काठमाण्डौ । नेपालस्थित फर्चुना इन्भेष्टमेन्ट प्रालि र चीनको ग्वीझाउ मेरिटाइन्म्स सिल्करोड इन्टरनेशनल इन्भेष्टमेन्ट कर्पोरेशनबीच एक लगानी समझदारी भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणदलमा रहेका नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले चीनको इन्भेष्टमेन्ट कम्पनी ग्वीझाउमार्फत नेपालमा लगानी भित्र्याउन चीनको बेइजिङस्थित नेपाली दूताबासमा उक्त समझदारी गरेकी हुन् । 

समझदारीअनुसार राणाको कम्पनी फर्चुनाले चीनको ग्वीझाउबाट ४६ मिलियन डलर अर्थात करिब पौने ५ अर्ब रुपैयाँ नेपालमा वैदेशिक लगानी भित्र्याउनेछ । 

सो सम्झौतामा फर्चुनाका अध्यक्ष राणा र चिनियाँ कम्पनी ग्वीझाउका प्रमुख कार्यकारी अधिकृत (सीईओ) झाङ झाउले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सो लगानी नेपालको कृषि, पर्यटन, पूर्वाधार र वैदेशिक व्यापारमा गरिने फर्चुना इन्भेष्टमेन्ट प्रालिका निर्देशक प्रवलजंग पाण्डेले जानकारी दिए । 

विशेषगरी उच्च पहाडी भू–भागमा कृषिजन्य वस्तुको उपलब्धता, आधुनिकिकरण एवं यान्त्रिकरण गरी कृषिजन्य वस्तुको उत्पादन र प्रोसेसिङमार्फत गुणस्तरीय कृषिजन्य वस्तुको चीनतर्फ निर्यातमा सो लगानी भित्र्याइन लागिएको बताइएको छ । 
यसैगरी पूर्वाधार अन्तर्गत ट्रान्समिसनलाईन विस्तार, सोलार पावर, स्मार्टसिटी र हाइवे क्षेत्रको विकास र विस्तार जस्ता क्षेत्रमा लगानी गरिनेछ । सम्झौता अनुरुप पर्यटन क्षेत्रको विकास र विस्तारसँगै होटल तथा रिसोर्ट संचालनका लागि पनि सो लगानी प्रयोगमा ल्याइने निर्देशक पाण्डेले जानकारी दिएका छन् ।