काठमाण्डौ । लामो समयको बार्गेनिङपछि यातायात व्यवसायीले भनेअनुसार नै भाडा बढाउन र छतमा जथाभावी सामान राख्न दिने बिषयमा विभागीय मन्त्री लचक बनेपछि व्यवसायी आगामी भदौ २७ देखि दशैंका लागि टिकटको अग्रिम बुकिङ खुलाउन सहमत भएका छन् । 

सरकारले यसअघि भदौ २२ गतेदेखि नै दशैं टिकटको अग्रिम बुकिङ खुलाउने घोषणा गरे पनि यातायात व्यवसायीको अवरोधका कारण त्यो प्रक्रिया सुरु हुन सकेको थिएन । यातायात व्यवसायीले मन्त्रालयले नै सार्वजनिक गरेको वैज्ञानिक भाडादर समायोजनको प्रक्रिया सुरु नभएसम्म बुकिङ नखुलाउने अडान लिंदै सरकारलाई टेरेका थिएनन् । 

सरकारले अटेर व्यवसायीलाई कानूनी दायरामा ल्याउनुको साटो वार्ता गरेर उनीहरुले राखेका सबै खालका मागका अगाडि घूँडा टेक्ने संकेत दिएपछि शनिवार यातायातमन्त्री बीरबहादुर बलायरको संयोजनमा भएको वार्ताको क्रममा भदो २७ देखि बुकिङ खुलाउन व्यवसायी तयार भएका हुन् ।

व्यवसायीका अनुसार अब भदौ २७ देखि नयाँ बसपार्क, गौशाला, कोटेश्वर, कलंकी, बालाजुु लगायतका क्षेत्रबाट अग्रिम बुकिङको व्यवस्था हुनेछ । 

यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सरकार सर्वसाधारणलाई सुरक्षित र सहज ढंगले दशैंमा घरसम्म पुर्याउन प्रतिबद्ध रहेको बताए । उनले सरकारको यो अभियानमा व्यवसायीले समेत निस्वार्थ सहयोग गर्ने दाबी गरे । डा. पाण्डेका अनुसार प्रत्येक दशैंमा काठमाण्डौबाट २० देखि २५ लाखको संख्यामा सर्वसाधारण बाहिरिने गर्दछन् । 

हरेक दशैंमा व्यवसायीले अनेक खालका माग राखेर अग्रीम बुकिङ खुलाउने बेलामा बार्गेनिङ गर्ने गर्छन् र हरेक पटक सरकारले व्यवसायीका जायज नाजायज माग पूरा गरिदिने गर्छ । 

यसअघि यातायात व्यवस्था विभागले भदौ १९ गते सवारी साधनहरुको अनुुगमन गर्ने बिषयमा अञ्चल यातायात व्यवस्था कार्यालय तथा ट्राफिक प्रहरीलाई समेत परिपत्र गरेको थियो ।

सो क्रममा विभागले अनुुगमनको क्रममा सार्वजनिक यात्रुुबाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रुु राखेको, छतमा यात्रुु तथा व्यापारिक प्रयोजनका सामान राखेको, नेपाल सरकारले तोकेको भन्दा बढी भाडा लिएको पाइए त्यस्ता सवारीलाई कारबाही गर्न निर्देशन दिएको थियो । यी निर्देशनमध्ये छतमा सामान राख्ने र मूडामा यात्री राखेर लैजाने बिषयमा बाटोको खराब अवस्था देखाउँदै शनिवारको वार्तामा व्यवसायीले बार्गेनिङ गरेका थिए । यो बिषयमा समेत मन्त्री बलायरले ग्रीन सिग्नल दिएका एक व्यवसायीले दाबी गरे ।