काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले भारु. २००० दरको नोट छपाइ पूर्ण रुपमा बन्द गरेको छ ।

भारु. २००० दरको नोटलाई लिएर लगातार चर्चा–परिचर्चा भइरहेकै बेला आरबीआईले उक्त दरको नोट छपाइ पूर्ण रुपमा बन्द गरेको खुलासा गरेको हो।

यो वर्ष आरबीआईले एउटा पनि भारु. २००० दरको नोट छापेको छैन । यसअघि कालो धनमा लगाम लगाउन भन्दै सन् २०१६ मा आरबीआईले पुराना भारु. ५०० र भारु. १००० हजार दरका नोटको कारोबारमा पूर्ण रुपमा बन्द गरेको थियो । त्यसपछि ठूलो मुद्राका रुपमा भारु. २००० हजार दरका नोट बजारमा प्रचलनमा ल्याइएको थियो ।

हालैमा आरबीआईले चालु आर्थिक वर्षमा भारु. २००० दरको नोट नछापेको खुलाएको हो । इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार आरबीआई ले आरआईटीलाई जबाब दिँदै भनेको छ कि आर्थिक वर्ष २०१६/१७ मा भारु. २००० दरका ३५४२.९९१ मिलियन नोट छपाइ भएको थियो । त्यस्तै आर्थिक वर्ष २०१७/१८ मा १११.५०७ मिलियन कम नोट छापिएको थियो ।

यसैगरी सन् २०१८/१९ मा आरबीआईले ४६.६९० मिलियन भारु. २००० दरका नोटमात्र छापेको थियो भने यो वर्ष एउटा पनि छपाइ भएको छैन ।

आरबीआई र सरकार दुवैले कालोधनमा नियन्त्रण राख्नका लागि ठूलो दरको नोट विस्तारै–विस्तारै हटाएर साना दरका नोट प्रचलनमा ल्याउने सोचमा रहेको स्रोतहरु बताउँछन् । विज्ञहरु पनि ठूलो दरको नोट प्रचलनबाट हटाउँदा कालो धन लेनदेन गर्न मुस्किल हुनेमा विश्वस्त छन् ।

आरबीआईको तथ्यांकअनुसार भारु. २००० दरको नोटको सर्कुलेसन पनि कम गरिएको छ । मार्च २०१८ सकिँदासम्म गत आर्थिक वर्षमा भारु. २००० दरका ३३६३ मिलियन नोट सर्कुलेसनमा थियो । जुन कुल सर्कुलेसन भोलुमको ३.३ प्रतिशत हो । त्यस्तै भ्याल्यू टर्ममा यो ३७.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०१९ मा यो घटेर ३२९१ मिलियनमा झर्यो । जुन कुल मनी सर्कुलेसनको ३ प्रतिशत भोलुम र ३१.२ प्रतिशत भ्याल्यू हो ।

हालै नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआईए) ले दाबी गरेको थियो कि भारतमा ठ्याक्कै भारु २००० दरका नोटजस्तै नक्कली नोट फेला पर्न थालेको छ । एनआईएका अनुसार नक्कली नोटको मुख्य स्रोत पाकिस्तान हो ।

भारत सरकारले गत जुनमा भनेको थियो कि पछिल्लो तीन वर्षको अवधिमा भारु. ५० करोड रुपैयाँभन्दा बढी नक्कली नोट जफत गरिएको थियो । आरबीआईका अधिकारीहरुका अनुसार भारु. २००० दरको नोट धेरै सर्कुलेसनले सरकारको लक्ष्यमा नोक्सानी हुन सक्छ । ठूलो दरको नोट प्रयोग तस्करी र अन्य अवैध धन्दामा भइरहेको उसको दाबी थियो ।

हालै आन्ध्र प्रदेशको तमिलनाडु बोर्डरबाट करिब ६ करोड भारु नगद (२००० दरका नोट) भारतीय प्रहरीले जफत गरेको थियो । –एजेन्सी