काठमाण्डौ । सोमबार भारतका सेयर लगानीकर्ताहरुको सम्पत्ति एकैदिन २.८१ लाख करोड रुपैयाँले बढ्यो । किनभने त्यहाँको सेयर बजारमा उछाल आई सोमबार बजार परिसूचकहरुले ऐतिहासिक बिन्दू चुमे । 

बम्बे स्टक एक्सचेञ्ज(बिएसई)का ३१ सेयरवाला सेन्सेक्स ५५३ अंकको बढोत्तरीसँगै ४०००० को उचाईमा पुग्यो । सेन्सेक्स ५५३.४२ अंकले उछालको गतिमा बढी ४०२६७.६२ को सर्वाधिक उच्चतम विन्दूमा पुग्यो। 

कारोबारको अवधिमा एउटा समय सेन्सेक्स ४०३०८.९० को उच्चतम विन्दूमा पुगे पनि बजार बन्द हुँदा केही घटेर ४०२६७.६२ को विन्दूमा आएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 

नेशनल स्टक एक्सचेञ्जको कारोबार मापक निफ्टीमा पनि १.३९ प्रतिशत अर्थात १६५.७५ अंकले बढेर १२०८८.५५ को विन्दूमा पुगेर बन्द भयो । 

सेयर बजारमा उछाल आएसँगै बम्बई स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरुको बजार पूँजीकरण १ लाख ७६ हजार ४०२.३७ करोड भारुको बढोत्तरीसँगै १ करोड ५६ लाख १४ हजार ४१६.९२ करोड भारुको उचाईमा पुग्यो ।

यो दिन सेन्सेक्समा सूचिकृत ३० कम्पनीमध्ये २७ कम्पनीका लगानीकर्ताले सम्पत्ति बढाए ।