काठमाण्डौ । लामो समयसम्म दिनभरजसो झिंगा मारेर बस्नुपर्ने पट्यारलाग्दो अवस्था । एक हिसाबले भन्दा पूरा संक्रमणकालको कहालीलाग्दा दिनहरु भोगे देशका सेयर ब्रोकरहरुले । अनेक दुःखजिलो गरी ब्रोकर कम्पनी स्थापना गरेका ब्रोकरहरुले यो अवधिमा पनि आफ्नो धर्म छाडेनन्  । अरुलाई पैसा कमाउन सहजीकरण गरिदिनुपर्ने पेशामा भएका ब्रोकरहरु बजार बियरिस रनमा दौडँदा आफू चाहि सहर्ष घाटा सहन बाध्य भए । शाखा खोल्ने दवाब उस्तै थियो, खोले, तर त्यहाँ पनि घाटा नै हात लाग्यो । तर, एउटा लक्ष्यसहित विजिनेश सुरु गरेपछि सजिलै हार मान्ने कुरै हुन्न । सेयर बजारसँग जोडिएको विजिनेश न हो, जुन सधैं एकैनाशको हुँदैन । रातपछि दिन आउँछ भनेजस्तो बियरिस ट्रेण्ड सकिएर बजारमा बुल रनको चक्र सुरु भएपछि ब्रोकर र ब्रोकरेज हाउसका कर्मचारीको दिनचर्यामा उलटपुलट नै भएको छ । हिजोआज ब्रोकर कार्यालयमा पैसा कमाउने उत्कट चाहना बोकेका लगानीकर्ताको रामरमिता छ । 

लगानीकर्ताको बजारमा बढ्दो संख्या, लामो समयसम्म निस्क्रिय लगानीकर्ताको तीव्र गतिमा भइरहेको पुनरागमन र नयाँ लगानीकर्ताहरुको तीव्र बजार प्रवेशलाई व्यवस्थापन गरी चुस्त सेवा दिन अहिले ब्रोकर र तिनका कर्मचारीलाई भ्याई नभ्याई छ । 

बजारमा कारोबार रकम बढेसँगै उनीहरुको व्यस्तता पनि बढेको छ । साथीभाई र आफन्तलाई दिने समय कटौति हुन थालेको छ । विजिनेशमा चमक आएसँगै ब्रोकरहरुको मुहारको रंग मात्र बदलिएको छैन, व्यस्तता पनि ह्वात्तै बढेको छ । 

हाम्रा संवाददाता भक्तराज रसाइलीले ब्रोकरहरुको यही व्यस्तताका बीच उनीहरुको दिनचर्यादेखि बजारको ट्रेण्ड, बजारको विषयमा उनीहरुको धारणा लगायतका विषयमा बुझ्ने कोशिश गरेका छन् । पढौं उनीहरुको भनाई उनीहरुकै भाषामा:

मेघनाथ उपाध्याय, प्राइमो सेक्युरिटीज प्रा.लि.(सीइओ) 
जनसम्पर्क निकै बढिरहेको छ । बुलिस बजारमा हुँदा पुराना, नयाँ र संभावित लगानीकर्ताहरुसँगको भेटघाट बाक्लिदै गएको छ । मैले त हप्तामा २ दिन समय नै छुट्याएको छु जनसम्पर्कका लागि । यो बेला फोनकलहरु धेरै नै उठाउनु परिरहेको छ । नोभेम्बर २५ बाट बजार सकारात्मक देखिएको हो । पुसमा बजार घट्ने आशा विपरीत बजार वृद्धि भइरहेको छ । केही समयअघिसम्म अर्थमन्त्रीको राजीनामा आए बजार बढ्ने कुरा समेत हिजोआज गौण हुन थालेको छ । सेयरमा ओडी सहज रुपमा पाइरहेकाले समेत ब्रोकरहाउसमा भीडभाड बढेको छ । कारोबार संख्या र लगानीकर्ताको संख्या समेत बढ्यो । डिस्प्ले रुम बल्ल भरिभराउ हुन थालेका छन् । यद्यपि नेप्से १५ सय पुगेपछि मात्र नयाँ लगानीकर्ताहरुको चाप बढ्ने मेरो व्यक्तिगत बुझाइ हो । लगानीकर्ताहरुमा बढ्दै गरेको आत्मविश्वास र टर्नओभरले समेत बजारलाई थप सपोर्ट गरिरहेको छ ।

सन्तोष मैनाली, सेक्यूर्ड सेक्युरिटीज प्रा.लि.(कार्यकारी अध्यक्ष)
जनसम्पर्क व्यापक बन्दै गएको छ । सोधखोज गर्ने लगानीकर्ताहरुको वृद्धि  पनि थामिनसक्नु नै छ । बिहान र बजार बन्द भएपछि खोजीनीति र कौतहुलता लगानीकर्ताहरुमा देखेको छु । बजारको माहौल उत्साहपूर्ण भइरहेका बेला लगानीकर्ताहरु बजार फर्कने क्रम व्यापक बन्दै गएको देखिन्छ । पुराना लगानीकर्ताहरु आउने क्रम सुरु भएजस्तो छ । हामीकहाँ बजारबारे जानकारी लिने र बैंकमा सेयर धितो कर्जाको ब्याजदर बारे जिज्ञासा लिएर आउने ग्राहकहरुसमेत बाक्लै छन् । टर्नओभरले आगामी दिन बजार गुणात्मक बढ्ने संकेत दिंदा बुलिस बजार नै हो भन्ने आधार र विश्वास भेटियो । यता टी प्लस ३ मा सम्पन्न गर्नुपर्ने सेटलमेन्टमा समेत चाप बढेको छ । नयाँ र ताजा पैसा अनि केही चाहिँ ऋण गरिएका पैसासमेत सेयरमा लगानी भइरहेको पाइएको छ ।

तरलता र घट्दो ब्याजदरले आगामी दिन बजार अपट्रेण्ड नै भएको पुष्टि गर्दैछ । यद्यपि बजारमा माइनर करेक्सन आउन सक्ला । 

बुलिस बजारमा लगानीकर्ताहरुले व्यक्तिगत वित्तीय अवस्थाबारे कन्फर्म हुनु पर्दछ । अनि जोखिम वहन क्षमतालाई आंकलन गर्दै लगानी गर्ने कम्पनीको छनौटमा निकै चनाखो हुनुपर्दछ । कम्पनीको सुशासन र कम्पनीको ग्रोथलाई सूक्ष्म अध्ययन गर्न आवश्यक छ । बजारमा आएका हल्लाहरुलाई फिल्टर गर्दै चनाखो भई लगानी गर्न सल्लाह दिन्छु ।

राजकुमार तिमिल्सिना, भिजन सेक्युरिटीज(कार्यकारी अध्यक्ष)
जनसम्पर्क बढिरहेको छ । फोनकलहरु आउने क्रम ह्वात्तै बढिरहेको छ । निष्क्रिय लगानीकर्ताहरु हिजोआज बजारमा सक्रिय हुन थालेका छन् ।

लगानीकर्ताहरुको सक्रियतासँगै माहौल एकाएक बढ्दैछ । बजारको आफ्नै चक्र हुन्छ । नेप्से सूचकांक यति नै पुग्ने भन्ने ग्यारेन्टी कसैले पनि दिन सक्दैन ।

लगानीकर्ताहरुमा बजार बढ्ने अपेक्षा हावी हुनु, सेयर कर्जा लचक हुनुले समेत बजारको माहौल तातिरहेको छ । ओडी लिएका लगानीकर्ताहरुले सो पैसा प्रयोग गरिरहेका पाइन्छ । 

सेटलमेन्टमा अत्याधिक चाप अवस्य पनि बढेको छ । यसबेला संस्थागत लगानीकर्ताहरुसमेत सक्रिय भइरहेका छन् ।

बढ्दो बजारमा कर्जा लिनुभन्दा स्वपूँजीको लगानी गरे सम्भवतः राम्रो प्रतिफल पाइन्छ । कम्पनी छनोट गर्दा राम्रा र दीर्घकालीन हेर्न सल्लाह दिन्छु ।

गुणनीधि भुसाल, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रा.लि.(प्रबन्ध निर्देशक)
लामो समयको प्यानिक बजारमा ब्याजदर घटेर सकारात्मक माहौल सिर्जना भएको छ । अब बजार बलियो हुँदै गएकाले यो बेला लगानी गर्नेले नसोचेको पैसा कमाउँछ । सूचीकृत कम्पनीहरुले वितरण गरेका नगद लाभांशसमेत लगानीकर्ताहरुको हातमा परेकाले उनीहरुको क्रयशक्ति बढेको पाइन्छ ।

बजार बढेसँगै सेटलमेन्टको चाप परिरहेकै छ । हामी ब्रोकरहरु दैनिक कारोबार १५ अर्ब पनि धान्न सक्ने क्षमतामा छौं । हाम्रो क्षमतामा चाहिँ अहिले कुनै असर परेको छैन ।

राम्रो कम्पनी महङ्गा देखिन्छन् । नराम्रा कम्पनीहरु भने सस्ता भेटिन्छन् तर सस्ताले राम्रो रिटर्न नदेला । राम्रा कम्पनी जसले वार्षिक न्यूनतम १० प्रतिशत रिटर्न दिने कम्पनीको छनोट गरी लगानी निर्णय गर्न लगानीकर्ताहरुले विचार गर्नुपर्छ ।

रामचन्द्र भट्टराई, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रा.लि.(सञ्चालक)
जनसम्पर्कको दौडधुप निकै बाक्लिदै गएको छ । बरु सहकर्मी ब्रोकर साथीहरुसँगै पो भेट हुन छाडेको निकै दिन भयो । बजारको बढाइसँगै लगानीकर्ताहरुमा चासो व्यापक बढेको त छ नै बिदेशबाटसमेत फोनकलहरु आइरहेका छन् ।