काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सार कारोबारमा ई–पेमेन्टबाट भुक्तानी गर्ने व्यवस्था लागू गर्न आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवस २०२० का आवसरमा नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष श्रेष्ठले यस्तो आग्रह गरेका हुन् । 

राजश्व सचिव शिशिर ढुंगानाको प्रमुख आतिथ्यतामा भएको कायृक्रममा अध्यक्ष श्रेष्ठले भन्सार दरबन्दी घटाउनुपर्ने र कारोबार मूल्यलाई नै मान्यता दिनुपर्ने डब्लूटीओको सिद्धान्त अनुशरण गर्नुपर्नेमा जोड दिए । भन्सार प्रशासनमा विगतको तुलनामा उल्लेखनीय सुधार भएको उल्लेख गर्दै उनले राजस्वको योगदान मूल्य अभिवृद्धि कर भएको र भन्सारले सहजीकरण गर्नुपर्ने बताए । आईसीपी/ड्राई पोर्ट स्थापना भएबाट व्यापार सहजीकरणमा योगदान पुग्ने उनले बताए । 

कार्यक्रममा राजस्व सचिव ढुंगानाले स्वच्छ र स्वस्थ्य व्यवसाय प्रवद्र्धन गर्नका लागि राजस्व विभाग र चेम्बरबीच समन्वय हुनुपर्ने बताए । उनले भने, ‘आर्थिक समृद्धि प्राप्त गर्न हामी एक भएर जानुपर्छ र व्यवसायीहरुको समस्याहरु उचित ढंगले सम्बोधन गर्न हामी सदैव तत्पर रहनुपर्छ ।’

कार्यक्रममा व्यावसायिक वर्गबाट उठेका जिज्ञासाका सन्दर्भमा भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सार प्रशासनलाई  पारदर्शी बनाउन आफूहरु कटिबद्ध रहेको बताए।