काठमाण्डौ । धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट तेस्रो कार्यदिन भित्र हुने भनिएतापनि लगानीकर्ताको डिम्याट खातामा भने जम्मा हुन एक साता लाग्दै आएको छ । 

पुतलीसडस्थित एक ब्रोकर कम्पनीमार्फत सेयर कारोबार गर्दै आइरहेका एक लगानीकर्ताले आफ्नो डिम्याट खातामा ब्रोकरले एक सातामा मात्रै सेयर ट्रान्सफर गरिदिएको र आफू मारमा परेको बिजशालासमक्ष गुनासो पोखे । 

टी प्लस थ्री भनिए पनि हामीजस्तो सोझा लगानीकर्तालाई ब्रोकरले उसकै इच्छाअनुसार मनलाग्दी समयमा पठाउने गर्छन् । उनले आक्रोशित मुद्रामा भने, तेस्रो दिनमा सेटलमेन्ट भइसकेपछि चौथो दिनमा सेयर बेच्न पाइएन र बढेको बजारबाट अवसर गुमाइरहनु परेको छ । 

आफूले सेयर खरिदअगावै २५ प्रतिशत रकम भुक्तानी गर्दै आइरहेको र बाँकी रकम दुई कार्यदिनभित्र ब्रोकरलाई बुझाएको ती लगानीकर्ताले दाबीसमेत गरे । 

यसैबीच अनामनगरस्थित एक ब्रोकर कम्पनीमार्फत सेयर खरिद गरेका अर्का लगानीकर्ताले पनि समयमै सेयर खरिदबापतको रकम भुक्तानी गर्दा पनि ब्रोकरले खातामा सेयर पठाउन एक हप्ताभन्दा बढी समय लगाउँदै आइरहेको जिकिर गरे । 

कारोबार राफसाफको चक्रअनुसार तेस्रो दिनमै सिडिएससीले ब्रोकरको पूल अकाउन्ट्मा सेयर पठाउँछ । सोही दिन वा अर्को दिन अर्थात् चौथो दिनमा मात्रै लगानीकर्ताको डिम्याटमा सेयर पठाइने ब्रोकरहरु बताउँछन् । 

फण्डको जिम्मेवारी (सेयर किनेको पैसा तिर्न बाँकी वा उधारो) छ भने ब्रोकरहरुले लगानीकर्ताको डिम्याट खातामा सेयर नपठाउन पनि सक्छ जुन ब्रोकरको अधिकार पनि हो । 

यता नेप्सेको अनलाइन प्रणालीमा भने हरेक दिन बेलुकी ७ः३० बजे सिडिएससीबाट उपलब्ध लगानीकर्ताको डिम्याट खाता अपडेट हुने वाइको प्रालिका सीइओ दीपेश प्रधान बताउँछन् । 

चौथो दिन लगानीकर्ताको खातामा ब्रोकरले सेयर पठाए पनि सोही दिन बेलुकी साढे सात बजे सिस्टममा अपडेट गरिने र त्यसको भोलिपल्ट  पाँचौं दिन मात्रै सेयर बेच्न योग्य हुने उनको भनाइ छ । 

यसरी सिडिएससीबाट तेस्रो दिनमै सेयर पठाइएको भए तापनि ब्रोकरले लगानीकर्ताको डिम्याट खातामा सेयर पठाउन ढिलासुस्ती गरिदिने भएकाले खातामा सेयर जम्मा भई सेयर बेच्न योग्य हुने भने करिब एकसाता नै कुर्नु परिरहेको लगानीकर्ताहरुको गुनासो छ । 

हाल नेप्सेको अनलाइन प्रणालीले पूर्ण अनलाइनको आधार तय गर्दै गर्दा सेयर खातामा आउन ढिला हुनु निकै दुखदायी भएको जानकार बताउँछन् । सेटलमेन्ट भइसकेपछि  रियल टाइममै सेयर खातामा जाने प्रणालीको विकास गर्न जानकार सुझाउँछन् ।