काठमाण्डौ । भरतपुर महानगरपालिकाको मतपरिणाम आम चासोको बिषय बनेको छ । 

वडानम्बर १९ को मतपत्र माओवादी कार्यकर्ताले च्यातेर २ महिना लामो अन्यौलपछि साउन २० गते भएको पुनः मतदानपछि सो वडाको मतगणना समेत सम्पन्न भइसकेको छ । सो वडाको मत गन्दा करिब ८ को हाराहारीमा रहेको मतान्तरलाई माओवादी कांग्रेस गठबन्धनको तर्फबाट मेयरको उम्मेद्वार रेणुु दाहालले घटाएर २२१ मा सीमित गरिदिएकी छिन् । यो क्रममा एउटा अनौठो तथ्य समेत फेला परेको छ । त्यो हो, सो वडामा एमालेका वडाअध्यक्षको उम्मेद्वारले भन्दा मेयरका उम्मेद्वार देवी ज्ञवालीको कम मत  ल्याउनुु । 

भरतपुर १९ मा एमालेको तर्फबाट वडाध्यक्षका उम्मेद्वार प्रकाश तामाङले १०९७ मत पाएका छन् । जब कि त्यही वडामा देवी ज्ञवालीलाई भने ९६६ मत मात्र पाएका छन् । यसरी वडानम्बर १९ का १३१ कार्यकर्तालाई देवीले जोगाउन सकेनन् अर्थात माओवादी कांग्रेस गठबन्धनले आकर्षण गर्न सक्यो । आफ्नै १३१ कार्यकर्ताले अन्तरघात गरेकै कारण देवीले हारे भने अब अचम्म नमान्दा हुन्छ। 

आखिर १३१ एमाले कार्यकर्ताले किन दिएनन् त देवी ज्ञवालीलाई मत ? एमालेका एक स्थानीय नेताले २ महिनाको अवधिमा निकै ठूला चलखेल भएको र सत्तापक्षले पैसाको खोलो बगाएको दाबी गरे । ‘हाम्रै कार्यकर्ताहरुलाई समेत लाखौ दिएर किन्ने काम भयो ।’ एमालेको चितवन जिल्ला कमिटीको एक पदाधिकारीले भने–‘पैसामा बिकेर पार्टीलाई धोका दिने अन्तरघातीमध्ये धेरैको पहिचान भइसकेको छ, संकटको बेला पैसामा र लालचमा बिकेर पार्टीलाई डूूबाउनेहरुलाई हामी छाड्दैनौ ।’ उनले जिल्लाकै केही नेताले समेत २ महिनाको अवधिमा मोटो रकम हात पारी देवीविरोधी अभियानलाई भित्रभित्रै साथ दिएका दाबी समेत गरे ।  

त्यसो त वडानम्बर १९ को मतगणना स्थगित भई अन्यौलको वातावरण बनेको २ महिनाको अवधिमा माओवादीकी मेयर उम्मेद्वार रेणुु दाहालले देवी ज्ञवालीको मत घटाउन निकै ठूलो कसरत गरेकी थिइन् । वडानम्बर १९ का हरेक मतदाताको उनी धेरैपटक घर–घरमा पुुगेर पारिवारिक माहौल बनाउने कोशिश गरेकी थिइन् । स्थानीय स्तरमा विकासको निकै राम्रो सपना समेत बाँड्न उनी सफल भइन् । त्यति मात्र होइन, एमालेकै लोभी कार्यकर्ताहरुलाई विभिन्न प्रलोभनमा पार्नेदेखि लिएर देवी ज्ञवालीविरुद्ध प्रचारबाजीलाई समेत रणनीतिक ढंगले अगाडि बढाइएको थियो । देवी ज्ञवालीले जितेर एमाले कार्यकर्ताको समेत हित नहुने, उनी पछिल्लो समय एनजीओको डलरमा बिक्ने गरेका, बरु रेणुुलाई जिताए भनेजस्तो विकास हुने, जनतालाई सुविधा हुनेजस्ता आश्वासन बाँडिएको थियो । त्यति मात्र होइन, उपमेयरमा कांग्रेस जित्दा मेयरमा एमालेले जित्यो भने भनेजस्तो विकास हुननसक्ने भन्ने कुरालाई भाइरल बनाइएको थियो भने अर्कोतर्फ कांग्रेस नेताहरुले आफ्ना कार्यकर्तालाई पार्टीकै प्रतिष्ठाको बिषय भएको भन्दै यसपटक खुट्टा नधरमराउन कसम ख्वाएका थिए ।

यसरी २ महिनाको अवधिमा रेणुु दाहाल(माओवादी केन्द्र) र कांग्रेसले अनेक हत्कण्डा अपनाएर वडानम्बर १९ का मतदाता आफ्नो पक्षमा पार्नतिर लागिन् भने देवीको नचाहिने आत्मविश्वासले उनी आफैंलाई खाएको स्थानीय एक विश्लेषकको दाबी छ । संचारकर्मी समेत रहेका ती विश्लेषकले भने–‘परिणाम कस्तो आउँछ, अझै पनि ठ्याक्कै भन्न सकिने अवस्था छैन, तर २ महिनाको अवधिमा भरतपुर १९ मै डेरा जमाएर रेणुु दाहाल जसरी बसिन् र घर घर पुुगिन्, तर देवी ज्ञवालीले यस्तो बिषयमा ध्यान दिएनन् । म जितिहाल्छुु नि, मलाई सहानुुभूति मत आउँछ भन्दै मक्ख परेका र अति आत्मविश्वास राखे, यदि देवी डूूबे भने यसमा सबैभन्दा ठूलो दोष उनीभित्रका कैयन भ्रमहरुकै हुनेछ ।’