काठमाण्डौ । देशको आर्थिक वृद्धिदर लगातार घट्न थालेपछि अत्तालिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 

यो आपतकालीन बैठकमा उनले अमित शाह र अरुण जेट्लीलाई समेत तुरुन्त आउन आग्रह गरेका रिपोर्टमा उल्लेख गरिएको छ । 

सूत्रहरुलाई उद्धृत गर्दै मिडियाहरुले जनाए अनुसार अत्यासलाग्दो गरी घटेको आर्थिक दरलाई मध्यनजर गरी भारत सरकार केही अहम् घोषणा गर्ने तयारीमा जुटेको छ, तर त्यस्तो घोषणाको बिषयमा कुनै कुरा उल्लेख गरिएको छैन । 

विगत केही दिनदेखि भारतको घट्दो आर्थिक वृद्धिदरको बिषयलाई लिएर लगातार चर्चा भइरहेको छ । इकोनोमिक ग्रोथमा भइरहेको गिरावटको बिषयमा सर्वत्र आलोचना हुन थालेपछि बिहीबार मात्र प्रधानमन्त्री मोदीले ३ वर्षको आर्थिक वृद्धिदरको हिसाबकिताब प्रस्तुत गरेका थिए । यसअघि बित्तमन्त्री अरुण जेट्लीले नोटबन्दीदेखि जिएसटीसम्मको निर्णयलाई सही भन्दै मोदी सरकारको कदमको बचाउ गरेका थिए । 

समाचारमा उल्लेख गरिए अनुसार आर्थिक वर्ष २०१७/१८ को पहिलो त्रैमासमा भारतको कुल ग्राहस्थ उत्पादन ५.७ प्रतिशतमा आइसकेको छ । यो विन्दू पछिल्लो तीनवर्षको सबैभन्दा तल्लो विन्दू हो । साथै जीडीपीको गिरावट पछिल्लो समय लगातार जारी छ । एसबीआईको एक रिसर्चमा चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा भारतको जीडीपी ग्रोथ ६ प्रतिशतभन्दा तल झर्ने प्रक्षेपण गरिएको छ । रिजर्ब बैंक अफ इण्डिया(केन्द्रीय बैंक)ले समेत आर्थिक वर्ष २०१७/१८ को यसअघिको प्रक्षेपित वृद्धिदर ७.३ लाई घटाएर ६.७ मा झारिदिएको छ । 

अप्रीलदेखि जुन महिनासम्मको अवधिमा चालुु खाता बढेर जीडीपीको २.४ प्रतिशतको लेभलसम्म पुुगेको छ । यो भनेको करिब १४.३ अर्ब डलरसम्म पुुगेको हो । यसको मुख्य कारण निर्यातको तुलनामा आयातमा देखिएको अचाक्ली बढोत्तरी नै हो । 

एक रिपोर्टका अनुसार गत त्रैमासमा निजी लगानीतर्फ ६४ प्रतिशतको गिरावट आइसकेको छ । यो गत १५ वटा त्रैमासकै सबैभन्दा अत्यासलाग्दो अवस्था हो । यसको अर्थ निजी क्षेत्र नयाँ लगानी गर्न हिचकिचाइरहेको छ भन्ने हो । मोदी सरकारको ३ वर्षको कार्यकालमा ६० प्रतिशत नयाँ रोजगारीको अवसरमा कमी आएको छ । यस्तै, देश आर्थिक मन्दीको चपेटामा परिरहँदा पछिल्लो २ महिनामा विदेशी लगानीकर्ताले भारतबाट करिब २५ हजार करोड रुपैयाँ लगेका छन् ।