काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीका लागि आफ्नो अलग्गै डाटा सेन्टर राख्नुपर्ने र त्यसका लागि दक्ष जनशक्ति समेत व्यवस्थापन गर्नुपर्ने नीतिबाट नेप्से पछाडि हटेपछि मध्यमार्गी बाटोबाट जाने सहमति बनेको छ । 

अनलाइन कारोबार प्रणालीका लागि आवश्यक डेटा सेन्टरको बिषयमा लामो समयदेखि नेप्से र ब्रोकरबीच विवाद हुँदै आएको थियो । 

नेप्सेले प्रत्येकको रु. ७० लाख भन्दा बढी लगानी पर्ने डाटा सेन्टर स्थापना गर्न र त्यसका लागि दक्ष जनशक्तिको समेत संख्या नै तोकिदिएपछि खर्च ह्वात्तै बढ्ने भन्दै ब्रोकरले त्यसलाई स्वीकार गरेका थिएनन् । उनीहरुले लामो समयदेखि यो विषयमा लगफत्ती गर्दै आएका थिए ।  

ब्रोकरहरुको तर्फबाट नेप्सेलाई निरन्तर डेटा सेन्टर व्यवस्थापनको बिषयमा सहज बाटोका लागि दवाब परिरहेको थियो । 

यही क्रममा नेप्सेको समन्वयमा भेण्डर कम्पनी वाइको र ब्रोकरहरुले अस्थायी रुपमा नेप्सेमै डाटा सेन्टर राख्ने र केही समयपछि छुट्टै आइटी कम्पनी बनाएर त्यसमार्फत अनलाइन कारोबार प्रणालीका लागि आवश्यक डेटा सेन्टरको व्यवस्थापन गर्ने सहमति गरेका छन् । 

सोमबार नेप्सेमा ब्रोकर र भेण्डर कम्पनीको प्रतिनिधिको सहभागितामा यो बिषयमा छलफल भएको थियो । सो क्रममा ब्रोकर र भेण्डर कम्पनी आफूहरुको लगानीमा डेटा सेन्टर संचालनका लागि अलग्गै कम्पनी संचालन गर्ने सहमतिमा पुगेका स्रोतले बताएको छ । 

तत्काल भने उहाँहरुलाई आवश्यक डेटा सेन्टर नेप्सेमै राख्न दिइने भन्ने छ । छलफलमा सहभागी नेप्सेका एक उच्च अधिकारीले भने ः त्यसपछि सबै ब्रोकर र भेण्डर कम्पनी वाइकोको संयुक्त लगानीमा आइटी कम्पनी खोल्ने र त्यसबाटै डेटा सेन्टरको काम गर्ने भन्ने सहमति भएको छ । 

हालका लागि डेटा सेन्टर नेप्सेमै राख्ने भए पनि ब्रोकर र भेण्डर कम्पनीलाई निश्चित समय दिएर आफ्नै कम्पनी र डेटा सेन्टर तयार गर्न दिइनेछ । यो सहमतिको सही कार्यान्वयन भएको खण्डमा डेटा सेन्टर व्यवस्थापनको लफडा अन्त हुनेछ । नेप्सेका अधिकारीले भने । 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले समेत भेण्डर कम्पनी र ब्रोकरबीच आफ्नै डेटा सेन्टर संचालनको बिषयमा सहकार्यको सहमति भएको पुष्टि गरे । यो काममा नेप्सेको भूमिका नहुने र आफूहरुले समन्वय मात्र गरिदिएको उनको भनाई छ । 

विगतमा डेटा सेन्टरमा आएको गडबडीकै कारण पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको मक टेडिंगमा समस्या आएको समेत साउदको दाबी छ । 

साउदले आफ्नै डेटा सेन्टरका लागि कम्पनी स्थापना गर्न समय लाग्ने भएकोले जतिसक्दो चाँडो यूएटी र मक टेडिंगका काम सकी नेप्सेमा राखिएको अल्पकालीन डेटा सेन्टरबाटै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली लागू गरिने जानकारी दिए । 

'सोमबारको छलफलमा हामीले नोभेम्बर १ देखि हामी अनलाइनमा जानसक्छौ भनेर प्रस्ताव गरेका छौ ।' साउदले भने-'अब धेरै ढिलो हुने संभावना छैन । यूएटीको प्रारम्भिक प्रतिवेदनमा औंल्याइएका २० प्रतिशत कमजोरीलाई सुधार्ने काम लगभग भइसकेको छ । मक ट्रेडिङ पनि भनेजस्ते गतिमा अगाडि बढिरहेको छ । समयमै यूएटी आएपछि हामी धितोपत्र बोर्डमा जान्छौ । यहाँबाट अनुमति पाएपछि अनलाइन प्रणाली सुरु हुन्छ ।' 

पूर्व तयारीका धेरै काम सकिइसकेकोले समेत आफूहरुले ब्रोकरहरु तथा भेण्डर कम्पनीलाई नोभेम्बर १(कात्तिक १५)देखि अनलाइन कार्यान्वयनमा ल्याउन सकिने प्रस्ताव गरेको साउदको स्पष्टोक्ति छ ।