काठमाण्डौ । नरेन्द्र  मोदी र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले सोमबार भारतको नोएडामा सामसङको नयाँ मोवाइल प्लान्टको उद्घाटन गरेका छन् । सो अवसरमा मोदीले भनेका छन् कि सामसङको सो युनिटको निर्माणपछि मोवाइल उत्पादनमा भारत विश्वकै दोश्रो ठूलो देशको रुपमा स्थापित हुनेछ । उनका अनुसार भारतीयले ४० करोड स्मार्टफोन र ३० करोड जनताले ब्रोडब्याण्ड प्रयोग गरिरहेका छन् । 

सामसङका अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाएअनुसार यो विश्वकै सबैभन्दा ठूलो मोवाइल उत्पादन प्लान्ट हो । कम्पनीका अनुसार मोवाइल उत्पादनको यो प्लान्टमा ५ हजार मानिसले प्रत्यक्ष रोजगारी पाउनेछन् । भारतमा सामसङले हाल ६ करोड ७० लाखको हाराहारीमा स्मार्टफोन बनाइरहेको छ, नोएडाको यो नयाँ प्लान्ट स्थापनापछि करिब १२ करोड मोवाइल फोन निर्माण हुने बताइएको छ । 

सामसङले ३५ एकड जमीनमा नोएडा सेक्टर ८१ मा आफ्नो उत्पादन प्लान्ट स्थापना गरेको छ । यो उद्योगसँगै हेलिप्याड पनि बनाइएको छ । यसअघि सामसङले सन् १९९६ र १९९७ मा मोवाइल युनिट खोलेको थियो । सन् २००५ मा भने मोवाइल उत्पादन युनिट खोलेको थियो । गत वर्ष मात्रै सामसङले ४९१५ करोड भारु बराबरको लगानी थपेको थियो ।

कम्पनीका अनुसार नयाँ प्लान्टका कारण थप ५ हजारले नोकरी पाउनेछन् । यस अलावा सामसङको तमिलनाडूमा समेत अर्को यूनिट रहेको छ । यस अलावा फाइभ आर एण्ड डी युनिट समेत रहेको छ । सामसङमा अहिले करिब ७० हजार कार्यरत छन् । सामसङको लगानी योजनालाई उत्तरप्रदेशको सरकारले हालसालै पास गरेको थियो ।

समाचारमा भनिएअनुसार सामसङले आफ्नो १० प्रतिशत उत्पादन भारतबाट गर्ने गरेको छ । तर, कम्पनी आगामी तीन वर्षभित्र यो आँकडालाई बढाएर ५० प्रतिशत पुर्याउन चाहन्छ । नयाँ प्लान्टका कारण सामसङलाई नेपाल लगायतका सार्क राष्ट्रहरुमा आफ्नो उत्पादन निर्यात गर्न सहज हुने समाचारमा उल्लेख छ ।