काठमाण्डौ । सिन्धुु विकास बैंक लिमीटेड र काबेली विकास बैंक लिमीटेडले आगामी भदौ १८ गतेदेखि हकप्रदको बिक्री खुल्ला गर्ने भएका छन् । 

दुवै विकास बैंकले बिहीबार छुट्टाछुट्टै सूचना प्रकाशित गरी आगामी भदौ १८ गतेदेखि हकप्रद बिक्री खुल्ला गरिने जनाएका हुन् । 

सिन्धुु विकास बैंकले १० बराबर ८ तथा काबेली विकास बैंकले २ बराबर १ को अनुपातमा हकप्रद बिक्री खुल्ला गर्न लागेको हुन् । सिन्धुुले १ सय रुपैयाँ अंकित मूल्यका कुल २० लाख ९७ हजार ५ सय ४० कित्ता तथा काबेलीले  पनि १ सय रुपैयाँ अंकित मूल्यका कुल ३ लाख ५० हजार ८ सय ८० कित्ता सेयर आफ्ना सेयरधनीलाई बिक्री गर्न लागेका हुन् । 

भदौ १८ गतेदेखि बिक्री खुल्ला हुने सिन्धुु विकास बैंकको हकप्रदका लागि सेयरधनीले तोकिएको स्थानमा आगामी असोज २२ गतेसम्म र काबेलीका सेयरधनीले असोज २१ गतेसम्म आवेदन दिन पाउनेछन् । 

सिन्धुु विकास बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटलले गर्नेछ भने काबेलीको ग्लोबल आइएमई क्यापिटल लिमीटेडले गर्नेछ । 

हाल सिन्धुु विकास बैंकको चुक्तापूँजी २६ करोड २१ लख ९२ हजार रहेको छ । हकप्रद निश्कासनपछि चुक्तापूँजी ४७ करोड १९ लाख ४६ हजारको उचाईमा पुुग्नेछ । यो बैंकको अधिकृत पूँजी ७० करोड र जारी पूँजी ४७ करोड १९ लाख रुपैयाँ रहेको छ । 

यो बैंकको हकप्रद खरीद गर्न चाहने सेयरधनीले एनआइबिएल क्यापिटलको लाजिम्पाटस्थित मुख्य कार्यालय, सिन्धुु विकास बैंकको प्रधान तथा शाखा कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकका पोखरा, विराटनगर, वीरगञ्ज, नारायणगढ, बुटवल, नेपालगञ्ज र धनगढीबाट आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

उता, काबेली विकास बैंकको चुक्तापूँजी ७ करोड १ लाख मात्र छ । हकप्रदपछि पूँजी बढेर १० करोड ५२ लाख पुुग्नेछ । यो बैंकको अधिकृत पूँजी २५ करोड र जारी पूँजी १० करोड ५२ लाख रहेको छ । 

काबेलीको हकप्रद भर्न इच्छुक सेयरधनीले काठमाण्डौको नाचघरस्थित ग्लोबल आइएमई क्यापिट लिमीटेडको मुख्य कार्यालय, काबेली विकास बैंकको मुख्य तथा अन्य शाखा कार्यालयहरु, ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु : आदर्शनगर, वीरगञ्ज, फुलबारी बजार इटहरी, जनकपुर, नारायणघाट, पोखरा, नेपालगञ्ज र बुटवलबाट खरीदको आवेदन दिनसक्नेछन् ।