काठमाण्डौ । भारतमा टेलिकम क्षेत्रको अर्को ठूलो डिल भएको छ । बिहीबार भारतको सबैभन्दा ठूलो मोवाइल संचालक कम्पनी एयरटेलले तिकोना डिजिटलको फोरजी विजिनेशलाई १६ सय करोड भारुमा खरीद गर्ने घोषणा गरेको छ । 

यो डिल ६० दिनमा पूरा हुने बताइएको छ । यो डिलसँगै भारतको १३ सर्कलमा एयरटेलको स्थिति विशेष ढंगले मजबुत हुने बताइएको छ । यसअघि भारतकै ठूला दुुई टेलिकम कम्पनी भोडाफोन र आइडियाले केही दिनअघि मर्जरको सम्झौता गरेका थिए । 

भारतीय एयरटेलले एक विज्ञप्ति जारी गर्दै तिकोना डिजिटल नेटवक्र्सको ५ सर्किलमा ब्राण्डबेण्ड वायरलेस एक्सेस तथा ३५० साइट्सहित फोरजी विजिनेश खरीदका लागि कम्पनीसँग सम्झौता गरेको स्पष्ट पारेको भारतीय मिडियाहरुले जनाएका छन् । यो सम्झौतालाई नियामक निकायले मञ्जुरी दिन समय लाग्नेछ । 

भारतीय एयरटेलका एमडी गोपाल विट्ठलले भनेका छन् कि एयरटेल लगातार रुपमा आफ्नो फोरजी क्षमता मजबुत बनाउन काम लगातार काम गरिरहेको छ । तिकोनाको फोरजी विजिनेश खरीदपछि कम्पनीलाई विशेष राहात हुने अपेक्षा गरिएको उनले बताएका छन् ।

तिकोनासँग गुजरात, पूर्वी युपी, पश्चिम यूपी, राजस्थान तथा हिमाञ्चल प्रदेश क्षेत्रमा २३ सय मेगाहर्ज ब्याण्डमा २० मेगाहट्र्जको स्पेक्ट्रम रहेको छ । यी क्षेत्रमा एयरटेलको सेवामा आमूल सुधार हुने अपेक्षा गरिएको छ ।