काठमाण्डौ । मतगणना सम्पन्न भएकामध्ये १२६ स्थानमा जित हासिल गर्दै अग्रस्थानमा रहेको एमालेलाई भाग्यले समेत साथ दिएको छ । समान मत ल्याएको अवस्थामा गोलप्रथाबाट समेत यही पार्टीको उम्मेद्वारले जित हासिल गरेका छन् । 

प्रसंग हो झापाको । यो जिल्लाको कमल गाउँपालिकामा एमाले उम्मेद्वार मेनुुका काफ्ले गोलप्रथाबाट अध्यक्षमा निर्वाचित भइन् । उनले र कांग्रेसका हुकुमसिंह राईले समान ८ हजार २ सय ७५ मत ल्याएका थिए । समान मत आएपछि निर्वाचन आयोगको परामर्शमा जिल्ला निर्वाचन कार्यालयले गोलाप्रथा गरेको थियो । जसमा एमालेकी काफ्लेको भाग्य चम्कियो । 

यो क्षेत्रमा एमालेकै कार्यकर्ताहरुले अन्तरघात गरेका थिए । तर त्यसको बाबजुुद गोलाप्रथाबाट समेत काफ्लेले नै जित हासिल गरेकी हुन् । 

उपाध्यक्षमा एमालेका वेणुुराज शिवाकोटी निर्वाचित भए । झापाका १५ स्थानीय तहमध्ये पाँच स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेकपा एमालेले दुई, राप्रपाले दुई र नेपाली कांग्रेसले एक तहमा जित हासिल गरेका छन् ।