-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का कारण आफ्नो करोडौं रुपैयाँको सम्पत्ति बन्धक बनेको र बेलैमा कारोबार राफसाफ नगरिदिंदा लाखौं घाटा व्यहोर्नुपरेको लगानीकर्ताले गुनासो गरेका छन् । 

गत भदौ २५ गते नेप्सेको कारोबार व्यवस्था प्रणाली (टीएमएस)मा प्राविधिक समस्या आउँदा दिउँसो २ः१५ अघि भएका सेयर कारोबारका विषयमा अर्को निर्णय नभइञ्जेलसम्म सेटलमेन्ट प्रक्रिया नै स्थगित गरेको सूचना जारी भएको थियो । उक्त दिन सेयर खरिद गरेका हजारौँ लगानीकर्ताहरुले ब्रोकरलाई रकमसमेत भुक्तानी गर्दा सेयर हात पारेका छैनन्।

संसारको जुनसुकै स्टक एक्सचेञ्जले धितोपत्र किनबेच गर्दा धितोपत्र हस्तान्तरणको ग्यारेन्टी प्रदान गर्ने सिद्धान्त छ । तर आज १२ दिन बित्दासमेत नेप्से र सीडीएससीले उक्त दिन भएको सेयर किनबेचको राफसाफ गरेको छैन ।

पीडित लगानीकर्तामध्ये एक मनोज थापाले भदौ २६ गते नै ब्रोकरलाई उक्त दिन किनेको सेयरबापतको रकम भुक्तानी गरेको बताए। ‘तर हालसम्म पनि सेयर डिम्याट खातामा आएको छैन’, थापाले बिजशालासँग भने, ‘आजका दिनसम्म १५ प्रतिशत सेयरमूल्य घटिसक्यो, अब के ५० प्रतिशत घटेपछि मात्र सेयर खातामा आउने हो ?’

अर्का पीडित लगानीकर्ता रमेश भण्डारीले पनि सोही दिन सेयर खरिद गरी ब्रोकरलाई भुक्तानी पनि गरे । ‘सेयर खातामा नआएकोमा हामी कहाँ बुझ्ने ?’, उनले मलिन स्वरमा गुनासो पोखे।

थापा र भण्डारी त प्रतिनिधि पात्र मात्र हुन् । यस्ता समस्या दिनानुदिन नेप्सेले लगानीकर्ताको टाउकोमा थोपर्ने काम गरिरहेको छ ।

यस विषयमा नेपाल धितोपत्र बोर्डले समेत कुनै चासो नदेखाई मूकदर्शक बन्ने परिपाटी र बजार सञ्चालकको एकाधिकारको छुटले खुलेआम सेयर बजारमा हजारौँ लगानीकर्ताका पैसामाथि नै खेलवाड भइरहेको छ । 

पछिल्लो समय नेप्से र स्टक ब्रोकर मिलेर राफसाफ मिति सार्ने र लगानीकर्तालाई टी प्लस थ्री चक्रानुसार सेयर हस्तान्तरण गरेको नजिरसमेत सबैसामु छर्लङ्गै छ ।

लगानीकर्ताले मानवीय वा प्राविधिक त्रुटि गरे नेप्सेलाई पेनाल्टी तिर्नुपर्ने, तर नेप्सेले गल्ती गर्दा भने लगानीकर्ताहरुले सहनु र पर्खनुबाहेक अन्य केही उपाय नरहेको बजारमा गुनासाहरु सुन्न थालिएका छन्।

भदौ २५ गतेको कारोबार राफसाफ किन ढिलाई भइरहेको हो ? कहिलेसम्म हुन्छ ? नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले राफसाफको व्यवस्था तत्काल गर्न नेप्सेबाट सिडिएसलाई पत्र पठाइसकिएको छ । सिडिएसले बुधबार(आज) साँझसम्ममा राफसाफ हुने जानकारी गराएको समेत उनले प्रष्ट्याए ।