काठमाण्डौ । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थल १० दिनका लागि बन्द हुने भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार एक विज्ञप्ति जारी गर्दै मर्मतका लागि सो विमानस्थल १० दिन बन्द गर्न लागिएको जानकारी दिएको हो । 

चन्द्रगढी विमानस्थल भोलि(कात्तिक २६ गते)देखि मंसिर ५ गतेसम्म बन्द हुनेछ । 

प्राधिकरणले १० करोड २० लाख लागतमा त्यहाँको धावनमार्गमा पिच थप्ने काम गर्नेछ । अन्य मर्मतको काम समेत सो अवधिमा चल्नेछ । 

प्राधिकरणका अनुसार लम्बाई १५ सय मीटर र चौडाई ३५ मिटर रहेको यो धावनमार्ग मर्मत संभारका लागि गौरी पार्वती कन्स्ट्रक्सनले ठेक्का पाएको छ । 

विभिन्न विमान कम्पनीहरुले चन्द्रगढी विमानस्थलमा दैनिक आधा दर्जन बढी उडान भर्दै आएका छन् । भद्रपुर विमानस्थल बन्द हुने भएपछि झापा जाने यात्रुहरुको सुविधालाई ध्यानमा राखी प्राधिकरणको सुझावमा विमान कम्पनीहरुले विराटनगरमा फ्लाइट फ्रिक्वेन्सी बढाउने बताइएको छ । यो दिनसम्म झापा जाने यात्रुहरुले विराटनगरसम्म हवाई यात्रा गरी त्यहाँबाट स्थलमार्ग हुँदै पुग्नुपर्ने बाध्यता हुनेछ ।