चितवन । पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा विकास भएका धेरैजसो खेल समावेश गरेर ‘जेम्स वल्ड फनपार्क’ सञ्चालनको तयारी गरिएको छ । 

भरतपुर महानगरपालिका वडा नं ४ अद्धैत चोकमा रु २५ करोडको लागतमा १०० भन्दाबढी खेल समावेश गरेर यही वैशाखबाट फनपार्क सञ्चालनमा ल्याउन लागिएको हो । 

जेएम इन्टरटेन्टमेन्ट प्रालीले चीन, भारत र ताइवानबाट खेलका सामग्री ल्याएर फनपार्क सञ्चालन गर्न लागेको हो । सो प्रालीका अध्यक्ष महेश तिवारीका अनुसार बच्चाको खेल, सुक्खा खेल, पानीको खेल र जुरासिक पार्क गरी चार थरी खेल खेल्न सकिनेछ । बच्चाका लागि संसारमा भएका उत्कृष्ट नयाँखालका खेल समावेश गरिएको उहाँले दाबी गर्नुभयो । 

बच्चाका लागि विभिन्न जनावरसँग रमाउने खेलका साथै उक्लने, ओर्लने, उफ्रनेजस्ता खेल पार्कमा छन् । स्टरराइड, चट्टान र पहरा आरोहण, चिप्लेटी, स्प्रिङराइडजस्ता खेल समावेश गरिएको उहाँले बताउनुभयो । सुक्खा खेलमा ‘पम्पर कार’, ‘स्पिड रेसिङ कार’, ‘फ्लाइङ चियर’, ‘मन्स्टार राइड’, ट्रेनराइडजस्ता खेल राखिएका छन् । पानीमा खेल्ने खेलमा विविध खेल समावेश भएको बेग्लै केन्द्र छुट्याइएको छ जसमा तीनदेखि १५ वर्षसम्मका बच्चाले सबै प्रकारको मनोरञ्जन लिनसक्ने तिवारीले बताउनुभयो । 

ठूला मानिसका लागि लामा लामा सुरुङभित्र पानीमा खेल्नका लागि विभिन्न खेल समावेश गरिएका छन् । ठूला मानिस र बच्चाका लागि दुई पौडी पोखरी रहेका छन् । तिवारीले ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्सपछिको सबैभन्दा ठूलो पौडी पोखरी बनाएको दाबी गर्नुभयो जहाँ विभिन्न प्रतिस्प्रर्धाहरु समेत गराउन सकिने उहाँको भनाइ थियो । जुरासिक पार्कमा डाइनोसरका विभिन्न प्रजातिसँगै यसको विकासक्रमलाई हेर्न र खेल्न सकिने बनाइएको छ । 

फनपार्क हेर्दै आउनुभएका प्रबन्ध निर्देशक ईश्वर सापकोटाले शैक्षिक ज्ञानका लागि जुरासिक पार्क निर्माण गरिएको बताउनुभयो । पाठ्यक्रममा पढेका विषयलाई प्रत्यक्षरुपमा विद्यार्थीले हेर्नसक्ने उहाँले बताउनुभयो । एउटा खेल चारदेखि पाँच मिनेट खेल्दा सबै खेल खेल्न सात घण्टा ३० मिनेट लाग्ने उहाँले जानकारी दिनुभयो । 

रु २०० देखि ७५० सम्मको टिकटमा खेल खेलाइने जनाइएको छ । करीब तीन बिघा जग्गा भाडामा लिएर भेटघाट रेस्टुराँ समूहको ५१ प्रतिशत शेयर लगानीमा फनपार्क निर्माण गरिएको हो । हाल सो फनपार्कमा ६९ जना शेयर धनी रहेका छन् । विसंं २०४४ मा नेपालमा पहिलोपटक चितवनमा मासुको परिकार तास व्यवसाय शुरु गरेको जनाउनुभएका गोविन्द तिवारीको हाल काठमाडौँको अनामनगरमा पनि तास पसल सञ्चालनमा रहेको छ । उहाँका छोरा महेशले स्टमित्र समावेश गरी यो व्यवसाय शुरु गर्नुभएको हो । एकपटकमा पाँच हजार जनाले खेल खेल्न, हेर्न र त्यहाँ बसेर खाना खानसक्ने सापकोटाले बताउनुभयो । 

फनपार्क विसं २०७४ मङ्सिर १३ गतेदेखि निर्माण शुरु गरिएको थियो । फनपार्कमा ६५ जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् । कम्पनीका अध्यक्ष महेश तिवारीले फनपार्क निर्माणका लागि छ महीना भारत र छ महीना चीन बसेर अध्ययन गरेको बताउनुभयो । 

भेटघाट रेस्टुराँका सञ्चालक गोविन्द तिवारीले फनपार्कभित्र खेल्न आउनेका लागि भेटघाटकोसँगै सबै खालका परिकारको स्वाद लिनसक्ने व्यवस्था गरिएको बताउनुभयो । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा आउने स्वदेशी र विदेशी पर्यटकको बसार्इं लम्ब्याउनका लागि फनपार्क उपयोगी हुने तिवारीले बताउनुभयो ।