काठमाण्डौ । भारतीय डिजाइनमा सरकार गिराउन भएको सम्पूर्ण तयारी एकरातमै फेल भएपछि ओली नेतृत्वको सरकार अझै केही महिना टिक्ने निश्चित भएको छ । भारतीय डिजाइनलाई असफल पारेपछि ओली त खुशी छन् नै प्रचण्ड पनि बजेट प्रस्तुतीपछि सरकारको नेतृत्व गर्न पाइने अवसरका कारण कम खुशी छैनन् । एमाले, एमाओवादी, राप्रपा नेपाल र सत्तासीन अन्य दलका नेताहरु भारतीय डिजाइन फेल भएकोमा खुशी नै छन् । तर भारतीय डिजाइन फेल भएको र चिनियाँ कार्ड हाबी भएर ओली सरकार टिक्ने अवस्था सिर्जना भएपछि सबैभन्दा ठूलो तनाव कसैलाई छ भने ती पात्र हुन् एमाओवादीका नेता कृष्णबहादुर महरा । अरु सबै खुशी हुँदा महरा चाहि किन दुःखी होलान् ? रोचक रहस्य फेला परेको छ । 

कृष्णबहादुर महरा आफू जेल जानुपर्ने डरका कारण ओली सरकार गिराउन भारतीय डिजाइनको गोटी बनेका थिए । उनी शेरबहादुर देउवा भारतको राजधानी दिल्ली गएकै आसपासको समय अर्थात बैशाख ८ गते दिल्लीतर्फ उडेका थिए । महरा दिल्ली जानुको मुख्य उद्देश्य थियो आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाल्न लागेको जालबाट बच्नु । अख्तियारले लडाकू भ्रष्टाचार काण्ड लगायतका बिषयमा छानबिनको क्रममा महरा भ्रष्टाचारमा संलग्न भएको प्रमाण समेत जुटाएर ठूलो माछाको रुपमा उनलाई जालमा पार्ने अन्तिम तयारी गरिरहेको सूचना पाएपछि रोइकराई गर्न महरा दिल्लीको शरणमा पुगेका थिए । 

भारतीय गुप्तचर संस्था रअकै डिजाइनमा तत्कालीन अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्की नियुक्त भएका थिए । यसको अर्थ, अख्तियारको चाबी दिल्लीमै छ भन्ने कुरा बुझेका महरा संभावित कारबाहीबाट जोगिन हतार–हतार दिल्ली गए । त्यही रहेको बेला भारतले मौकामा चौका हान्दै ओली सरकार ढाल्ने डिजाइन तयार गर्यो । डिजाइन अन्तरगत नै कांग्रेस सभापति देउवालाई पत्नी आरजूको उपचारको बाहानामा दिल्ली डाकियो । देउवा समेत दिल्ली पुगेपछि महरालाई समेत राखेर सरकार गिराउने गोप्य डिजाइन तयार भयो । डिजाइनको बिषयमा नेता महराले दिल्लीबाटै प्रचण्डलाई जानकारी गराए । योजना अनुसार नै प्रचण्डलाई पनि दिल्ली भ्रमणको निम्ता दिइयो, तर दिल्लीको शंकास्पद भूमिका तथा दिल्ली दौडको विषयमा नेपाली राजनीतिमा गलत प्रचार भइरहेको बेला संभावित दोषबाट बच्न प्रचण्डले तत्काल भारत भ्रमणमा नजाने अडान लिए । 

स्रोतका अनुसार कृष्णबहादुर महराले भारतीय डिजाइन अनुसार सरकार ढाल्न तयार हुन र सँगै सरकारको नेतृत्व लिन समेत तयार रहन प्रचण्डलाई दिल्लीबाटै आग्रह गरे । सरकारको नेतृत्व गर्न पाइने भएपछि प्रचण्ड समेत लोभिए र महराको कुरामा आंशिक रुपमा सहमति जनाए । 

योजना अनुसार नै देउवा स्वदेश फर्किए । सुटुक्क दिल्ली उडेका महरा छुपरुस्तम शैलीमै स्वदेश फर्किए । कांग्रेससँग रातारात बैठक भयो, भारतीय अधिकारीहरुले सक्रियता बढाए र एकाएक ओली सरकार ढाल्ने निधो भयो । योजनाअनुसार एमाओवादीले कालोबजारी रोक्न नसकेको, भ्रष्टाचार बढाएको, आफूहरु सरकारमा रहँदा समेत उल्टो युद्धकालीन मुद्धा ब्यूँताएर जेल हाल्न खोजेका जस्ता आरोप लगाउँदै सरकारलाई दिइएको समर्थन फिर्ता लिनेसम्मको धम्की सार्वजनिक गर्यो । सरकार परिवर्तन लगभग निश्चित भइरहेको बेला फेरि रातारात माओवादी यूटर्न भयो । मंगलबार साँझसम्म सरकार ढल्ने निश्चित भएको खबर पढेर वा सुनेर सुतेका सर्वसाधारणले बुधबार बिहानै एमाओवादी आफ्नो अडानबाट पछाडि हटेको नौलो खबर सुने । आखिर एकरातमै यो सबै कसरी संभव भयो ? एमाओवादी कसरी यूटर्न भयो होला ?

चीन रातभर सक्रिय हुँदाको परिणाम
ओली सरकार ढाल्ने तयारीमा रहेको एमाओवादीलाई रातारात आफ्नो अडानबाट रोक्नु पछाडिको मुख्य कारण चिनियाँ अधिकारीहरुको सक्रियता रहेको स्रोतले जनाएको छ । भारतले आफ्नो एजेण्डा हाबी गराउन कांग्रेस सभापति देउवा, एमाओवादी नेता महरा लगायतका नेतालाई गोटी बनाएको कुरा बुझेको चीनले रातारात आफ्ना अधिकारीहरुलाई सक्रिय बनाएको थियो । सो क्रममा चिनिया राजदूतसहितका अधिकारीले एमाओवादीका अध्यक्ष प्रचण्ड, नेता महरा लगायतलाई भेटेर र्याख र्याख्ती पारेका थिए । चिनिया अधिकारीहरुलाई नभेट्दासम्म भारतको पक्ष लिएर जसरी पनि ओली सरकार गिराउनैपर्ने अडानमा बसेका महरा कालोनिलो भएका थिए । चिनिया अधिकारीहरुले उनीसँग विगतका कारोबारको कुरा सम्झाउँदै भारतको पक्षमा लागे ठीक नहुने चेतावनी दिएपछि उनी रातोपिरो भई गल्न तयार भएका थिए । चिनियाँ अधिकारीहरुसँग उनले कुनै बेला ५० करोड माग्दै गरेको अडियो सार्वजनिक भएकोले समेत उनको उत्तरतर्फको निकटता र बाध्यता बुझ्न गाह्रो छैन । महरा समेत गलेपछि प्रचण्ड समेत बामपन्थी गठबन्धन भत्कन नदिने चिनियाँ प्रस्तावको पक्षमा उभिन तयार भए । चिनियाँ प्रयासकै कारण एमाओवादी एकाएक यूटर्न भयो र ओली सरकारमाथि मडारिएको कालो बादल एकाएक  फाट्यो । 

किन ओलीको पक्षमा उभियो चीन ?
स्रोतका अनुसार चीनले पछिल्लो समय ओलीको भूमिकालाई सकारात्मक रुपमा लिएको छ । ओलीले चीनको भ्रमण गर्दा त्यहाँ गरेका पारवहन लगायतका महत्वपूर्ण सम्झौताहरु कार्यान्वयन भएको हेर्ने चिनिया चाहना छ । ओलीसँग भएका सम्झौता कार्यान्वयनमा सहजता हुने हिसाबको बजेट बन्दै गर्दा बजेट नै आउन नदिने भारतीय चालबाजी चीनले राम्ररी बुझेको थियो । भारत बजेटलाई नै रोकेर चिनिया स्वार्थ हाबी  हुन नदिने रणनीतिमा मैदानमा उत्रिएपछि चिनिया पक्षले पनि आफ्नो कला देखाइदिएको स्रोत दाबी गर्छ । चीन नेपालसँग भएका सम्झौता कार्यान्वयनका लागि आगामी बजेटबाट सोही अनुसारको कार्यक्रम आओस् भन्ने चाहना राख्छ । यही चाहनाका कारण समेत भारतीय डिजाइन जसरी भए पनि फेल गराउने चीनले सक्रियता बढाएको थियो । अन्ततः चीनको सक्रियता सफल भयो र भारतीय डिजाइन फेल भई ओली सरकार तत्कालका लागि गिर्नबाट बच्यो ।

महरा अख्तियारको फन्दामा पर्ने
पछिल्लो सत्ता परिवर्तनको खेल र लुकामारीले सबैभन्दा ठूलो घाटा एमाओवादी नेता कृष्णबहादुर महरालाई भएको छ । भारतमा सरकार ढाल्न प्रचण्डलाई समेत कन्भिन्स गर्ने वचन दिई अख्तियारको संभावित कारबाही टार्ने अवस्था सिर्जना गरेर आएका उनी तनावमा परेका उनका निकटस्थहरुले बताएका छन् । भारतीय पक्षले उनीमाथि धोका दिएको आरोप लगाउनेछ र सोही अनुसार अख्तियारलाई इशारा गरेर आफूलाई जेल हाल्ने उनको बुझाई छ । यता, चीनतर्फ समेत उनको सम्बन्ध बिग्रिएको छ । उनी भारत सुटुक्क गएर आफ्नो व्यक्तिगत स्वार्थका लागि चीनविरोधी भारतीय डिजाइनमा संलग्न भएको पोल समेत खुलिसकेको छ । यो कारण हिजोका दिनमा महरा चीनका जति ठूला विश्वासपात्र थिए, अब त्यो विश्वास टुटेको स्रोत बताउँछ । ‘कुनै अनौठो भएन भने भ्रष्टाचारको आरोपमा महरा चाँडै नै जेल जाने निश्चित देखिएको छ ।’ स्रोतले भन्यो–‘भारतले धोकाको बदला फेर्नैका लागि भए पनि अख्तियारलाई प्रयोग गरी महरालाई जेल हाल्ने निश्चित छ ।’

यसरी आफ्नो व्यक्तिगत स्वार्थका लागि महराले देशविरुद्ध गरेको धोका तथा भारतको पक्षमा लागेर निर्वाह गरेको नकारात्मक भूमिका मात्र पर्दाफास भएको छैन, सधैं भारतीय दादागिरी हाबी हुने नेपाली राजनीतिमा संभवत पहिलोपटक जबरजस्त रुपमा चिनियाँ कार्डले सफलता प्राप्त रेको छ । तर यो सफलता भारतीय डिजाइनबाट प्राप्त हुने परिणामजस्तो देशको अहितमा छैन । चीनसँगका महत्वपूर्ण सम्झौता कार्यान्वयन हुँदा नेपाललाई धेरै हदसम्म नाफै छ, घाटा त मात्र भारतलाई छ । चिन्ता उसलाई छ, कारण नेपालको ऊप्रतिको एकलौटी परनिर्भरता चीनसँगको सम्झौताको सफल कार्यान्वयनबाट भताभुंग हुनेछ ।