काठमाडौँ । भार्गव विकास बैंकले हकप्रदमा विक्री नभएका ७ लाख ५३ हजार ७ सय ३० कित्ता शेयर लिलामीमार्फत् विक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ । बैंकले बिहीबार एक सूचना जारी गरी लिलामीमा विक्री गर्न लागेको उल्लेख गरेको हो । बैंकका संस्थापकतर्फ ६ लाख ६७ हजार ७ सय ६ कित्ता शेयर बिक्री नभएका हुन् भने ८५ हजार ६ सय ६४ कित्ता शेयर सर्वसाधारण शेयरधनीले खरीद नगरेका हुन् । बैंकले २१ कारेड १२ लाख रुपैयाँ बराबकरको ८० प्रतिशत हकप्रद जारी गरेको थियो । 

बैंकका शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले जेठ ३ गतेबाट जेठ १० गतेसम्म आवदेन दिन सक्ने व्यवस्था गरिएको छ  । साधारण तथा संस्थापक दुवैतर्फ न्यूनतम १ सय रुपैयाँमा कम्तीमा एक सय रुपैयाँ बोलकबोल गरी आवेदन दिन सकिने छ । तर संस्थापक तर्फका शेयर खरीद गर्नका लागि यसअघि नै कम्पनीको संस्थापक शेयरधनी हुनुपर्नेछ ।
 
बैंकको हकप्रद शेयरको विक्री प्रबन्धक रहेको एनएमबी क्यापिटलमा लिलामीका शेयर खरीदका लागि आवेदन दिन सकिने छ । आफूले खरीद गर्न चाहेको रकम क्यापिटलको नाममा रहेको एनएमबी बैंक वा कुमारी बैंकमा रहेको खातामा संकलन गरी आवदेन दिन बैंकले सूचना जारी गरेको छ । 


हकप्रदको सम्पूर्ण प्रक्रियापछि बैंकको चुक्तापूँजी ४७ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । दोस्रो बजारमा बैंकको शेयर १ सय ५० रुपैयामा कारोबार भइरहेको छ ।