चितवन । लामो समयदेखि सरसफाई नगरेजस्तो देखिने औधी दुर्गन्धित वातावरण । प्रदूषणले नाक थुनेर शौच गर्नुपर्ने अवस्था । उस्तैले त दृश्य देखेलगत्तै बान्ता गर्न बेर लगाउदैन । मानिसहरुको आवतजावत नहुने कुनै पिछडिएको ठाउँ जस्तो लाग्ने यो दृश्य मुलुकमै बढी चहलपहल हुने विमानस्थलको शौचालयको हो भन्दा धेरैलाई पत्यार नलाग्ला । तर, यो यथार्थ हो । 

देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक चितवनको सौराहा जान मरिहत्ते गर्ने स्वदेशी र विदेशी पर्यटक भरतपुरस्थित विमानस्थल उत्रिएलगत्तै यस्तै दृश्य र अवस्थाको सामना गर्नुुपर्ने बाध्यता छ ।

काठमाण्डौबाट भरतपुर हुँदै सौराहा जान चाहने पर्यटकहरुले विमानबाट झरेलगत्तै दुर्गन्धित शौचालयको सामना गर्नुपर्छ । शौचालय यति धेरै फोहोर र दुुर्गन्धित छ कि उस्तै व्यक्तिले त्यहाँ शौच गर्नलाई समेत सक्दैन ।

सरसफाईको कतै छनक देखिदैन । दिसापिसाब पखाल्ने त परैको कुरा, शौचालयको ढोकाबाहिरदेखि नै अवस्था हेरिनसक्नुु र गइनसक्नुु छ । प्यानमा बाहिरी फोहोर भरिएर समेत उस्तै दुुर्दशा देखिन्छ । शौचालय नघोटेर अझ विरक्तलाग्दो अवस्था देखिन्छ । ट्वाइलेट अगाडिको बेसिनको अवस्था समेत उस्तै दुुर्गन्धित छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुुवन अन्तर्राष्ट्रिय बिमानस्थलको सरसफाईमा मात्र बढी ध्यान दिंदा देशका अन्य विमानस्थलमा सरसफाईको अवस्था दयनीय देखिएको हो । प्राधिकरण र मातहतका निकायले देशका अन्य क्षेत्रका विमानस्थल र वरपरको क्षेत्रमा सरसफाईमा ध्यान नदिंदा त्यसले वातावरण दुुर्गन्धित मात्र बनाएको छैन, भरतपुरजस्तो विमानस्थल हुँदै विभिन्न पर्यटकीय क्षेत्र घुम्न जाने विदेशी पर्यटकहरुमा देशको दयनीय तस्विर सञ्चार हुने अवस्था देखिएको छ । 

‘भरतपुरजस्तो विमानस्थलको शौचालयको यो दुुर्दशाले विदेशी पर्यटकको नजरमा नेपालको गलत तस्विर क्लिक हुन्छ ।’ भरतपुर विमानस्थलमा भेटिएका एक यात्रीले भने–‘पर्यटकहरुको यति धेरै आवतजावत हुने विमानस्थलको सरसफाईको अवस्था यति धेरै दयनीय छ भने बाँकी क्षेत्रको अवस्था के होला ?’