फुकेको छ । 

राष्ट्रबैंकको स्वीकृतिसँगै अब सम्बद्ध बैंकहरुले सहायक कम्पनी स्थापना गरी यो सेवा संचालनका लागि नेप्सेसँग माग गर्नुपर्नेछ । नेप्सेले आवश्यक प्रक्रिया पूरा गरी धितोपत्र बोर्डमा सिफारिस गर्नेछ । नेप्सेको सिफारिसमा धितोपत्र बोर्डले तत्कालै इच्छा व्यक्त गर्ने वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्नेछ । 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बैंकहरुलाई ब्रोकरेज सेवा संचालनको अनुमति दिने विषयमा कार्यविधि बनाए पनि त्यो अझै छलफलकै क्रममा रहेको जानकारी दिए । धितोपत्र बोर्डसँग क्षेत्रीय ब्रोकर लाइसेन्स थप्ने र बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिने विषयमा  छलफल भइरहेको  र अन्य सबै सरोकारवालासँग समन्वय गरिने उल्लेख गर्दै उनले भने–‘मार्जिन कारोबार सुरु गर्न त देखिहाल्नु भयो कति हम्मेहम्मे भइरहेको छ, अझ ब्रोकर लाइसेन्स भन्ने चीज अझै जटिल विषय हो । बैंकलाई लाइसेन्स वितरण गर्दा सबै ठाउँमा सबैको सहज पहुँच होस् भन्ने हाम्रो उद्देश्य हो, यही उद्देश्य अनुरुप नै मोडालिटी तयार गर्छौं र बैंकहरुले सकेसम्म चाँडै ब्रोकरेज सेवा सुरुवातको अनुमति पाउनेछन् ।’

बिजशालाले यसअघि पनि थप लाइसेन्सको विषयमा धेरै महिनाअघिदेखि साउदसँग जिज्ञासा राख्दा छलफलकै क्रममा रहेको बताउने गरेका थिए । तर स्रोतका अनुसार कार्यविधिको प्रतिवेदन तयार भइसके पछि पनि त्यो फाइल नेप्सेको दराजमा नै थन्किएर बसिरहेको छ । यो विषय उजागर भएसँगै बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने विषयमा चलखेल भइरहेको कुरा बाहिरिएको थियो । यही विषयमा टेक्दै राष्ट्रबैंकले नेप्से र सेबोनलाई समेत अगाडि बढ्न बाध्य पार्ने गरी ब्रोकर सेवा संचालनको स्वीकृति दिएको हो । 

पूँजीबजारको विकास र विस्तारका लागि बैंकहरुका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स वितरणमा साउदले फाइल अड्काइरहेको आरोप लागिरहेको छ । यो विषयमा उनको गोलमटोल अभिव्यक्तिले समेत यही कुरा प्रष्ट पार्छ ।

उता, नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले नेप्सेले सिफारिस गरिसकेपछि कुनै समय नै नलिई तत्कालै बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स अनुमति दिइने प्रष्ट पारेका छन् ।

धितोपत्र व्यवसायी(धितोपत्र दलाल,धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली,२०६४को परिच्छेद २ दफा ७ (१)मा प्रचलित कानून बमोजिम स्थापना भएको बैंक तथा वित्तीय संस्थाले आफ्नो शतप्रतिशत स्वामित्व भएको सहायक कम्पनीमार्फत धितोपत्र दलाल ,धितोपत्र व्यापारी तथा बजार निर्माताको रुपमा कार्य गर्न सक्ने व्यवस्था रहेको छ ।

केही बैंकहरुले कम्पनी रजिष्टारको कार्यालयबाट सहायक कम्पनी खोलिसकेका छन् भने केही बैंकहरुले खोल्ने क्रममा रहेका छन् । सहायक कम्पनी नखोलेका वाणिज्य बैंकहरुलाई बुझ्दा उनीहरुले राष्ट्रबैंकको स्वीकृति पर्खिरहेका, अब पाएपछि तत्कालै कम्पनी रजिष्ट्ररको कार्यालयमा सहायक कम्पनी दर्ता गरिने बताए ।

पूँजी बजारको विकास तथा विस्तारमा बैंकहरुका सहायक कम्पनीहरुलाई ब्रोकरेज लाइसेन्स तत्कालै वितरण गरिएका खण्डमा स्थानीय तहका सबै ठाउँहरुमा सबै नेपालीहरुले पूँजीबजारको यथोचित लाभ लिन सक्नेगरी मोडालिटी लागू गर्नुपर्ने जानकारहरुको भनाइ छ ।

बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने विषय लामो समयदेखि लगानीकर्ताले उठाउँदै आएको विषय पनि हो । भलै, पछिल्लो समय केही लगानीकर्ताका नेताहरुले यो विषयमा चासो दिन छाडेका छन् ।