काठमाण्डौ । बहुुचर्चित भरतपुर महानगरपालिका वडानम्बर १९ मा आगामी साउन २० गते पुनः मतदान हुने भएको छ । 

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मंगलबार त्यहाँका प्रमुख दलहरुसँग छलफल गरी आगामी साउन २० गतेलाई निर्वाचनको मिति तोकेका हुन् । छलफलमा सहभागी एमालेले साउन २१ गते मतदानको मिति तोक्नुपर्ने बताए पनि कांग्रेस र माओवादीले भने २० गतेमै जोड दिएपछि न्यौपानेले त्यही समय तोकेका हुन् । 

साउन २० गते हुने पुनः निर्वाचनका लागि आज(मंगलबार)देखि नै मौन अवधि सुरु भएको न्यौपानेले जानकारी दिए । उनका अनुसार मौनअवधिभरि प्रचारप्रसार गर्न पाइने छैन । 

स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तरगत मतगणना अन्तिम समयमा पुुगेको बेला भरतपुर १९ को मतगणना भइरहँदा माओवादी कार्यकर्ताले ९० मतपत्र च्यातेका थिए । सोही बिषयलाई लिएर निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतलाई पुनः निर्वाचनको मिति तोक्न निर्देशन दिएको थियो । सो निर्देशनविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि यो बिषय २ महिना बढी लम्बिएको थियो  सर्वोच्चले निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतलाई दिएको निर्देशनलाई सदर गर्ने फैसला सुनाएपछि सो वडामा पुनः निर्वाचन गर्ने बाटो खुलेको हो । 

भरतपुर महानगरपालिकामा एमालेको तर्फबाट देवी ज्ञवाली मेयरमा उठेका छन् भने कांग्रेसको समर्थनमा माओवादी केन्द्रको तर्फबाट रेणुु दाहाल मेयरमा उठेकी छिन् । रेणुु माओवादी अध्यक्ष प्रचण्डकी पुत्री हुन् । वडानम्बर १९ को मतपत्र च्यात्नुुअघिसम्म एमालेका ज्ञवाली माओवादीकी दाहालभन्दा करिब ९ सय मतले अगाडि थिए । वडानम्बर २० को मत भने गन्न बाँकी नै छ ।