भारतमा बिहीवारदेखि सुरु हुने आम निर्वाचन सात चरणको हुनेछ।

के तपाईंलाई भारतीय निर्वाचनबारे यी पाँच कुरा थाहा छ?

१) मतदाता: अमेरिकामा भन्दा चार गुणा बढी

यो वर्ष भारतमा ९० करोडभन्दा धेरै योग्य मतदाता रहेका छन्। जुन अर्को दोस्रो ठूलो प्रजातन्त्र मानिने अमेरिकाको भन्दा चार गुणा धेरै हो।

भारतले पहिलो आम चुनाव- ब्रिटेनबाट स्वतन्त्र भएपश्चात् सन् १९५१/५२ मा गरेको थियो।

यसपाली चुनावका लागि दश लाख मतदान केन्द्र स्थापना गरिएका छन्।

२) चुनावी डेढ महिना
अप्रिल ११ देखि सुरु भइ मे १९ तारीखमा सम्पन्न हुने निर्वाचनमा संसारको सबैभन्दा ठूलो प्रजातन्त्र मानिने भारतमा मतदाताहरूले केन्द्रीय संसदका सदस्यका लागि भोट खसाल्नेछन्।

भारतको निर्वाचन सात चरणमा करिब डेढ महिना लगाएर हुँदैछ किनकि त्यसमा अत्यधिक सङ्ख्यामा निर्वाचन अधिकारी तथा सुरक्षाकर्मी खटाइनेछन्।

भिन्नाभिन्नै राज्यमा भिन्नाभिन्नै समयमा मतदान हुनेछ। सबैतिरको मतदान मे १९ मा सकिएपछि मे २३ मा मतगणना हुनेछ।

त्यसमार्फत् उनीहरूले हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले थप पाँच वर्ष शासन गर्न पाउने वा नपाउनेबारे निर्णय दिनेछन्।

३) कसले बनाउँछ सरकार?

भारतीय संसदमा दुई सदन छन्- लोकसभा तथा राज्यसभा। तल्लो सदन लोकसभाका लागि भइरहेको चुनावमार्फत उसको ५४३ सदस्य छानिनेछन्।

जसले न्यूनतम २७२ सांसद आफ्नो पक्षमा पार्न सक्छ उसैले सरकार बनाउनेछ।

जुन दल वा गठबन्धनले बहुमत सिट जित्नेछ उसैको नेता प्रधानमन्त्री चुनिनेछ।

सन् २०१४ मा भएको पछिल्लो निर्वाचनमा मोदीको दल भारतीय जनता पार्टी भाजपाले २८२ सिट जितेको थियो भने गान्धीको कंग्रेसले केवल ४४ सिट जितेको थियो।

४) जनमत कसको पक्षमा?

यसपटक मोदीको टक्कर विपक्षी कंग्रेस नेता राहुल गान्धीसँग भइरहेको छ।

केही महिना अगाडिसम्म मोदी तथा उनको दल भाजपाले चुनाव सहजै जित्ने ठानिन्थ्यो तर डिसेम्बरमा भएका केही महत्त्वपूर्ण क्षेत्रीय चुनावहरूबाट प्रतिस्पर्धा कडा हुने सङ्केत देखा परेका छन्।

मोदीले फेरि सामान्य बहुमत जित्लान् या नजित्लान् भन्नेबारे विश्लेषकहरूको मत बाझिएका छन्। हालसालै पाकिस्तानसँग चर्किएको तनावले भने भाजपालाई चुनाव प्रचारमा सघाउ पुग्ने मुद्दा मिलेको थियो।

५) 'मोदीको जनमत सङ्ग्रह'

यसपालीको निर्वाचन मोदीका लागि जनमत सङ्ग्रह सरह हुने ठानिएको छ।

मोदीलाई भारतमा जनमत ध्रुवीकृत पार्ने नेताको रूपमा हेरिन्छ जसलाई कैयौँले मन पराउँछन्।

कतिपयले चाहिँ उनले भारतका बहुसङ्ख्यक हिन्दू तथा २० करोड मुसलमानबीच विभाजन उक्साउने गरेको आरोप लगाउँछन्।

देशभक्तिको मुद्दा केन्द्रमा रहेकाले आफूले शक्तिशाली क्षेत्रीय दल तथा कंग्रेसको चुनौतीबाट पार पाउने भाजपाको आशा छ।

(यो सामाग्री बीबीसीबाट लिइएको हो ।)