काठमाण्डौ । निकै रोमाञ्चक मोडमा रहेको भरतपुर महानगरपालिकाको उपमेयरमा कांग्रेसले बाजी मारेको छ । 

उपमेयरमा कांग्रेस माओवादी गठबन्धनकी उम्मेद्वार पार्वती शाहको जित सुनिश्चित भएको हो । उनले २ वटा वडाको मत गन्न बाँकी हुँदा ४४ हजार ७९ मत ल्याएकी छिन् । उनको निकटतम प्रतिदन्दी एमालेकी दिव्या शर्मा आचार्यले ३७ हजार ६ सय ८० मत ल्याएकी छिन् । यसरी हेर्दा दिव्याको भन्दा पार्वतीको मतअन्तर ६ हजार ३ सय ९९ रहेको छ । अब मतगणना गर्न बाँकी रहेका वडाहरु १९ र २० मा ६ हजार २ सय ५ मत खसेको छ । अबको मतगणनामा एमालेको तर्फबाट उपमेयरको उम्मेद्वारले सबै मत ल्याए पनि पार्वती शाह नै अगाडि हुनेछिन् । यसकारण समेत उनको जित सुनिश्चित भएको छ । 

कांग्रेसले उपमेयरमा जित हासिल गरेपछि मतगणनास्थल बाहिर अहिले कांग्रेस कार्यकर्ताहरु  विजय जुलुस मनाइरहेका स्थानीय सहकर्मीले बताएका छन् । 

उपमेयरमा कांग्रेस माओवादी गठबन्धनले बाजी मारे पनि मेयरमा भने एमाले उम्मेद्वार देवी ज्ञवालीकै अग्रता कायम छ । ज्ञवालीले हालसम्म ४० हजार ९ सय ८० मत ल्याएका छन् । उनलाई रेणुु दाहालले ४० हजार १ सय ९६ मतले पछ्याइरहेकी छिन् । 

अहिले भरतपुरको मतगणना स्थगित छ । मतपेटिकामा भएको सिल नम्बर र मुचुुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक भेटिएपछि मतगणना रोकिएको हो । यसबारे अहिले निर्वाचन कार्यालयको समन्वयमा सर्वदलीय बैठक बसिरहेको छ ।