काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र स्टक ब्रोकरहरुबीच चर्किएको द्वन्द्वले लगानीकर्ता अलमलमा परेका छन् । 

लगानीकर्ताहरुले गर्ने सेयर कारोबारलाई व्यवस्थित ढंगले सहजीकरण गर्दै आएका ब्रोकरहरुलाई धितोपत्र बोर्डका अध्यक्ष डा. कार्कीले संसदको अर्थसमितिको छलफलमा क्षमता नभएका र अनुशासनहीन भन्दै टिप्पणी गरेपछि आक्रोशित ब्रोकरहरुले त्यसप्रति आपत्ति जनाउँदै बिहीबार धितोपत्र बोर्डमा ज्ञापनपत्र बुझाएका छन् । 

ब्रोकर र बोर्डबीच चर्किएको नयाँ द्वन्द्वमा लगानीकर्ता भने सेयर किन्ने नकिन्ने दोधारमा परेका देखिएको छ । त्यसै पनि समस्याग्रस्त बनी घटिरहेको बजारमा नयाँ खालको द्वन्द्व देखिएपछि त्यसले लगानीकर्ताको मनोबलमा समेत प्रभाव पारेको विश्लेषकहरुले बताएका छन् । 

उनीहरुले नेप्सेको भद्रगोलपूर्ण अनलाइन प्रणाली, ब्याजदरमा अन्यौलको अवस्था, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट ब्याजदर र तरलताको विषयमा सिर्जित नयाँ खालको समस्या र सेयर बजारमा बढी हिस्सा ओगट्ने वाणिज्य बैंक तथा बित्तीय संस्थाहरुको विजिनेशमा नकारात्मक प्रभाव पर्ने मौद्रिक नीति र सरकार तथा नियामकहरुले लिने नीतिमा देखिने ढुलमुले प्रवृतिका कारण बजार निरन्तर घटिरहेको छ । अन्यौलै अन्यौलका बीच ब्रोकर र बोर्डका अध्यक्षबीचको टकरावले नयाँ अन्यौल थपिदिएको भन्दै लगानीकर्ता निराश छन् । 

बजारमा बग्रेल्ती समस्या भएकै कारण बिहीबार नेप्से परिसूचकमा झिनो अंकको सुधार भए पनि कारोबार रकम भने घटेको छ । यो दिन नेप्से परिसूचक ०.८४ अंकले बढ्यो भने कारोबार रकम घटेर १६ करोडमा सीमित भएको छ । 

यो दिन जलविद्युत समूहको सूचक १.०७ अंकले घट्यो भने उत्पादनमूलक १२.८ र  माइक्रोफाइनान्स समूह २.५८ अंकले घटे । बाँकी सबै समूहको सूचक बढे । 

बैंकिंग समूह १.३२ अंकले बढेको यो दिन विकास बैंक समूहमा ०.०२ अंक, जीवन बिमा समूहमा १.७८ अंक, निर्जीवन बिमा समूहमा १०.०४ अंक, बित्त समूहमा ०.७८ अंक, व्यापार समूहमा २.७ अंक र अन्य समूहमा १.३१ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५५ कम्पनीका ४ लाख ७५ हजार ७६६ कित्ता सेयर १६ करोड ४४ लाख ७८ हजार ६८८ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन चौतारी लघुवित्तले सबैभन्दा बढी २ करोड ५० लाख बढीको सेयर कारोबार गर्यो । 

नवील बैंकले १ करोड ३९ लाख बढीको कारोबार गरेको यो दिन इन्भेष्टमेन्ट बैंकले ८६ लाख, अपर तामाकोशीले ७२ लाख, एनएमबी बैंकले ६४ लाख, चिलिमे हाइडोले ६३ लाख, एनआइसी एशियाले ५१ लाख, स्ट्याण्डर्ड चार्टर्डले ३९ लाख, नागरिक लगानीकोषले ३६ लाख र बैंक अफ काठमाण्डूले ३३ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
निरन्तर बढिरहेको चौतारी लघुवित्तको मूल्य आज पनि सबैभन्दा बढी बढ्यो । यो कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । 

यो दिन हिमालयन डिस्टीलरी लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आयो ।