काठमाण्डौ । निकै लामो समयपछि भारतमा पेट्रोल र डिजेलको मूल्यमा भारि बढोत्तरी भएको छ । 

तेल कम्पनीहरुले लगातार दुईपटकसम्मको मूल्य कटौतिपछि पेट्रोल र डिजेलको मूल्य करिब ५ प्रतिशतले बढाएर झट्का दिएका भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

भारतमा पेट्रोल प्रति लिटर ५ रुपैयाँ ४० पैसा र डिजेल प्रतिलिटर ४ रुपैयाँ २८ पैसा महङ्गो भएको हो । 

बढोत्तरीपछि दिल्लीमा पेट्रोल प्रतिलिटर ९६ रुपैयाँ १४ पैसाबाट बढेर १०१ रुपैयाँ ५५ पैसा पुगेको छ । यसैगरी, डिजेल प्रति लिटर ८० रुपैयाँ ४३ पैसाबाट बढेर ८४ रुपैयाँ ७० पैसा पुगेको छ । 

डिजेल र पेट्रोलमै करिब ५ प्रतिशतले बढेको रेट भारतभरि बुधबार मध्यरातिबाट लागू हुने इण्डियन आयल कर्पोरेसनले जनाएको छ । 

मिडिया रिपोर्टका अनुसार अगस्ट महिनामा ब्रेन्ट क्रूड १८ प्रतिशत महङ्गो भइसकेको छ । अगस्ट १ मा ब्रेन्ट क्रूड ४२.१४ डलर प्रति ब्यारेल रहेकोमा अगस्ट ३० मा बढेर प्रति ब्यारेल ४९.७० डलर पुगिसकेको छ । अगस्टमा कच्चा तेलले ५०.८९ डलरको उच्च बिन्दू छोएको थियो । यही कारण पेट्रोल र डिजेलको मूल्य बढेको बताइएको छ । 

अगस्ट महिनामा तेल मार्केटिङ कम्पनीले २ पटक पेट्रोल र डिजेलको मूल्य घटाएका थिए । अगस्ट १ र १५ मा दुईपटक मूल्य घटेको थियो । आगामी दिनमा पेट्रोल र डिजेलको मूल्य अझ बढ्नसक्ने विश्लेषण गरिएको छ । 

के हुन्छ नेपालमा ?
नेपाललाई आवश्यक पेट्रोल र डिजेल भारतबाटै आयात हुन्छ । नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली(भारतमा घट्दा घट्ने, बढ्दा बढ्ने) लागू गरेका कारण भारतमा तेलको भाउ बढ्दा नेपालमा पनि स्वभाविक रुपमा बढ्नेछ । नेपाल आयल निगमका एक अधिकारीका अनुसार भारतमा नै ५ प्रतिशतको हाराहारीमा पेट्रोल र डिजेलको भाउ बढेकोले इण्डियन आयल कर्पोरेसनले समेत सोही मूल्यलाई समायोजन गर्ने गरी नयाँ दररेट पठाउने र यो हिसाबले सोही प्रतिशतको हाराहारीमा यहाँ पनि मूल्य बढ्नेछ । सेप्टेम्बर १, बिहीबारसम्ममा नेपाल आयल निगमले समेत आफ्नो नयाँ मूल्य सूचि सार्वजनिक गर्नेछ ।