काठमाण्डौ । आगामी भदौ १४ देखि १९ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी कक्षमा प्रतिष्ठित नाडा अटो शोको पछिल्लो संंस्करण आयोजना हुने भएको छ । 

नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा ‘नाडा अटो सो २०१६’ आयोजना हुन लागेको हो । 

नाडा अटो शोको तयारीको बिषयमा आयोजकले आइतबार एक पत्रकार सम्मेलनमार्फत जानकारी दिए । होटल र्याडिसनमा भएको पत्रकार सम्मेलनमा एशोसिएसनका अध्यक्ष अञ्जन श्रेष्ठले अटो शोमा १ सय २५ वटा स्टलहरु रहने जानकारी दिए । उनका अनुसार ७४ वटा सहभागी संस्थाहरुले विभिन्न योजनाहरुसहित सवारी साधन, सवारी साधनजन्य वस्तु तथा अन्य सेवाहरु प्रदर्शनीमा राख्ने बताइएको छ । यो वर्ष मेलामा केही नयाँ सवारी साधन तथा अटो कम्पोनेन्टहरुको पनि पहिलोपटक प्रदर्शनी हुने बताइए पनि सो बिषयमा विस्तृत भनिएको छैन । अटो शोमा ३० मुलुकका उत्पादनहरुको सहभागिता रहनेछ । 

प्रदर्शनीमा १६ वटा ब्राण्डका ४ पाङ्ग्रे, १५ वटा ब्राण्डका २ पाङ्ग्रे तथा ५ वटा ब्राण्डका हेबी कमर्सियल सवारी साधनहरुको सहभागिता रहने छ । आयोजकका अनुसार चार पाङ्ग्रेमा डाट्सून, फियाट, फोर्ड, होण्डा, हुण्डाई, किया, महिन्द्रा, निशान, रिनल्ट, स्कोडा, सुजुकी, टाटा, टोयोटा, भल्सवागेन, सांगयोगं लगायतका कम्पनीहरुको गाडीको स्टल रहनेछ । यसैगरी, २ पाङ्ग्रेमा बजाज, बेला, बेनेल्ली, हिरो, होण्डा, महिन्द्रा, रोयल इनफिल्ड, रनर, सुजुकी, टिभीएस, यमाहा लगायतका कम्पनीहरुले स्टल बुक गरिसकेका छन् । हेबी कमर्सियल साधनहरुमा अशोक लेल्याण्ड, आइसर, एस्कर्ट, महिन्द्रा र टाटा कम्पनीले स्टल राख्नेछन् । 

प्रदर्शनीमा बित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्ट्स, टायर, ग्यारेज उपकरवण, ब्याटी तथा अन्य एशेसरिजसँग सम्बन्धित स्टलहरु पनि रहने बताइएको छ । 

यसपटकको नाडा अटो शोले नेपालको अटो उद्योगको समग्र विकासमै टेवा पुग्ने आयोजकको दाबी छ । ६ दिनसम्म चल्ने शोमा करिब ५० हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । 

यसपटकको नाडा अटो शोकको टाइटल स्पोन्सर सर्भो लुब्रिकेन्ट्स रहेको छ । यसपटकको नाडा अटो शोका ब्राण्ड एम्बेस्डर कलाकार तथा पाइलट विजय लामा रहेका छन् । 

सडक सुधार कर सम्बन्धित क्षेत्रमै खर्च हुनुपर्ने माग
यसैबीच, नाडा अटो शोको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एशोसिएसनका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले यो आर्थिक वर्षको बजेटबाट सडक सुधार दस्तुर(कर)लाई गत वर्षको ५ बाट बढाएर ७ प्रतिशत पुर्याए पनि त्यसको समुचित उपयोग हुन नसकेकोमा चिन्ता प्रकट गरे । उनले सडक सुधार शुल्कको नाममा असूलिने करलाई सिधैं राजश्व कोषमा पठाउनको साटो छुट्टै खातामा राखेर सडकको स्तर सुधार, ट्राफिक व्यवस्थापन जस्ता काममा खर्च गर्न माग गरे । ‘हामीले यो बिषय उठाएको धेरै भयो ।’ उनले भने–‘तर सरकारले कर मात्र असूल्छ, जे शीर्षकमा कर असूलेको छ, खर्चका लागि त्यो क्षेत्रमा प्राथमिकतामा राख्नुपर्यो भन्ने हाम्रो माग सरकारले सुनेन् ।’

उनले एशोसिएसन सडक सुधार, ट्राफिक व्यवस्थापन, प्रदूषण न्यूनिकरण लगायतका बिषयमा सहकार्य गर्न तयार रहेको समेत बताए । 

उनले अटोमोवाइलको एसेम्ब्ली इण्डष्ट्री नेपालमा पनि बिस्तारका लागि सरकारले कर लगायतका बिषयसँग जोडिएका झञ्झट अन्त गर्नुपर्ने माग गरे । ‘सरकारले यस्ता उद्योगको प्रोत्साहनका लागि विशेष सहुलियतको व्यवस्था ल्याउनुपर्यो ।’ उनले भने–‘हामीले अर्थमन्त्री कृष्णबहादुर महरालाई समेत यो बिषयमा विशेष आग्रह गर्नेवाला छौ ।’ 

अध्यक्ष श्रेष्ठले राजश्वमा २० प्रतिशत भन्दा बढी योगदान गर्ने, बिमा व्यापारमा ४५ प्रतिशतको हिस्सा ओगट्ने र १७ लाख बढीलाई रोजगारी दिए पनि अटोमोवाइल क्षेत्र उपेक्षित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।