काठमाण्डौ । एनआइसी एशिया बैंकले आगामी भदौ २१ देखि सर्वसाधारणका लागि १ लाख ८३ हजार कित्ता ऋणपत्र निश्कासन गर्ने भएको छ । 

प्रतिकित्ता १ हजार रुपैयाँको दरले बैंकले ११ प्रतिशत एनआइसी एशिया ऋणपत्र २०८२ ८३ जारी गर्न लागेको हो । ऋणपत्रमा छिटोमा भदौ २५ गतेभित्र र ढिलोमा असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । 

निश्कासन हुने कुल कित्तामध्ये २० प्रतिशत सर्वसाधारणका लागि र बाँकी ८० प्रतिशत प्राइभेट इन्भेष्टमेन्ट कम्पनीहरुका लागि सुरक्षित गरिएको छ।

यसरी सर्वसाधारणका लागि ३६ करोड २० लाख र प्राइभटे इन्भेष्टमेन्ट कम्पनीका लागि १ अर्ब ४६ करोड रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक हुन लागेको हो । 

ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याज पाइनेछ । ऋणपत्रको ब्याज प्रत्येक ६ महिनामा भुक्तानी हुनेछ । ऋणपत्र ७ वर्षपछि परिपक्व हुनेछ ।

ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेड रहेको छ । 

इच्छुकले न्यूनतम २५ कित्ता ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् । अधिकतममा सबै कित्ता खरीदका लागि समेत आवेदन दिन पाइनेछ ।
यसअघि एनआइसी एशियाले ७.२५ प्रतिशतको एनआइसी एशिया डिवेञ्चर २०७७, ९ प्रतिशतको एनआइसी एशिया डिवेञ्चर २०८१ ८२ निश्कासन गरिसकेको छ । यो ऋणपत्रको निश्कासनपछि बैंकको कुल ऋणपत्रको आकार ५.३३ अर्बको हुनेछ । 

यो बैंकको ऋणपत्रलाई केयर रेटिङ्स नेपालले न्यून  कर्जा जोखिम जनाउने ‘केयर एनपी ए’ रेटिङ दिएको छ । यसको अर्थ ऋणपत्रमा लगानी गर्नु जोखिमपूर्ण छैन भन्ने हो । 

इच्छुकले ऋणपत्र खरीदका लागि बिक्री प्रबन्धक नवील इन्भेष्टमेन्ट बैंकिंगको नक्सालस्थित मुख्य कार्यालय, एनआइसी एशियाको मुख्य तथा सबै शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आस्वा सेवामा सहभागी बैंक तथा बित्तीय संस्था र तिनको शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ ।