- भक्तराज रसाइली

काठमाण्डौ । विगत ७ वर्षदेखि धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) हरूमध्ये टप ब्रोकरका रूपमा परिचित अनन्तकुमार पौडेल ब्रोकर नं. ४९ अनलाइन सेक्युरिटिज प्रालिका प्रबन्ध निर्देशक हुन् ।

ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका–८ थलाहारी जन्मथलो भई हाल काठमाण्डौको कोटेश्वरनिवासी पौडेल शंकरदेव क्याम्पसबाट एमबीएस उत्तीर्ण हुन् । काठमाण्डौनजिकैको एउटा बोर्डिङ स्कुलमा डेढ वर्ष शिक्षण पेसा गरेका पौडेल आकर्षक जागिर खाने सिलसिलामा राजधानी छिरे । चिनजानकी कलेज पढाउने एक म्याडमले ब्रोकर हाउसमा पौडेललाई जागिरसमेत मिलाइदिइन् ।

ब्रोकर नं. ६ अग्रवाल सेक्युरिटिजमा १३ वर्ष काम गरेपछि पौडेलले २०७० साल मंसिरमा साथीहरू मिलेर अनलाइन सेक्युरिटिज प्रालि खरिद गरे । अनि ब्रोकर पेसामा उनले हाल कारोबारका आधारमा सर्वोत्कृष्ट स्थान ओगट्दै आएका छन् ।

निकै हसिला र मृदुभाषी पौडेल अब्बल ब्रोकर कम्पनीको सफलतामा आफ्नो कम्पनीका कर्मचारीहरूको टिमकै अथक मेहनत र आफ्ना सन्तुष्ट ग्राहकलाई श्रेय दिन्छन् ।

अनलाइन सेक्युरिटिज प्रालिको स्थापना २०६४ सालमा भएको हो । पुतलीसडकको शंकरदेव मार्गमा रहेको अनलाइनमा दुईजना प्रमोटर छन् । कार्यकारी अध्यक्षका रूपमा दिनेश शर्मा बिडारी छन् ।

चुक्तापूँजीका हिसाबले समेत सबैभन्दा बढी रु. ७ करोड रहेकोमा कम्पनीको नेटवर्थ भने लगभग रु. १२ करोड छ । १८ जना कर्मचारी कार्यरत कम्पनीले धरानस्थित कलेज रोडबाट समेत ब्रोकरेज सेवा दिइरहेको छ । थप १० ठाउँमा शाखा विस्तारका लागि नेपाल धितोपत्र बोर्डमा आवदेन दिएको कम्पनीले जनाएको छ ।

अनलाइन सेक्युरिटिजले डीपी सेवासमेत दिँदै आएको छ भने हालसालै नेप्सेबाट मार्जिन कारोबार गर्ने अनुमति पनि पाएको छ । १६ हजार बढी व्यक्तिगत डिम्याट खाता खोलिएकोमा संस्थागततर्फ १७२ डिम्याट खाता खोलिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अपडेटे गरिएका केवाईसी खाता २६ हजार ४१४ रहेको छ । दैनिक कारोबारी औसतमा ३५ जना रहेकामा कम्पनीमा दैनिक उपस्थित लगानीकर्ताको संख्या २० रहेको छ ।

गत आर्थिक वर्षमा अनलाइन सेक्युरिटिजले २२२ कम्पनीका रु १३ अर्ब ९२ करोड रकमबराबरको कारोबार गरेको थियो ।

आफूलाई टप ५ ब्रोकरका रूपमा दाबी गरेका कम्पनीका प्रबन्ध निर्देशक पौडेलले सानाठूला लगानीकर्तालाई समान व्यवहार नै बलियो पक्ष भएको बताए । समयमै सेयर खरिदबिक्री र भुक्तानी व्यवस्था रहेको उल्लेख गर्दै पौडेलले भने, ‘ठूला लगानीकर्ता आफैँ जानकार हुने तर सानालाई उचित सरसल्लाहका साथमा सेयरसम्बन्धी प्रकाशित सूचनाहरुका बारेमा बताइदिन्छौं ।’

रियल टाइम सर्भिसमा विश्वास गर्ने आफूहरु शीघ्र सेवा र ग्राहक सन्तुष्टिमा विशेष ध्यान दिने गरेको पौडेलले सुनाए ।

ब्रोकर कम्पनीमा काम गरेको अनुभव लिएपछि यही पेसामा लागेका साथीभाइसँग मिलेर पौडेलले अनलाइन सेक्युरिटिज खरिद गरेका थिए । पढाइ र अनुभवको मिश्रणले खारिएका पौडेल यसैलाई बिजनेसका रूपमा अँगाल्न पुगेको बताउँछन् ।

जिरो लेभलदेखि आएको अनुभवी ब्रोकरका रुपमा आफूलाई चिनाउने पौडेल आफ्नो प्यासनले पनि ब्रोकर बनेको दाबी गर्छन् । यो पेसालाई अझ सशक्त र दीर्घकालीन बनाउन फूल फेज ब्रोकर हुनुपर्ने पौडेलको धारणा छ । डिलरसिप, प्रोप्राइटरसिप ट्रेड, पोर्टफोलियो व्यवस्थापन, काउन्सेलिङ सर्भिससहितको ब्रोकर पेसा बनाउन सकिए क्वालिटी पेसा हुने उनले तर्क गरे ।

सर्वसाधारण लगानीकर्तालाई समाचार र नेप्से लाइभ हेर्न छुट्टै कम्प्युटरसमेत दिँदै आएको अनलाइन सेक्युरिटिजमा रियल टाइम ब्रोकरेज सेवाको व्यवस्था छ । सेयर खरिदबिक्री गर्न महिला, अपांगता भएका, बालबालिकाका लागि महिला कर्मचारी तथा साना र ठूला लगानीकर्ताका लागि छुट्टाछुट्टै कर्मचारीको प्रबन्ध रहेको अनलाइन सेक्युरिटिजमा सन्तुष्ट र दक्ष कर्मचारीहरु उच्च मनोबल बनाएर ग्राहकलाई सेवा प्रवाह गरिरहेको पौडेल बताउँछन् । बिहान ९ः३० देखि साँझ ६ बजेसम्म सेवा दिइरहेको उनले जानकारी दिए।

लगानीकर्ता ब्रोकर नं. ४९ नै किन आउने भन्ने विजशालाको जिज्ञासामा पौडेल भन्छन्, ‘अनुभवी व्यवस्थापन तथा कर्मचारीबाट सेवा लिन अनि प्रकाशित सूचना प्रवाह गरिन्छ । यसका साथै वित्तीय अनुशासन व्यवस्थापन गरेको अनुशासित ब्रोकरबाट एकपटक सेवा लिन आग्रह छ ।’

पौडेलले ब्रोकर कम्पनीहरुको दायरा थप विस्तार गरी फिचर थप गर्न जोड दिए । नियामक निकायलाई अभिभावकका रुपमा मान्दै आएका पौडेलले आफूलाई बोर्ड र नेप्सेका सुधारात्मक नीति निर्देशनबाट खुशी रहेको सुनाए ।

देशको अर्थतन्त्रकै ऐना र मेरुदण्डका रुपमा पूँजीबजार रहेको जिकिर गर्दै पौडेलले स्वदेशी पूँजीबाट मुलुकका लागि पूँजीबजारले धेरै महत्व राख्ने तर्क गरे । राज्यले समेत प्राथमिकता दिनसके आर्थिक समृद्धिका लागि पूँजीबजार पूँजी निर्माणकै निम्ति एउटा उपयुक्त माध्यम बन्न सक्ने पौडेलको विश्लेषण छ ।

पूँजीबजारको विस्तारमा प्रविधि र नीति विश्वासिलो हुन जरुरी रहेको ठान्ने पौडेलले कार्यान्वयनमा समेत जोड दिइनुपर्ने औँल्याए । पूँजीबजारसँग सम्बन्धित ऐन, कानून निर्माण गर्नुअघि सरोकारवालासँग बृहत् छलफल, समन्वय र सहकार्य आवश्यक रहेको उनको ठम्याइ छ ।

लगानीकर्ताका आँखामा अनलाइन सेक्युरिटिज प्रालि

राजु देवकोटा, २८ वर्ष, पूर्णकालीन लगानीकर्ता, बालाजु

म सेयर बजारमा छिरेको ७ वर्ष भयो । यहाँबाट सेयर खरिदबिक्री गर्न थालेको चाहिँ ५ वर्ष नै भइसक्यो । दोस्रो बजार छिरेयता म यहीँबाट कारोबार गर्दै आइरहेकोमा अन्य साथीहरुलाई पनि यहाँको सेवा लिन आग्रह गर्दछु । यहाँ एकदमै राम्रो सेवा छ र म धेरै सन्तुष्टसमेत छु । म १० नम्बरमा ९.५ अंक दिन्छु ।

सुजन मल्ल, ३५ वर्ष, पूर्णकालीन लगानीकर्ता, पेप्सीकोला

सेयर बजारसँग जोडिएको र यहाँबाट सेवाबाट लिएको ४ वर्ष भयो । एकदमै राम्रो सेवासुविधा भएकाले म अधिक खुशी छु । गुनासोरहित सेवा भएकाले म नियमित यहीँबाट कारोबार गर्दै आएको छु । आगामी दिनमा मार्जिन कारोबार सेवा लिन पाए हुन्थ्यो । म चाहिँ १० नम्बरमा ९.५ नम्बर दिन्छु ।

टीका पाण्डे, ३८ वर्ष, सेयर लगानीकर्ता, गोल्फुटार

विगत १३ वर्षदेखि सेयर बजारमा लागेको मैले ४९ बाटै सेवा लिइएको पनि १३ वर्ष नै भयो । यहाँको सेवासुविधा राम्रा छन् र म धेरै सन्तुष्ट छु । म १० नम्बरमध्ये ९.६ नम्बर दिन्छु ।