नयाँदिल्ली । भारत सरकारले अमेरिकाबाट आयात हुने २८ वटा उत्पादनमा आयात शुल्क बढाउने निर्णय गरेको छ । यो निर्णयसँगै भारतलाई वार्षिक लगभग २१.७ करोड अमेरिकी डलर अतिरिक्त आम्दानी हुनेछ । 

अमेरिकाले भारतलाई दिँदै आएको सहुलियत बन्द गरेपछि भारतले पनि अमेरिकाबाट आउने सामान आइतबारदेखि लागू हुने गरी आयात शुल्क बढाएको हो । केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) ले अमेरिकाबाट आउने बदाम, ओखर, दलहन (दालहरु) जस्ता महत्वपूर्ण खाद्यान्नमा आयात शुल्क बढाउने निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

यसअघि अमेरिकाबाट आउने खाद्यवस्तुको आयात शुल्क बढाउने सूचीमा २९ वटा वस्तु समावेश थिए । तर झिंगेमाछाको एक प्रजाति आर्टेमियालाई यो सूचीबाट हटाइएको सीबीआईसी स्रोतलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा बताइएको छ । 

अमेरिकाले भारतबाट आउने स्टिल तथा आल्मुनियमको केही विशेष उत्पादनहरुमाथि आयात शुल्क बढाएपछि बदलास्वरुप भारतले पनि ती खाद्यसामग्रीको आयात शुल्क बढाएको बुझिएको छ। आयात शुल्क बढाएसँगै भारतीय बजारमा यी खाद्यान्नको मूल्य बढ्ने निश्चित छ । जसको सीधा मार आमउपभोक्ताले व्यहोर्नुपर्ने देखिन्छ ।