कम्पनीको भित्री सूचनाको आधारमा आफूलाई फाइदा पुग्ने गरी हुने कारोबारलाई ‘इन्साइडर ट्रेडिङ’ भनिन्छ । यस्ता सूचना आम जनता र सोझा लगानीकर्ताको पहुँचभन्दा टाढा हुने गर्दछन् । यदि कुनै व्यक्तिले कम्पनीको भित्री सूचनाका आधारमा सेयरको किनबेच गरी फाइदा लिन्छ भने त्यो गैरकानुनी ठहरिन्छ । इन्साइडर ट्रेडिङको मामीलामा बेलाबेला ठूला व्यक्तिको नाम पनि अगाडि आउने गर्छ । भारतका वारेन बफेटका नामले प्रख्यात अर्बपति लगानीकर्ता राकेश झुनझुनवाला इन्साइडर ट्रेडिङको यस्तै आरोपमा फसेका छन् । 

अहिले यो मामिलामा भारतको सेक्युरिटिज एण्ड एक्सेञ्जबोर्ड अफ इन्डिया(सेबी)ले छानबिन सुरु गरेको छ । सेबीले एप्टेक कम्पनीको सेयरसँग सम्बन्धित बिषयसँग जोडिएका मामिलामा टेकेर छानबिन सुरु गरेको छ । शिक्षासँग सम्बन्धित यो कम्पनी झुनझुनवाला र उनको परिवारको नाममा रहेको छ । 

कम्पनीमा उनको परिवारका सदस्यहरुको पनि सेयर रहेको छ । सेबीले झुनझुनवालासँगै उनका परिवारका अन्य सदस्यहरुको पनि छानबिन गरिरहेको जनाएको छ । यसका साथै कम्पनीका लगानीकर्ता रमेश एस दमानी तथा कम्पनीका डाइरेक्टर मधु जयाकुमारसहित अन्य केही बोर्डमा रहेका सदस्यहरुको भूमिकामाथि पनि छानबिन भइरहेको छ । इन्साइडर ट्रेडिङ भएको भनिए पनि कुन अवधिमा इन्साइडर ट्रेडिङसँग सम्बन्धित नियमको उल्लंघन भयो भनेर अझै पुष्टि भएको छैन् । सेबीले झुनझुनवाला र अन्यलाई यो मामिलामा जाँचबुझमा सक्दो सहयोग गर्न आह्वान गरेको छ । 

झुनझुनवालासँगै उनको पत्नी रेखा, भाई राजेश कुमार, सासुु सुुशिला देवी गुप्तालाई पनि २४ जनवरीमा सोधपुछका लागि सेबीले बोलाएको थियो । 

ब्लुमबर्गकाअनुसार भारतीय सेयर बजारका बादशाहको उपनामले परिचित झुनझुनवालाको पोर्टफोलियोको मूल्य करिब ११ हजार १ सय ४० करोड भारतीय रुपैयाँ रहेको छ । उनले सन् २००६ मा एप्टेकको सेयर ५६ रुपैयाँमा किनेका थिए । त्यसपछिका वर्षहरुमा कम्पनीमा उनको र उनको परिवारका सदस्यहरुको स्वामित्व बढेर ४९ प्रतिशत पुगेको छ । सोमबार एप्टेकको सेयर बम्बई स्टक एक्सेञ्जमा १७३ पुगेर बन्द भयो । यस हिसाबले झुनझुनवाला परिवारको सेयरको बजार मूल्य ६ सय ९० करोड भारु पुगेको छ । एप्टेक झुनझुनवालाको लगानी रहेको एक मात्रै कम्पनी हो, जहाँ उनको व्यवस्थापकीय नियन्त्रण रहेको छ । 

जानकारकाअनुसार नेपालका कम्पनीहरुमा पनि इन्साइडर ट्रेडिङ हुने गरेको छ । जसको मारमा आम लगानीकर्ता र सर्वसाधारण परिरहेका छन् ।

सेयर कारोबारको नियामक निकायको रुपमा रहेको नेप्सेले यो विषयलाई प्राथमिकतामा नराख्दा यसमा संलग्न व्यक्तिहरुको मनोबल झनै बढेको पाइएको छ । भारतमा इन्साइडर ट्रेडिङ गर्ने प्रख्यात लगानीकर्ता माथि कारवाही प्रक्रिया अगाडि बढिरहँदा नेपालका इन्साइडर ट्रेडरले भने उन्मुुक्ति पाइरहेका छन् । हालसालै मात्र प्रभू बैंक र एनसीसी बैंकबीचको मर्जरको विषयमा नेपालमा सेयर बादशाहको नामले परिचित निर्मल प्रधानले समेत यस्तै काम गरेका छन् । तर, उनीमाथि कारबाही त के स्पष्टीकरण सोध्न समेत यहाँको बजार नियामकले उपयुक्त ठानेको देखिन्न ।