काठमाण्डौ । भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन भएको छ । त्यहाँको बजारमा पेट्रोल प्रति लिटरमा २८ पैसाले महङ्गिएको छ भने डिजेल ६ पैसाले सस्तो भएको छ । 

पेट्रोलको मूल्य लगातार तेश्रोपटक वृद्धि भएको हो । नेपालले आवश्यक सबै पेट्रोलियम पदार्थ भारतबाट आयात गर्ने भएकोले त्यहाँको बजारमा मूल्य घटबढ हुँदा त्यसले नेपाली बजार तथा मूल्य समेत प्रभावित हुन्छ ।

भारतका आयल मार्केटिङ कम्पनीहरुका अनुसार शुक्रबार अबेर रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य २८ पैसाले वृद्धि भएको छ । तर डिजेल ६ पैसाले सस्तिएको छ । 

नयाँ मूल्य सूचि अनुसार दिल्लीमा पेट्रोल प्रति लिटर ६४.२१ भारुबाट बढेर ६४.५८ भारुमा पुगेको छ । अब एक लिटर डिजेलका लागि ५२.५९ भारुको ठाउँमा ५२.५३ भारु मात्र तिरे पुग्छ । 

मिडिया रिपोर्टका अनुसार भारतमा पेट्रोलको मूल्यमा भएको यो बढोत्तरी लगातार तेश्रो हो । पछिल्लो समय प्रति लिटर ५८ पैसाले वृद्धि भएको थियो । ३१ अगस्टमा पेट्रोलको मूल्यमा ३.३८ भारु प्रति लिटरमा वृद्धि गरिएको थियो । 

डिजेलको मूल्यमा पनि अघिल्लो पटक झै यो पटक पनि सामान्य कटौति गरिएको छ । पछिल्लो पटक प्रति लिटरमा ३१ पैसा मूल्य घटेको थियो भने यो पटक ६ पैसा घट्यो । 

नेपालमा बढ्दैन : आयल निगम प्रवक्ता
नेपाल आयल निगमका प्रवक्ता भानुभक्त खनालले इण्डियन आयल कर्पोरेसन(आइओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य आइतबार पठाउने बताए । तर, उनले चाडपर्वको अवधिमा पेट्रोलियम पदार्थको  मूल्य नबढाउन मन्त्रीको निर्देशन रहेकोले बढेरै आए पनि यो अवधिमा नेपालमा भने पेट्रोल र डिजेलको मूल्य नबढ्ने स्पष्ट पारे ।