काठमाण्डौ । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसँग शनिवार विराटनगरका उद्योगी व्यवसायीले मागहरुको बिस्कुन लगाइदिए । 

राजदूत पुरीको सम्मानमा मोरंग व्यापार संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उद्योगी व्यवसायीले मागहरुको थुप्रो लगाइदिएका हुन् । 

संघका अध्यक्ष पवन सारडाले पूर्वाञ्चल क्षेत्रमा लगानीको वातावरण राम्रो भएको हुंदा हाइड्रोपावर, पर्यटन, सिमेन्ट उद्योग लगायत सेवा क्षेत्रमा लगानी गर्न सकिने सुुझाए । अत्याधुनिक भन्सार जाँच केन्द्रको स्थापना, रेल्वे, सडक विस्तार जस्ता कामहरु भइरहेको सन्दर्भमा भारतको सीमानजिकै विशेष आर्थिक क्षेत्रको स्थापना हुन गइरहेकोले यसमा भारतीय लगानीका लागि समेत माग गरे । 

यस्तै, उनले जोगवनी–कोलकाता रेल सेवा दैनिक गर्नुपर्ने, सीमाञ्चल रेललाई सुधार गर्नु पर्ने, जोगबनीबाट भारतका मुख्य–मुख्य शहरमा रेल्वेको कनेक्शन जोड्नुपर्ने, भारतीय रेलमा नेपालका जेष्ठ नागरिकलाई समेत टिकटमा छूट दिनुपर्ने, भारतबाट नेपालमा टेलिफोन गर्दा नेपालसरहकै दररेट कायम हुनुपर्ने, भारतमा शिक्षा, स्वास्थ्य, धार्मिक आदि काममा जांदा बैंक खातामा समस्या भइरहेकोले यसमा सुधार गरिनुपर्ने, जोगबनीमा अत्याधुनिक ल्यावको स्थापना गर्नुपर्ने, जोगवनीमा अध्यागमनको कार्यालय स्थापना गर्नुपर्ने, जूट उद्योगमा लगाइएको ड्यूटी हटाउनुपर्ने, कोलकत्ता पोर्टबाट आउने कन्टेनर र बल्क कार्गो रेलबाट ल्याउने व्यवस्था गरिनुपर्ने माग पनि उनले राखे । 

समारोहमा सहभागी सांसद शेखर कोइरालाले विराटनगरमा भारतीय राजदूतको स्वागत गर्दै नेपाल–भारतका जनताबीच गहिरो सम्वन्ध रहको हुंदा यसलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए । सारडाले लगाएका मागहरुको बिस्कुनको बिषयमा सहमति जनाउँदै कोइरालाले समेत कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गरे । भारतमा जिएसटी लागू भइसकेको सन्दर्भमा विस्तारै नेपालमा पनि जिएसटीको अवधारणा ल्याउनुपर्ने कुरामा जोड दिंदै भारत र चीन दुवै राष्ट्र नेपालका असल छिमेकी भएको हुंदा सुरक्षा व्यवस्थामा संवेदनशील हुनुपर्ने उनको भनाई थियो । 

आफ्ना अगाडि उद्योगी व्यवसायीले मागहरुको बिस्कुन लगाएपछि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपालकै जेठो उद्योग वाणिज्य संघकोे रुपमा रहेको मोरंग व्यापार संघले आफूलाई सम्मान गरी स्वागत गरेकोमा गर्व महसूस गर्दै संघका अध्यक्षज्यूबाट उठाइएका मुद्दामा आफू गम्भीर भएको र यस विषयमा सम्वन्धित निकायमा पहल गर्ने आश्वासन दिए ।

यस क्षेत्रको उद्योग व्यापार राम्रो रहेको आफूले बुझेको उल्लेख गर्दै यसको प्रवद्र्धनका लागि सकारात्मक रहने वचन दिए । ‘भारत सरकारले भर्खरै जिएसटी ल्याएको छ, यो एकीकृत करबाट सवैलाई फाइदा हुने हामीले अपेक्षा राखेका छौ ।’ उनले भने–‘जोगवनीमा निर्माण भई नेपालतर्फ निर्माण हुन लागेको अत्याधुनिक एकीकृत भन्सार जांच केन्द्रको कामको प्रगति लिने र जतिसक्दो चाँडो काम सम्पन्न गराउन पहल गर्नेछु।’ 

यसैगरी, भारतमा हजारौं नेपालीहरु रोजगारीमा रहेको उल्लेख गर्दै बैंक खातामा कुनै समस्या नरहेको प्रष्ट्याए । विराटनगर विशेष ठाउँ भएको उल्लेख गर्दै यसको आसपासमा कोसी नदी, पर्यटन क्षेत्र आदि मनमोहक क्षेत्र रहेका बताउँदै उनले विराटनगरमा प्रदर्शनी स्थल बनाउन आफ्नो तर्फबाट समेत पहल हुने बताए ।