काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणना रोचक बन्दै गएको छ । ३८ सय मतअन्तरले अगाडि रहेका एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीको अग्रता ११ सयमा खुम्चिएपछि उत्साहित भएका माओवादी कार्यकर्ता पुनः ज्ञवालीको मतअन्तर बढ्न थालेपछि निराश देखिएका छन् । 

पछिल्लो मतपरिणाम अनुसार देवी ज्ञवालीले ११ सयमा झरिसकेको मतअन्तरलाई बढाएर अहिले १६ सय २७ बनाइसकेका छन् । माओवादी र कांग्रेसको पकड क्षेत्र भनिएका वडाहरुबाटै रेणुु दाहाललाई मत नआएपछि यसले माओवादी वृतमा भने निराशा पैदा गरेको स्थानीय पत्रकारहरुले बताएका छन् । एमालेमा भने माओवादी र कांग्रेस पकड क्षेत्रबाटै आफ्ना मेयरका उम्मेद्वारलाई बढी मत आएपछि जितिने भन्दै उत्साहित भइरहेका छन् । 

भरतपुर महानगरपालिकाको वडानम्बर १६ को मतगणना अहिले जारी छ । यो वडामा कांग्रेसका उम्मेद्वार वडाअध्यक्षमा अगाडि भए पनि देवीलाई रेणुुको भन्दा बढी मत आएको छ । यो वडामा रेणुुलाई कांग्रेसबाट राम्रै अन्तरघात भएको देखिएको छ । 

यो वडाको हालसम्म गनिएको मतसहित देवी ज्ञवाली ३४ हजार ७ सय ६८ मतसहित अगाडि छन् । उनलाई दाहालले ३३ हजार १ सय ४१ मतले पछ्याइरहेकी छिन् । 

उपमेयरमा भने कांग्रेस उम्मेद्वार पार्वती शाहको अग्रता छ । उनले ३६ हजार ७ सय ९९ मत ल्याएकी छिन् भने एमालेकी दिव्या आचार्यले ३१ हजार ५ सय ४ मत ल्याएकी छिन् । यहाँका अब ९ वटा वडाको मतगणना बाँकी छ । कुल मतदाता १ लाख ५२ हजार रहेको भरतपुरमा १ लाख १२ हजारले मतदान गरेका निर्वाचन कार्यालयले जनाएको छ ।