काठमाण्डौ । भारतले जारी लकडाउनलाई जून १५ सम्म पुर्याउने भएको छ । 

भारतले पछिल्लो पटक लकडाउनलाई मे अन्तसम्मका लागि लम्ब्याइसकेको छ । तर, त्यहाँ कोरोना संक्रमित बढिरहेका छन् । मृत्यु हुनेहरुको संख्या समेत अत्यासलाग्दो गरी बढिरहेको छ । यहीकारण लकडाउन १५ दिन बढाएर जून १५ सम्म कायम हुने त्यहाँका एक मुख्य मन्त्रीले खुलाएका मिडियाहरुले उल्लेख गरेका छन् । 

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले केन्द्रीय गृहमन्त्री अमित शाहसँग टेलिफोनमा कुराकानी गरेको एकदिनपछि शुक्रबार यस्तो संकेत गरेका हुन् । 

पणजी भन्ने ठाउँमा पर्यटन मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा सावन्तले गोवा राज्य सरकारले सामाजिक दूरीको मापदण्ड लागू गर्दै रेष्टुराँ, होटल, मल तथा जिमखाना सुचारु गर्ने तयारी गरिरहेको बताएका छन् ।

उनले आफ्नो अमित शाहसँग टेलिफोनमा कुराकानी भएको र शाहले जारी लकडाउन १५ दिन थपिनसक्ने आफूलाई संकेत दिएका बताए ।

देशमा कोरोना भाइरसको ग्राफ बढिरहेको र यसलाई नियन्त्रण गर्न समेत लकडाउन जारी राख्नुपर्ने अवस्था रहेको उनले प्रष्ट्याएका छन्। 

सावन्तका अनुसार रेष्टुराँ, होटल, जिमखाना, मल लगायतका क्षेत्र अहिले गोवामा बन्द रहे पनि अधिकांश गतिविधि सुचारु भइसकेका छन् । 

गोवामा हालसम्म निकै न्यून मात्र कोरोना संक्रमित भेटिएका छन् । 

भारत सरकारले आफ्नो क्षेत्रमा कुन क्षेत्र खुकुलो बनाउने, कुन क्षेत्रमा कडा लकडाउन लगाउने भन्ने विषय निक्र्यौल गर्ने अधिकार राज्य सरकारहरुलाई नै दिएको छ । 

स्मरणरहोस्, भारतले जारी गर्ने लकडाउनसँग तालमेल मिलाएर नेपालले समेत लकडाउन सम्बन्धी निर्णय गर्ने गरेको छ ।
-एजेन्सी