काठमाण्डौ । कोरोना भाइरस नियन्त्रणका लागि भारतमा पाँचौ चरणको लकडाउन जारी गरिएको छ । 

भारतीय मिडियाहरुका अनुसार पाँचौ चरणको लकडाउनको गाइडलाइन्स समेत त्यहाँको सरकारले जारी गरेको छ । 

धेरै जोखिम क्षेत्र बाहेकका ठाउँहरुमा सरकारले चरणबद्ध ढंगले लकडाउन खुकुलो बनाउने र सामाजिक गतिविधिमा छुट दिने निर्णय गरेको छ । 

सरकारले धार्मिकस्थल, होटल, सलुन, रेष्टुरेन्ट खोल्ने अनुमति समेत दिएको छ। 

हाल भारतमा चौथो चरणको लकडाउन जारी छ । यसको अवधि भोलि अर्थात मे ३१ सम्म रहेको छ । सरकारले यसलाई अझै बढाउने निर्णय गरेको छ । पाँचौ चरणको लकडाउन अब ३० जूनसम्म जारी रहने समाचारमा जनाइएको छ । 

भारतको केन्द्र सरकारले स्कूल तथा कलेज खोल्ने वा बन्द गर्ने भन्ने विषयमा निर्णय लिने अधिकार राज्य सरकारलाई नै दिएको छ । जुलाई महिलामा राज्य सरकारले यो विषयमा आवश्यक निर्णय लिनेछन् । तर, होटल, धार्मिकस्थल, सलुन लगायतका क्षेत्रहरु भने ८ जूनबाट नै खोल्न दिइनेछ । तर, त्यस्ता क्षेत्रमा शर्तहरु समेत लागू हुनेछन् ।

तर, भारतभर राति ९ बजेदेखि बिहान ५ बजेसम्म भने निषेधाज्ञा नै जारी रहनेछ । त्यहाँ मानिस एक राज्यबाट अर्को राज्यसम्म पनि जान सक्नेछन् । त्यहाँका सर्वसाधारणले अब पास देखाउन समेत जरुरी हुने छैन । यस्तै, सपिङ मलहरु पनि सशर्त खोल्न दिने निर्णय भएको छ । 

भारतमा मार्च २४ बाटै कडा लकडाउन जारी भएको थियो । त्यसपछिदेखि अति जरुरी गतिविधि मात्र खुल्ला गरिएको थियो । 

तर, पूरा भारतभर अन्तराष्ट्रिय उडान, मेट्रो रेलको संचालन, सिनेमा हल, जिम, स्विमिङ पुल, थिएटर, बार तथा अडोटोरियम र असेम्ब्ली हलमा भने सीमित संख्याका गतिविधि मात्र गर्न पाइनेछ ।