काठमाण्डौ । भारतको सरकारी क्षेत्रको सबैभन्दा ठूलो बैंक एसबीआईले आफ्ना १७ करोड डेबिट कार्ड  प्रयोगकर्ताहरुलाई ह्याकर्सबाट बच्न एक चेतावनी जारी गरेको छ । एसबीआईले आफ्ना डेबिट कार्ड होल्डरहरुलाई कसैसँग पनि आफ्नो आमाको थर नबताउन सचेत गराएको छ । यसको कारण, जब  तपाईले आफ्नो डेबिट कार्डको पासवर्ड रिसेट गर्नुहुन्छ, त्यसबेला सेक्युरिटी प्रश्नमा तपाईको आमाको थर वा आफूलाई अरुले बोलाउने नाम लगायतको बिषय सोध्ने गरिन्छ । यसकारण आफ्नो यो नाम कोहीसँग पनि सेयर गर्न नहुने बैंकले जनाएको छ । यस्तो गर्नु तपाईका लागि खतरनाक हुन्छ र यस्तै माध्यमबाट ह्याकरहरुले तपाईको बैंक खातामा आक्रमण गर्न सक्छन् ।

मजबुत पासवर्ड
एसबीआईको रिस्क, आइटी विभागका प्रबन्ध निर्देशक दिनेश खारालाई उद्धृत गर्दै एजेन्सीहरुले जनाए अनुसार यदि तपाई इन्टरनेट बैकिङ गर्नुहुन्छ भने त्यसको यूजर आइडी तथा पासवर्ड गोप्य राख्नुहोस् । सधैं बलियो पासवर्ड राख्ने गर्नुहोस् । अक्सर मानिसहरु निकै सरल पासवर्ड छनौट गर्छन् र त्यस्ता पासवर्ड सम्झन सजिलो हुन्छ भन्ने ठान्छन् । तर, यस्ता पासवर्डकै कारण तपाईको बैंक अकाउण्ट ह्याक हुने अधिक संभावना हुन्छ । किनभने सरल र सहज पासवर्ड साइबर क्राइम गर्नेहरुले सजिलै पत्ता लगाउन सक्छन् । यसबाहेक यो पनि जरुरी हुन्छ कि समय समयमा  तपाईले आफ्नो पासवर्ड परिवर्तन गर्नुपर्छ ।

आइटीको सुरक्षित प्रयोग
जब हामी सडकमा ड्राइभ गरिरहेका छौ वा  पैदल हिँडिरहेका छौ भने हामीले सडक सुरक्षाको बिषयमा ध्यान दिनुपर्ने हुन्छ अर्थात सुरक्षित भएर हिँड्नुपर्छ । ठीक यस्तै हिसाबले जब हामी कम्प्युटर तथा सूचना प्रविधिको प्रयोग गरिरहन्छौ भने आइटीको सुरक्षित प्रयोग हाम्रो जीवनका लागि अभिन्न अंग बन्नु पर्छ । यस हिसाबले हामीले साइबर क्राइमको खतराबाट आफूलाई सुरक्षित राख्न सक्छौ । 

१७ हजार करोड स्वाहा
आर्थिक वर्ष २०१६ १७ मा भारतका बैंकहरुले यस्तै साइबर फ्रडका कारण करिब १७ हजार करोड रुपैयाँ गुमाएका डरलाग्दो तथ्याङ्क समेत यहीबेला सार्वजनिक भएको छ । भारतका केन्द्रीय बित्त राज्यमन्त्री 
शिवप्रताप शुक्लाले हालै लोकसभामा यो जानकारी दिएका त्यहाँका संचारमाध्यमले जनाएका छन् । बित्त मन्त्रालयले भारतको रिजर्ब बैंकको फ्रड मनिटरिङ कमिटीको प्रतिवेदनका आधारमा यस्तो जानकारी दिएको बताइएको छ । 

नेपाल झनै असुरक्षित
नेपालमा समेत  बिस्तारै डिजिटल कारोबारले मलजल पाइरहेको छ । मानिसहरु कार्डको आधारमा किनमेल गर्न, होटल तथा रेष्टुरामा बिल तिर्न बिस्तारै अभ्यस्त भइरहेका छन् । तर, ठीक यही बेला अन्तराष्ट्रिय क्षेत्रका ह्याकरहरुको आँखा नेपालमा समेत परिरहेको छ, जसको प्रमाण विभिन्न समयमा एटीएम कार्ड ह्याक गरी रकम चोर्ने विदेशी गिरोहहरुलाई प्रहरीले पक्राउ गरेको घटनाले पुष्टि गर्छ । यसकारण नेपाली कार्ड प्रयोगकर्ता समेत निकै सचेत हुन आवश्यक छ । सूचना प्रविधिमा हामी भन्दा धेरै अगाडि बढिसकेको भारतमा समेत ह्याकरहरुले एकवर्षमा १७ हजार करोड उडाउन सक्छन् भने नेपालका बैंकहरुले उपलब्ध गराएको डिजिटल कारोबार प्रणाली कति असुरक्षित होला सहजै अनुमान गर्न सकिन्छ । त्यसकारण यस्तो अवस्थामा अरुलाई दोष दिनुभन्दा डेबिट क्रेडिट कार्ड प्रयोगकर्ता आफैं सचेत हुन आवश्यक छ ।