काठमाण्डौ । भरतपुर महानगरपालिकाको ताजा मतपरिणाम अनुसार एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवाली पछाडि परेका छन् । उनलाई संकटको भूमरीमा धकेल्दै माओवादी कांग्रेस गठबन्धनकी मेयर उम्मेद्वार रेणुु दाहालले ५७ मतले अग्रता लिएकी छिन् । 

वडानम्बर २० को कुल ३३ सय मतमध्ये २ हजार मत गणना भइसक्दा रेणुुले देवीको भन्दा ५७ मतको अग्रता लिने सफलता पाएकी हुन् । 

हालसम्म दाहालले ४२ हजार ५ सय ८९ र ज्ञवालीले ४२ हजार ५ सय ३२ मत ल्याएका छन् । 

भरतपुर १९ को मतगणनाको क्रममा हार्ने अवस्था भएपछि माओवादी कार्यकर्ताले २ महिनाअघि मतपत्र च्यातेका थिए । त्यसपछि स्थगित भएको सो वडामा साउन २० गते पुनः मतदान भएको थियो । १९ नम्बर वडाबाटै देवीसँगको मतअन्तरलाई चमात्कारिक ढंगले घटाएकी रेणुुले २० नम्बर वडामा समेत सुरुवातदेखि नै अग्रता लिएकी छिन् । 

तर, १३ सय मत अझै गणना गर्न बाँकी रहेकोले यसै भन्न सकिने अवस्था नरहेको दुवै दलका नेताहरुले बताएका छन् । दुवै उम्मेद्वारले अझै पनि आफैले चुनाव जित्ने दाबी गरिरहेका छन् । 

चुनावको थोरै मतको अन्तरले हारजित हुने अवस्थामा शान्तिसुव्यवस्थामाथि खलल पुुग्ने गतिविधि हुनसक्ने आशंकामा मतगणना भइरहेको कभर्ड हल र आसपासको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।