काठमाण्डौ । वर्तमान समयमा प्रविधिको विकास यस्तो गतिमा दौडिरहेको छ कि आज विकास भएको चिज भोलि पुरानो भइसक्छ । प्रविधिको नवीनतम विकासको गतिले आममानिसको दैनिक गतिविधिदेखि लिएर अन्य क्षेत्रलाई समेत प्रत्यक्ष रुपमा प्रभावित पारिरहेको हुन्छ ।

पछिल्लो समय प्रविधिको उच्चतम प्रयोगको प्रभाव बैंक तथा वित्तीय क्षेत्रमा व्यापक देखिएको छ । नेपालका बैंकहरुले अहिले प्रविधिको प्रयोगमा विशेष जोड दिइरहेका छन् । बैंकिङ कारोबारको सहजतादेखि लिएर ग्राहकको सुरक्षालाई मजबुत बनाउन नेपालका बैंकहरुले प्रविधिको उपयोगिता बढाएका छन् ।

प्रविधिको उपयोगितासँगै बैंकहरुलाई दक्ष जनशक्तिको अभावसमेत खड्किन थालेको छ । परम्परागत ढर्राबाट काम गर्ने कर्मचारीलाई नयाँ प्रविधिको ज्ञान नहुँदा जागिरबाटै पलायन हुनुपर्ने अवस्थासमेत सिर्जना भइरहेको छ ।

छिमेकी मुलुक भारतको प्रतिष्ठित एक्सिस बैंकले केही समययता यस्तै समस्या झेल्नु परिरहेको छ । पछिल्ला केही महिनादेखि एक्सिस बैंकका कर्मचारीमा जागिरबाट राजीनामा दिने लहर नै चलेको छ ।

हालसम्म बैंकका १५ हजार कर्मचारीले राजीनामा दिइसकेका छन् । राजीनामा दिने अधिकांश कर्मचारी ग्राहकसँग प्रत्यक्ष रुपमा जोडिने मध्य र तल्लो स्तरमा काम गर्नेहरु बढी छन् ।

नवीनतम प्रविधिको प्रयोगसँगै बैंकको उच्च वृद्धिको लक्ष्य आत्मसात गर्न नसक्दा ती कर्मचारीले राजीनामा दिनुपरेको हो । जसले गर्दा बैंकको बिना अवरोध सफलताको उचाइ छुने लक्ष्यमा समेत असर पुर्याउने देखिन्छ । 

पुराना कर्मचारीको राजीनामासँगै बैंकले पनि नयाँ कर्मचारीको नियुक्तिको गति बढाएको छ । बैंकले अपनाएको नवीनतम कार्यशैलीले केही पुराना कर्मचारीले आफ्नो अस्तित्व मेटिने भयले धमाधम राजीनामा दिइरहेको बैंककै एक उच्च अधिकारीले बताए । उनका अनुुसार बैंकको नयाँ वातावरण र संस्कृतिसँग घुलमिल हुन नसक्दा यो अवस्था सिर्जना भएको हो।

एक्सिस बैंकका अनुुसार यो बैंककै इतिहासमा यति थोरै अवधिमा यत्रो कर्मचारीले राजीनामा दिएको पहिलो घटना हो । तर बैंकले रिक्त पद परिपूर्ति गर्न गएको आर्थिक वर्षमा २८ हजार कर्मचारी भर्ना गरिसकेको छ । अबको पहिलो चौमासमा थप ४ हजार कर्मचारी भर्ना गर्ने तयारीमा बैंक रहेको छ ।

अबको दुई वर्षभित्र थप ३० हजार नयाँ कर्मचारी भर्ना गर्ने बैंकले जनाएको छ । हाल बैंकमा ७२ हजार कर्मचारी कार्यरत छन् ।

एक्सिस बैंकले सेवा विस्तार गर्न आक्रामक रणनीति लिएसँगै पुरातन कार्यशैली भएका कर्मचारी हतोत्साहित हुँदै बैंकबाट बाहिरिँदैछन् । बैंकले सेवा विस्तार गर्न र उच्च वृद्धिको लक्ष्य भेट्टाउन कृत्रिम बौद्धिकता र स्वचालित प्रविधिको प्रयोग बढाएको छ । जसले गर्दा अब भर्ना हुने नयाँ कर्मचारीहरु बैंकरभन्दा पनि इन्जिनिएर र प्राविधिकहरु बढी हुने बैंकले जनाएको छ ।