-भक्तराज रसाइली 
काठमाण्डौ । सेयर ब्रोकरहरुबिना सेयर बजारको परिकल्पना गर्न सकिन्न । लगानीकर्ताहरुको कारोबारमा भरपर्दा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका नेपालका ५० ब्रोकर कम्पनीमध्ये प्रतिनिधिमूलक ढंगले हामीले केही ब्रोकर कम्पनीका प्रमुखहरुसँग उनीहरुको दशैं अनुभवको विषयमा कुराकानी गरेका छौ । कसको दशैं कस्तो भयो ? दशैंको विषयमा कसको स्मरण तथा धारणा के रहेछ त ? हेरौं :

भरत रानाभाट
स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाट कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रालिका कार्यकारी अध्यक्ष छन् । पोखरा पाटनवेशीका रानाभाट हाल काठमाण्डौ गैह्रीधारामा बसोबास गर्छन् ।

रानाभाटलाई दशैं  भन्ने बित्तिकै पोखरा घर जाने र आफन्त साथीभाइसँग भेटघाट र कामबाट निस्केर फ्रेस हुने विशेष अवसरको रुपमा आउने गर्छ । जीवनमा १ पटक मात्र काठमाण्डौमा दशैं मनाएको सम्झँदै रानाभाटले खसी र च्याङग्रा काटेर धुमधाम दशैं मनाएको बताए ।

पोखरामा दशैंको टीकाका दिन मात्र टीका थाप्ने चलन रहेको रानाभाटले सुनाए । 

७४ वर्षीय बुवाको हातबाट दशैंको टीका थाप्ने रानाभाटले दशैंतिहारपछि मात्र भ्रमण गर्ने योजना रहेको र दशैंमा पुख्र्यौली घर नै सपरिवार गएर उल्लाहसपूर्ण मनाएको रानाभाट सुनाउँछन् ।

बाल्यकालमा दशैंका बेला पिङ खेलेर रमाइलो गरेको रानाभाट स्मरण गर्छन् । आफ्नो पुरानो पुख्र्यौली घर हेङ्जाकोट सपरिवार यो दशैंमा गएको उनले बताए ।

अनन्तकुमार पौडेल
अनलाइन सेक्यरिटीज प्रालिका प्रबन्ध निर्देशक अनन्तकुमार पौडेलको पुख्र्यौली घर ओखलढुङगा जिल्लाको लिखु गाउँपालिका थलाहरी हो । हाल पौडेल सपरिवार काठमाण्डौ कोटेश्वर बस्छन् ।

दशैं भन्ने बित्तिकै बच्चा बेलाको याद आउने र स्कूले जीवनको झझल्को दिलाउने बताउँदै पौडेल लिङ्गे पिङ, रोटे पिङ खेलेको दशैंका  विगत सम्झन्छन् ।

उच्च शिक्षाका लागि राजधानी छिरेर दशैं बिदामा गाउँ फर्कदाको समय नै पौडेलको अविष्मरणीय दशैं हुन्थ्यो । ७१ वर्षीय  पौडेलका पिता सीताराम पौडेलको हातबाट दशैंमा टीका थाप्दै आएका उनी ठूलीआमाको स्वर्गारोहण भएकाले दशैंमा गाउँ नजाने बताउँछन् । 

‘दशैंको बिदामा केही किताबहरु अध्ययन गर्ने योजना छ।’पौडेलले भने–‘पारिवारिक भेटघाटसहित सामान्य तवरले दशैं मनाउँछु ।’

मेघनाथ उपाध्याय
प्राइमो सेक्युरिटीज प्रालिका कार्यकारी प्रमुख मेघनाथ उपाध्यायको पुख्र्यौली घर बाग्लुङ हो । हाल उनी लाजिम्पाट बस्छन् । 

दशैंको  लामो विदा, नयाँ लुगा किन्ने र विशेष परिकार खाने कुराहरुले दशैं याद दिलाउने उपाध्याय दशैं र तास पर्यायवाची भएको ठान्दछन् । यसपालि भने उनी चितवनको घर जाने योजनामा छन् । 

मांसाहारी भोजन नै रुचाउने उपाध्याय कहिलेकाहीं मद्यपान गर्छन् । 

दशैंमा ७६ वर्षीय आमाबाट टीका आशीर्वाद थाप्दै आएका उपाध्याय भारत पश्चिम बंगालमा हुँदा मनाएको दशैं भने बिर्सनै नसकेको बताउँछन् । २ वर्षकै छँदा उनको परिवार भारतमा गएको थियो पछि उनी स्नातक अध्ययन पछि भने नेपाल नै आए । त्यहाँ उनको घर अगाडिको ठूलो चौरमा भेला हुने, मण्डप बनाउने, झिलीमिली बनाएका यादहरु उनको दिमागमा अहिले पनि बसेको सुनाउँछन् । सोही चौरमा क्रिकेट पनि खेलेको उनले सम्झे ।
उपाध्याय प्रायः बिदेश गइरहन्छन् । यसपालि भने बिदेश जाने योजना नरहेको उनको भनाइ छ ।

चितवन घरमै पारिवारिक जमघट गर्दै उपाध्यायले दशैं मनाएका छन्।

नरेन्द्रराज सिजापति
कालिका सेक्युरिटीज प्रालिका प्रबन्ध सञ्चालकमा नरेन्द्रराज सिजापती छन् । दैलेख कुसाँडाका सिजापती हाल भक्तपुर लोकन्थली बस्छन् ।

पारिवारिक जमघट र रमाइलो सांस्कृतिक पर्वका रुपमा दशैंलाई बुझेका सिजापतीको पनि दशैं चाहिँ बाल्यकालमै रमाइलो लाग्ने गरेको सुनाउँछन् ।
वि.सं.२०५० सालताका एसएलसी पछि काठमाण्डौबाट गाउँ फर्कदाको दशैं निकै स्मरणयोग्य भएको सिजापतीको अनुभव छ ।

हाल बुवाआमासँगै बस्दै आइरहेका सिजापती दशैंमा यो पालि गाउँ नजाने बताउँछन् ।

मांसाहारी भोजन रुचाउने उनले हालसम्म पनि मद्यपान नछोएको सुनाउँछन् ।

६८ वर्षीय बुवाकै हातबाट दशैंको टीका जमरा थाप्दै आएका सिजापती घोर्ले खसी काट्ने र यतै रमाइलो गर्ने सूर कस्दै छन् ।

पारिवारिक भेटघाट र आफन्तसँग रमाइलो गर्दै दशैं मनाउने सिजापती सुनाउँछन् ।

पाँच वर्षअघि दशैं मनाउन गाउँ गएको बेला काकाको असामयिक निधनले निकै मर्माहत बनेको दुखदायी घटना भने सधैं झलझली आउने गरेको सिजापती जिकिर गर्छन् ।

‘दशैंमा टीका लगाएपछि उपल्लो मुस्ताङ जाने भन्ने सोंच छ।’सिजापतीले बिजशालासँग भने–‘हेरौं मौसमले कत्तिको साथ दिन्छ ।’

राजकुमार तिमिल्सना
स्टक ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष हुन्, राजकुमार तिमिल्सना । उनको पुख्र्यौली घर सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका ५ हो । हाल उनको परिवार काठमाण्डौ बुढानीलकण्ठमा बसोबास गर्छ । 

तिमिल्सिना ७ वर्षकै उमेरमा काठमाण्डौ बसाइसराइ गरी आएका थिए । सेयर लगानीकर्ताका रूपमा प्रवेश गरेका उनी विगत ४ वर्षदेखि धितोपत्र व्यसायी दलालका रुपमा सक्रिय उपस्थिति जनाइरहेका छन् ।

तिमिल्सिनाले सदाझैं यसपालि पनि दशैं काठमाण्डौमै मनाएका छन् । नेपालीको प्रमुख चाड दशैं हिन्दु परम्पराअनुसार प्रथा र संस्कृतिलाई कायम गर्दै मनाउने गरेको उनले बताए ।

तिमिल्सिना मांशाहारी भए पनि शाकाहारी भोजनमा फोकस हुने निधो गर्दै दशैंमा जमघटलाई विशेष प्राथमिकतामा राखेको उनको भनाइ छ । कहिलेकाहीँ मद्यपान गर्ने उनी स्वास्थ्यका कारण हाल मद्यपान सेवन बन्द गरेको बताउँछन् ।

उहिले गाउँमा बाल्यकालमा बिताएका दशैंको हर्षोल्हासको सम्झना र आभाषले सधैं स्मरणयोग्य बनाउने तिमिल्सिनामको भनाइ छ । पछिल्लो पुस्तामा उहिलेजस्तो दशैंको संस्कृतिले प्राथमिकता पाउन छाडेकोमा भने उनी चिन्तित छन् ।

काठमाण्डौमा उनले युवावस्था हुँदा २०५२ सालताका कपनमा युवा क्लबमार्फत टोल सरसफाइ, लिङ्गे पिङ हाल्ने, चङ्गा चेटलगायतका कार्यक्रम गरी २ दिने महोत्सव नै गरेको तिमिल्सिना झलझली सम्झन्छन् ।

दसैंको बिदामा विदेश भ्रमण जाने परिपाटी गलत रहेको तिमिल्सनाको बुझाइ छ । धर्मसंस्कृति जोगाउन पनि दशैं नेपालमै बसेर परिवारसँग मनाउनुपर्ने उनले बताए ।

तिमिल्सिना घरतिरका हजुरबुवा र ससुरालीतर्फका १०१ वर्षीय हजुरबुवाबाट र आफ्ना मातापिताबाट यो वर्षको दशैंमा टीका आशीर्वाद थापेका तिमिल्सिना परम्पराअनुसार परिवारसँगै बसेर मनाएको बताउँछन् ।

रमनदेव पन्त
क्रिएटिभ सेक्युरिटीज प्रालिका प्रबन्ध निर्देशक रमनदेव पन्त छन् । पाल्पा हुँगी पुख्र्यौली घर भएका पन्त काठमाण्डौ कमलपोखरी बसोबास गर्छन् । 
दशैंका बेला बिदा हुने भएकाले यो समय तनावरहित र साथीभाइसँग भेटघाट हुने हुँदा दशैंको माहौल रमाइलो लाग्ने गरेको पन्तको भनाइ छ । करिब ३० वर्षदेखिकै काठमाण्डौको रैथाने बनेका पन्त पहिले गाउँमा रहँदा हजुरबुवा र हजुरआमाबाट टीका थाप्दा रमाइलो मान्दथे । त्यत्तिबेला पन्त मात्र १२ वर्ष जतिका मात्र थिए ।

पन्त परिवार शाकाहारी भएतापनि रमन भने साथीभाइसँग बाहिर मासु खान्छन् । बाहिर बसेर कहिलेकाहीँ मद्यपान पनि लिने उनी बताउँछन् । 
आफन्तजन भेला भई टीकाआशिर्वाद लिई दशैं उल्लाहसपूर्ण मनाएको र सामाजिक कार्यहरु पनि गर्ने गरेको पन्त सुनाउँछन् ।

८९ वर्षीय आफ्नी हजुरआमाबाट पनि दशैंको टीका थाप्दै आएका पन्त यसपालि विशेष कामले भारत गएका छन् ।

दशैंलाई धर्मसंस्कृतिको संरक्षण र मनोरञ्जनपूर्ण बनाउन पन्त जोड दिन्छन् ।

रामचन्द्र भट्टराई
रामचन्द्र भट्टराई अनामनगरस्थित ब्रोकर नम्बर ५७ अर्थात् आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिका संस्थापक निर्देशकका रुपमा छन् । 

अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–९ ढिकुराका भट्टराई हाल काठमाण्डौ कोटेश्वर बस्दै आएका छन् । बाल्यकालदेखि नै शुद्ध शाहकारी भट्टराई दशैं भन्नेबित्तिकै जन्मथलो गाउँ सम्झने गरेका छन् । दशैंमा सधैं एकनासको रमाइलोमात्र यादगार गरेका उनी ७० सालमा गाउँ जान नपाउँदाको वर्ष भने नरमाइलो लागेको रहेछ । इष्टमित्र र साथीभाइसँग दशैंमा भेटघाटका साथै गाउँमा सराय नाच नाच्ने प्रचलन रहेको भट्टराईको भनाइ छ । दशैंमा टीका आशीर्वाद ग्रहण गरेपछि देवीदेवताका मन्दिरमा दर्शन गर्दै, नाच हेर्ने र पिङसमेत खेल्ने गरेको उनले बताए ।

गाउँकी १०५ वर्षीय हजुरआमा र ८२ वर्षका बुवाबाट टीका थाप्दै आएका भट्टराई यसपालि नेपालको पूर्वीभेगतर्फ आन्तरिक भ्रमणमा छन् । बिदा छोटो भएकाले आन्तरिक भ्रमणमा सरकारले दशैंका बेला अलिक लामो बिदा दिइनुपर्ने उनको धारणा छ । दशैंमा साथीभाइसँग भेटघाट ,दुःखसुख साटासाट र मीठामीठा परिकार खाएर नेपालीको महान चाडलाई मनाएको उनको भनाइ छ । उनले यही दशैंको अवसरमा आफूले पढेको विद्यालयलाई ५ थान कम्प्युटर सहयोगस्वरुप प्रदान गर्ने योजना समेत सुनाए ।

सन्तोष मैनाली
काठमाण्डौ प्रदर्शनी मार्गमा रहेको सेक्यूर्ड सेक्युरिटीज लिमिटेडका कार्यकारी अध्यक्षमा सन्तोष मैनाली छन् । झापा जिल्ला बिर्तामोड घर भएका मैनाली हाल काठमाण्डौ टोखामा बस्छन् । 

दशैं भन्नेबित्तिकै बाल्यपनको याद र जमघट नै बुझ्ने गरेका मैनालीको ठूलो परिवार छ । यसपालि पनि गाउँमै गएर हजुरबुवा हजुरआमाको बाहुलीबाट टीकाजमरा थापेको उनले सुनाए । साथमा टीका थाप्न अन्य ठाउँ समेत जाने उनको योजना छ ।

मांसाहारी भोजन नै रुचाउने मैनाली साथीभाइसँगको भेटघाटमा मद्यपान हल्का लिने गरेको बताउँछन ।

फूलपाती अघि नै घर गएका मैनाली गाउँको घरमा बस्न रुचाउँछन् । पूजा अर्चना र कूलपूजामा  पनि सरिक हुने मैनाली सुनाउँछन् । मीठा परिकार खाने  ठूलाबडाका हातबाट समेत टीका लगाउन रुचाउने मैनाली  ७–८ वर्षको उमेर छँदा गाउँले परिवेशमा दशैंको माहौल निकै रमाइलो भएको अनुभव बिजशालासँग साटे । युवाहरु मिली नगद जिन्सी उठाई दूर्गा पूजा गर्ने र घर अगाडि लठारो बाँधी पिङ हालेको झल्झली मैैनाली सम्झन्छन् ।

पचासी वर्षीय मावली हजुरबुवाबाट समेत दशैंको टीकाजमरा र आशीर्वाद लिने गरेका मैनालीले बुवा र आमापट्टिको पनि हजुरबुवा हजुरआमाबाट दशैंको टीका थापेको रोचक प्रसंग समेत सुनाउन भ्याए।

बिदेश भ्रमणभन्दा पनि आन्तरिक भ्रमणमा रुचि जनाउने मैनाली सदाझैं इलाम भ्रमण गर्ने सुरसारमा छन् । पूर्वतिरकै धार्मिक र पर्यटकीय स्थल भ्रमणमा मैनाली चासो राख्छन् ।